धनगढीकी संक्रमित महिलाको पाँचौं रिपोर्ट पनि पोजेटिभ

    • स्वास्थ्य पेज

  • १६ बैशाख २०७७, मंगलवार

धनगढी १६ बैशाख ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको पाँचौं रिपोर्ट पनि पोजेटिभ आएको छ। २५ दिनदेखि उपचाररत धनगढी उपमहानगरपालिका ५ की ३४ वर्षीया ती महिलाको पाँच पटकसम्म गरिएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ।

चैत २२ गते उहाँमा पहिलो पटक कोरोना भाइरस पुष्टि भएको थियो। चिकित्सकहरुको सल्लाहअनुसार उहाँको थ्रोट स्वाब संकलन गर्दै फेरि परीक्षण गरिने सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँसँगै भर्ना भएका दुई जना, अगाडि भर्ना भएका एक जना र पछाडि भर्ना भएकी एक जना गरी चार जना कोरोना संक्रमित भने डिस्चार्ज भइसकेका छन्। लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवक, धनगढी उपमहानगर ५ का ३४ वर्षीय युवक, लम्की चुहा नगरपालिका १ की ६१ वर्षीया महिला र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० वर्षीय पुरुष अस्पतालबाट डिस्चार्ज हुनुभएको हो हाल सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उहाँको मात्रै उपचार भइरहेको छ।

उहाँको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ। कोरोनाको रिपोर्ट पोजेटिभ देखाए पनि उहाँमा कुनै समस्या नदेखिएको जनाइएको छ। ३४ वर्षीया ती महिलामा दुबईबाट आएका उहाँका ३४ वर्षकै देवरबाट कोरोना सरेको आशंका गरिएको छ। उहाँका देवर भने निको भएर अस्पतालबाट डिस्चार्ज भइसक्नुभएको छ।

  • १६ बैशाख २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech