बाँकेमा निषेधाज्ञाः के के सन्चालन गर्न पाइने ?

    • स्वास्थ्य पेज

  • १८ श्रावण २०७७, आईतवार

नेपालगन्ज १८, साउन ।

समुदायस्तरमै कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि बाँकेमा निषेधाज्ञा जारी गरिएको छ । लकडाउन खुलेसँगै बाँकेमा कोरोना संक्रमण समुदायस्तरमै फैलिन थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले शनिवारराती १२ बजेदेखि लागु हुनेगरी तीन दिनसम्म निषेधाज्ञा जारी गरेको हो ।
स्थानीय प्रशासनको निषेधाज्ञापछि आइतवार विहानैदेखि बाँके सुनसान जस्तै देखिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार, जिल्लामा भाइरसको जोखिम बढेकाले निषेधाज्ञा लगाउनु परेको हो । उहाँले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सर्वसाधरणलाई आग्रह पनि गर्नुभएको छ ।
स्थानीय प्रशासनले निषेधाज्ञामा केही महत्वपूर्ण सेवाहरु भने नरोकिएको स्पष्ट पारेको छ । स्वास्थ्य, सुरक्षा, दुरसञ्चार, खानेपानी, दुध, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधी पसल, खाद्यान्न, तरकारी आपूर्ति जस्ता सेवाहरु सन्चालनमा रहने छन् । त्यस्तै एम्वुलेन्स, शववाहन, दमकल, झण्डावाला सवारी र कुटनीतिक नियोगका सवारी साधनलाई पनि सन्चालन हुन दिइएको छ । लामो दुरीका मालबाहक साधानहरु, अत्यावश्यक सेवा सन्चालनमा खटिएका जनशक्तिले प्रयोग गरका सवारी साधनहरु, सवारी अनुमति (पास) प्राप्त सवारी साधनहरु पनि सन्चालनमा छन् ।

यी बाहेकका सवारी साधान भने निषेधाज्ञामा सन्चालन गर्न नपाइने प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बताउनुभयो । बैंक र वित्तिय संस्थाहरुको हकमा भने एटिएम बाहेक अन्य सबै सेवा बन्द गरिएको उहाँले बताउनुभयो । स्थिति जटिलतर्फ बढ्दै गएको छ कुरुम्वाङले स्वास्थ्य पेजलाई भन्नुभयो भयो–‘अवस्था हेरेर निषेधाज्ञा थप लम्विन पनि सक्छ ।’ कोरोना नियन्त्रण भइसकेको बाँकेमा लकडाउन खुलेपछि भने पुनः संक्रमण फैलिदै गएको छ । अहिलेसम्म ४३७ जनामा भाइरस संक्रमण पुष्टि भइसकेको छ । तिमध्य ३८७ जना उपचारपछि घर फर्किएका छन् । मृत्यु भएका दुईजनामा भाइरस संक्रमण पुष्टि भएको थियो ।

  • १८ श्रावण २०७७, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech