नेपालगन्ज: कोरोना संक्रमणका कारण गएको १२ घण्टामा बाँकेमा थप दश जनाको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भैरहेको भेरी अस्पतालमा ९ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा १ जना गरि दश जनाको मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।
संक्रमणका कारण ज्यान गुमाउनेहरु अधिकांश नेपालगन्ज उप-महानगरपालिकाका हुनुहुन्छ । नेपालगन्ज उप-महानगरपालिका-१२ का ४५ वर्षिय पुरुष, नेपालगन्ज-१० का ७८ वर्षिया महिला, नेपालगन्ज-१ का ५८ वर्षिय पुरुष, नेपालगन्ज-१० का २७ वर्षिय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
त्यस्तै भेरी अस्पतालमै भेरी नगरपालिका-४ जाजरकोटका ४३ वर्षिया महिला, नेपालगन्ज-४ का ५५ वर्षिय पुरुष, नेपालगन्ज-१० का ७८ वर्षिय पुरुष, नेपालगन्ज-१९ का ७७ वर्षिय पुरुषको समेत स्वास्थ्यमा सुधार नआउँदा मृत्यु भएको छ । उता नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा कोहलपुर नगरपालिका-५ का ३४ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्यस्तै एन्टिजेन विधिबाट कोभिड पुष्टि भएपछि भेरी अस्पतालमा भर्ना हुनुभएका नरैनापुर गाउँपालिका-१ बाँकेका ५६ वर्षिय पुरुषको पनि मृत्यु भएको छ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अनुसार कोरोना संक्रमणका कारण हालसम्म बाँकेमा जिल्लाका १५७ जना र जिल्ला बाहिरका १२७ जनाको मृत्यु भईसकेको छ ।