आ–आफ्नै जिल्लामा सुत्केरी सेवा लिनुहोस् नेपालगन्ज आउँदा समस्या पर्न सक्छ !

    • स्वास्थ्य पेज

  • २७ श्रावण २०७७, मंगलवार

समिरमान श्रेष्ठ- नेपालगन्ज २७ साउन ।
शुक्रबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका पाँचजना नर्समा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि प्रसुती वार्ड ‘सील’ गरिएको छ । प्रसूति वार्डमै कार्यरत नर्सहरुमा भाइरस संक्रमण पुष्टि भएपछि उक्त वार्डका चिकित्सक तथा नर्सहरु अहिले क्वारेन्टिनमा छन् । त्यस्को भोलिपल्ट शनिवार भेरी अस्पताल नेपालगन्जको प्रसूति वार्डमा रुकुम चौरझारीकी गर्भवतीमा भाइरस संक्रमण पुष्टि भएपछि भेरीले पनि प्रसूति वार्ड सील गरेको छ । र, यहाँका प्रसूति वार्डका नर्सदेखि चिकित्सकहरु पनि क्वारेन्टिनमा छन् ।

दुईजना स्त्रीरोग रोग विशेषज्ञलाई सोमवार कोरोना भाइरस संक्रमण पुष्टि भएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको प्रसूति वार्ड पनि सील गरिएको छ । नेपालगन्ज र कोहलपुरका प्रमुख तीन अस्पतालका प्रसूति वार्ड बन्द भएपछि प्रसूति सेवा लिने विरामीले ठूलो संकट झेल्नु परेको छ । अहिले वेष्टर्न अस्पताल नेपालगन्जले मात्र प्रसूति सेवा दिइरहेको छ । अस्पतालका एमडी डा.राहुल थापाका अनुसार कोभिड–१९ का कारण अन्य अस्पतालको प्रसूति सेवा रोकिँदा गर्भवती महिलाको चाप वेष्टर्न अस्पतालमा थामिनसक्नु छ ।

‘विरामी आएपछि सेवा दिँदैनौ भन्न् मिलेन उहाँले स्वास्थ्य पेजलाई भन्नुभयो –‘तर अस्पतालको क्षमता र जनशक्तिले थेग्नै नसक्ने अवस्था छ कसरी सेवा दिने ?’ यो अस्पताल ५० वेड क्षमताको हो । बाँके प्रशासनको आग्रहमा अस्पतालले १६ वडा वेड कोभिड–१९ आइसोलेसन निर्माणका लागि उपलब्ध गरायो । अहिले ३४ वटा वेडमात्र छ । ३४ वेडमा १२ वेड प्रसूति सेवाका लागि प्रयोग भइसकेको छ । बाँकी वेडमा अन्य रोगका विरामी छन् । वेडको अभाव त छदै छ चिकित्सकको समेत अभाव रहेको डा. थापाले बताउनुभयो ।

‘दुई जना बिशेषज्ञले विहानदेखि रातीसम्म कसरी काम गर्न सक्छ ? उहाँले भन्नुभयो–‘गर्भवति केस भनेको जटिल हो । समयमै उपचार पाएन भने अवस्था जे पनि हुन सक्छ ।’ जिल्ला बाहिरबाट आउने प्रसूतिका विरामीलाई तत्काल उनीहरुकै जिल्लामा उपचार मिलाउनु पर्ने उहाँको भनाइ छ । नत्र यहाँ (कोहलपुर–नेपालगन्ज) आउँदा डेलिभरी केसका महिलाले थप समस्या झेल्नु पर्ने हुन्छ ’ उहाँको भनाइ छ । बर्दिया, सुर्खेत, जाजरकोट, दाङ, रुकुम, कैलालीसम्मका गर्भवतीहरुलाई नेपालगन्ज ल्याएर सुत्केरी गराउने गरिएको छ । त्यती टाढाबाट यहाँसम्म ल्याउँदा विरामीलाई त्यसै गाह्रो भइसकेको हुन्छ, चिकित्सकहरु भन्छन्–‘यहाँ अस्पताल नपाउँदा अवस्था के होला आफै मूल्याङ्कन गर्नुहोस् के होला ?’

सोमवार नेपालगन्जका अस्पतालले भर्ना नगरिँदा बाँके डुडुवा गाउँपालिका एककी प्रीति खटिकले धन्न ज्यान गुमाउनु पर्यो । न उनलाई भेरीले एडमिट गर्यो, न त मेडिकल कलेजले । योबीचमा खटिक वेष्टर्न अस्पताल समेत पुग्नुभयो । त्यहाँपनि वेड नहुँदा फर्किनु पर्यो । स्वास्थ्य कार्यालय, नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य टीमको पहलमा माँः जानकी अस्पतालमा धन्न उहाँको उपचार भयो । र, खटिकको शल्यक्रिया गरेर छोरीे जन्मिएको छ ।

डा. राहुल थापा भन्नुहुन्छ,–‘हो यही अवस्था नआवस् भनेर जिल्ला बाहिरबाट आउने प्रसूतिका विरामीहरुलाई त्यही जिल्लामा सेवा पाउनेगरी समन्वयकारी भूमिका निभाई दिनु पर्यो ।’ आफुले सिडिओसँग पनि यही कुराको आग्रह गरिएको स्वास्थ्य पेजलाई उहाँले जानकारी दिनुभयो । जिल्लामा रहेका प्रसूतिका विरामीलाई वेडहरु थप गरेर सेवा दिन सकिने उहाँको भनाइ छ । र, त्यसका लागि वेष्टर्न अस्पतालले तयारी गरिसकेको पनि उहाँले जानकारी दिनुभयो । नेपालगन्जमा यी अस्पताल बाहेक अन्य अस्पतालमा प्रसूति सेवा छैन् ।

भेरी अस्पतालको प्रसुती सेवा नियमित हुन अझै चारपाँच दिन लाग्ने अस्पतालका मेसु डा.प्रकाश थापाले बताउनुभयो । ‘तीन दिनसम्म प्रसूति वार्डमा राखेको विरामीलाई भाइरस संक्रमण पुष्टि भएको छ डा. थापाले स्वास्थ्य पेजलाई भन्नुभयो–‘विरामीको कन्ट्याक्ट धेरैसँग भएकाले प्रसूति वार्डको सवै स्टाफ क्वारेन्टिनमा हुनुहुन्छ । सेवा नियमित हुन चारपाँच दिन लाग्ला ।’

नेपालगन्ज मेडिकल कलेज कोहलपुरका स्त्रीरोग विशेषज्ञ डा. कविता पाण्डेका अनुसार, प्रसूतिवार्डका नर्सहरुमा भाइरस संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा रहेका नर्सदेखि चिकित्सकसम्म सबैको स्वाब परीक्षणका लागि भेरी अस्पतालमा पठाइएको छ । रिपोर्ट नआउँदासम्म विरामीको उपचारमा फर्किने अवस्था छैन् उहाँले स्वास्थ्य पेजलाई भन्नुभयो–‘रिपोर्ट आउने वित्तिकै नेगेटिभ रिर्पोट आउने चिकित्सक तथा नर्सहरु नियमित काममा फर्किने छन् र प्रसूति सेवा पनि सुचारु हुने छ । हामी रिपोर्टको प्रतिक्षामा छौं ।’

  • २७ श्रावण २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech