केस बढी भएका जिल्लामा लकडाउनः स्वास्थ्यमन्त्री

    • स्वास्थ्य पेज

  • १८ श्रावण २०७७, आईतवार

न्युज एजेन्सी नेपाल-
काठमाडौं १८ साउल ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरसका केस बढी देखिएका जिल्लामा फेरि लकडाउन गरिने बताउनु भएको छ । उहाँले संक्रमण बढी देखिएका जिल्लाहरुलाई अनुगमन र मूल्याङ्कन गरी कडाई गर्ने र जिल्ला स्तरीय लकडाउनलाई कार्यान्वयन गर्ने कुरामा सरकारले जोड दिएको बताउनुभयो । वीरगंजमा देखिएको संक्रमणको स्थिति हेर्दा त्यहाँ सिल गरेर जानुपर्ने र आवतजावतलाई पूर्णरुपमा बन्द गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।

अहिले देखिएको कोरोना संक्रमणको अवस्था बढ्दै गयो भने काठमाडौं उपत्यकामा कुनैपनि बेला भयावह स्थिति आउन सक्ने उहाँको चेतावनी छ ।अवस्था काबु बाहिर जान नदिन बाहिरि जिल्लाबाट उपत्यकाभित्र आउने व्यक्तिलाई क्वारेन्टिनमा राख्ने, जोर–बिजोर प्रणालीबाट सवारीसाधन सञ्चालन गर्ने र पीसीआर परीक्षणको दायरा बढाउने मन्त्री ढकालको भनाइ छ।

उहाँले काठमाडौँमा कोरोनाको आगो सल्कियो भने निभाउन नसकिने र विष्फोट हुने बताउनुभयो। ‘जनसंख्या यति सघन मात्रामा रहेको काठमाडौंमा आगो सल्कियो अथवा डढेलो लाग्यो भने त्यो डढेलो निभाउने कुरा अरु बाहिर गाउँमा अथवा सानो सहरमा भन्दापनि यो विस्फोटक हुन सक्छ’, मन्त्री ढकालले भन्नुभयो । मन्त्री ढकालले दैनिक १८ हजार पीसीआर परीक्षण गर्न सक्ने क्षमतामा सरकारसँग रहेको दावी समेत गर्नु भएको छ । सरकारले परिस्थितिलाई हेर्दै परीक्षणको दायरा बढाउने र त्यसको तयारीस्वरुप दैनिक १८ हजार परीक्षण गर्न सक्ने क्षमताको विकास गरेको मन्त्री ढकालले बताउनुभयो ।

  • १८ श्रावण २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech