कोहलपुर मेडिकल कलेजमा कोरोना संक्रमित गर्भवतिको सफलतापूर्वक शल्यक्रिया

    • स्वास्थ्य पेज

  • २५ श्रावण २०७७, आईतवार

नेपालगन्ज २५, साउन ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले कोरोना संक्रमित गर्भवतिको शल्यक्रिया गरेर सफलतापूर्वक बच्चा निकालेको छ । भेरी अस्पताल नेपालगन्जमा भर्ना हुनु भएकी रुकुम चौरझारीकी २८ बर्षिया आशा चौधरीमा शनिवार कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । महिना पुगेपछि उहाँ सुत्केरीका लागि बुधवार भेरी अस्पताल पुग्नुभएको थियो ।
विहीबार शल्यक्रिया गरेर बच्चा निकाल्ने तयारी भइरहेका बेला अचानक ज्वरो आएपछि उहाँलाई कोरोना भएनभएको थाहा पाउन चिकित्सकहरुले स्वाव लिएका थिए । त्यसको रिपोर्ट शनिवार आउँदा भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसलगत्तै उहाँलाई कोभिड १९ लेभल ३ को रुपमा रहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पठाइएको थियो ।
उहाँको शनिवार राती ९  बजेर ३५ मिनेटमा शल्यक्रिया गरेर बच्चा निकालिएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका सहायक निर्देशक डा.नितेश कनोडियाले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो । शिशु (पुरुष) को तौल दुई किलो सात सय ग्राम रहेको अस्पतालले जनाएको छ । आमाको स्वास्थ्य अवस्था सामान्य रहेपनि शिशुको अवस्था जटिल रहेकाले आइसियुमा राखिएको डा. कनोडियाले जानकारी दिनुभयो ।
कोरोना संक्रमितको उपचारका लागि लेभल ३ अस्पतालका रुपमा रहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले योसहित तीनजना गर्भवतिको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ । अछाम, कपिलबस्तु र रुकुमकी गर्भवतिको शल्यक्रियामार्फत बच्चा निकालिएको हो ।

  • २५ श्रावण २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech