आज कति बजे देखि नेपालगन्जको एरिया ‘सील’ हुंदै छ ?

    • स्वास्थ्य पेज

  • २४ श्रावण २०७७, शनिबार

तस्विरःफाइल

नेपालगन्ज २४, साउन ।
समुदायस्तरमै धमाधम कोरोना संक्रमित फेला पर्न थालेपछि बाँके प्रशासनले आज शनिवारराती १२ बजेदेखि लागु हुने गरी नेपालगन्जको मुख्य क्षेत्रलाई सील गरेको छ । सुर्खेतरोडलाई बाहिर पारेर नगरका मुख्य चोक, बजार र क्षेत्र सील गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

सुर्खेतरोडलाई बाहिर पार्ने गरी पुष्पलाल चोकदेखि गणेशमान चोकसम्म, गणेशमान चोकदेखि चारवाहिनी चोक, पिपल चौतारा हुँदै बाँकेगाउँ, बाँकेगाउँदेखि रिङरोड फुल्टेक्रास्थित आर्मी ब्यारेक हुँदै नहरपुर्वा चोकसम्म, नहरपुर्वा चोकदेखि बसपार्क रोड हुँदै पुष्पलाल चोकसम्मको चार किल्ला क्षेत्रलाई आजराती १२ बजेदेखि मंगलवार राती १२ बजेसम्म सील गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो । यो क्षेत्रमा आज शनिवारराती १२ बजेपछि स्वास्थ्य, सुरक्षाकर्मी, एम्वुलेन्स, शबबाहक र दमकलबाहेकका सवारीसाधन, पसल, व्यवसाय र हिडड्लमा प्रतिबन्ध लगाइएको छ ।

स्थानीय प्रशासनको निर्णय बर्खिलाप गर्ने, अवहेलना गर्ने वा कामकाजमा बाधा पु¥याउनलेलाई संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले चेतावनी दिनुभयो । स्थानीय प्रशासनले बाँकेमा आगामी मंगलवारसम्म निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको संक्रमण थप फैलिन नदिन स्थानीय प्रशासनले सबै नागरिकहरुलाई घरमै बस्न आग्रह गरेको छ ।

बाँकेमा कोरोना संक्रमितको संख्या साढे पाँचसय नजिक पुगेको छ । जनप्रतिनिधी, सरकारी कर्मचारी, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, व्यापारी, बैंकका कर्मचारीदेखि पत्रकारसमेत संक्रमित भएका छन् ।

  • २४ श्रावण २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech