कोरोनाः नेपालगन्जको अवस्था पर्सा जस्तो बन्दै गएको हो ?

    • स्वास्थ्य पेज

  • १९ श्रावण २०७७, सोमबार

तस्विरः फाइल

समिरमान श्रेष्ठ-
नेपालगन्ज १९, साउन ।
पर्सामा अहिले कोरोना नियन्त्रण बाहिर छ । त्यहाँ जनप्रतिनिधी, सुरक्षाकर्मी, पत्रकारदेखि आमनागरिक संक्रमणको चपेटामा परेका छन् । पर्सामा मात्रै कोरोना भाइरस संक्रमणबाट दर्जनबढीले ज्यान गुमाइसकेका छन् । बाँकेमा जुन खालले संक्रमणको दर बढेको छ त्यसले के संकेत गर्छ ? भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डे भन्नुहुन्छ–‘ समुदायस्तरमै फैलिएको आंशका गर्न सकिने ठाउँ प्रशस्त देखियो ।’ सरकारले नेपालमा कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएको आधिकारीकरुपमा अझै भनेको छैन् । तर ट्राभल हिष्ट्री नभएका विरामीको संख्या बढ्दै गएका कारण समुदायस्तरमै भाइरस संक्रमण फैलिएको हुन सक्ने आंशका विज्ञहरुले गर्न थालेका छन् ।

ट्राभल हिष्ट्री अर्थात यात्रा विवरण भएका विरामीबाटै भाइरस संक्रमण फैलिएको हो वा होइन त्यसको विज्ञ टोली आएर अध्ययन गर्नु पर्छ डा. पाण्डेले भन्नुभयो–‘पिसिआर टेस्ट दू्रतरुपमा अघि बढाउनु पर्छ ।’ बाँकेमा चारवटा सरकारी कार्यालयका भाइरस संक्रमित कर्मचारीको यात्रा विवरण छैन् । अहिलेसम्म राजश्व कार्यालयका ९, नेपालगन्ज उपमहानगरपालिकाका ४, जिल्ला अदालतका ६, नेपालगन्ज उपमहानगरपालिका वडा नं. १४ र १८ का दुई जना सचिव र यातायात कार्यालयका १ जना कर्मचारीमा भाइरस संक्रमण पुष्टि भइसकेको छ । जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, उनीहरु कसैको पनि यात्रा विवरण छैन । श्रेष्ठले भाइरसको जोखिम फैलिदै गएकाले अव ‘¥यान्डम स्याम्पलिङ’ आवश्यक रहेको बताउनुभयो । प्रभावित क्षेत्रबाट ‘¥यान्डम स्याम्पलिङ’ गर्दा समुदायस्तरमा कोरोना भाइरसको फैलावट कुन तहमा छ भनेर थाहा पाउन सहज हुने उहाँको भनाइ छ ।

के फेरि लकडाउन जरुरी छ ?
भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डे १५–२० दिन पूर्णरुपमा लकडाउन जरुरी देख्नुहुन्छ । डा. पाण्डेले कोरोना भाइरस संक्रमण नेपालगन्जमा फैलनु अघि पनि भन्नुभएको थियो ‘लकडाउनसँगै पिसिआर परीक्षणको दायरा बढाउनुपर्छ र अस्पताललाई तयारी अवस्थामा राख्नु पर्छ ।’ उहाँले अहिले पनि त्यही कुरा दोहो¥याउनु भयो । ‘लकडाउन गर्ने तर परीक्षण दर नबढाउने हो भने यसको अर्थ खासै रहदैन् । तर परीक्षणको दर व्यापक बनाउन आवश्यक छ’ उहाँले भन्नुभयो । बाँकेमा कोरोना भाइरस संक्रमणको ग्राफ हेर्ने हो भने जहाँ भीडभाड बढी छ त्यही देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जोखिम ठाउँलाई सील गरेर नमुना संकलन गर्नु पर्ने बताउँनुहुन्छ ।

भीडभाड बढी भएका ठाउँबाट संकलन गरिएको नमुनामध्ये अहिलेसम्म ६५ जनामा भाइरस पुष्टि भएको उहाँले बताउनुभयो । नेपालगन्जको त्रिभुवन चोक, भीडभाड हुने सरकारी कार्यालय, खजुरा गाउँपालिका ४ लगायतका क्षेत्रमा संक्रमणको जोखिम बढी देखिएको छ । यी जोखिम क्षेत्रमा ‘¥यान्डम स्याम्पलिङ’ आवश्यक रहेको उहाँको भनाइ छ । सबै ठाउँमा भाइरस देखिएको छैन् । लकडाउन अघिसम्म बाँकेमा कोरोना नियन्त्रणमा आइसकेको अधिकारीहरुले बताउँदै आएका थिए । तर लकडाउन खुलेसँगै भाइरसको जोखिम अस्वभाविक ढंगबाट फैलिदै गएपछि नियन्त्रण बाहिर जान सक्ने जोखिम बढेको छ । स्थानीय प्रशासनले शनिवार रातीदेखि लागु हुनेगरी बाँकेमा तीन दिन निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको संक्रमण थप नफैलियोस भन्ने उद्देश्यले जारी गरिएको निषेधाज्ञा अवस्था हेरेर लम्ब्याउन सकिने संकेत प्रशासनले यसअघि नै दिइसकेको छ ।

उपमहानगरपालिका अनिश्चितका लागि सील
नेपालगन्ज उपमहानगरपालिका कार्यालयलाई अनिश्चितकालका लागि सील गरिएको छ । कार्यालयका चार जना कर्मचारीमा भाइरस संक्रमण पुष्टि भएपछि अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय सील गरिएको नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले स्वास्थ्य पेजलाई जानकारी दिनुभयो । भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परीक्षणमा उपमहानगरपालिकाका दुई जना अधिकृत, सरसफाई शाखा प्रमुख, आइटी अधिकृतगरी चार जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

उपमहानगरपालिकाकै जनप्रतिनिधि, वडासचिवमा पनि भाइरस संक्रमण पुष्टि भएपछि जोखिम उच्च देखियो चन्दले भन्नुभयो–‘कार्यालयलाई नै सील गरेर कन्टयाक्ट टे«ेसिङ गरेर कर्मचारी र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाब संकलनको तयारीमा छौं ।’ भाइरस संक्रमण पुष्टि भएका कर्मचारीहरुको परिवारदेखि उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको समेत नमूना संकलन गरिने जानकारी दिँदै उहाँले कतिको संख्यामा स्वाब लिने यसै भन्न नसकिने बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका वडा नं.१ का अध्यक्ष प्रमोद रिजाल र  उपमहानगरपालिका वडा नं. १४ र १८ का दुई जना सचिवलाई भाइरस संक्रमण देखिएपछि सम्पर्क व्यक्तिको विवरण लामो हुन सक्ने र त्यसको प्रभाव मूल्यांकन गर्न कठिन रहेको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

  • १९ श्रावण २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech