नेपालगन्जः लुम्बिनी प्रदेश सरकारले कोरोना विशेष अस्पतालमा ठूलो संख्यामा दरबन्दी थप्ने भएको छ । प्रदेश सरकार मातहतका चार कोरोना विशेष अस्पतालमा ५ सय ८३ जनशक्ति अस्थायी रूपमा भर्ना गर्न लागिएको सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताउनुभयो ।
अघिल्लो वर्ष महामारीका बेला ४ सय जनशक्ति करारमा भर्ना गरिएको थियो। कोरोना संक्रमण घटेपछि उनीहरुको करार नवीकरण गरिएको थिएन। मन्त्रिपरिषद् बैठकले अस्थायी दरबन्दी थपसम्बन्धी निर्णय गरेको हो।
प्रदेश सरकारले भेरी अस्पताल नेपालगन्जमा १ सय ५२ दरबन्दी थप्ने भएको छ । यस्तै लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा १ सय ८९ , बेलझुन्डीस्थित राप्ती प्रादेशिक कोरोना विशेष अस्पतालमा १ सय ७१ र भैरहवाको भीम अस्पतालमा ७१ दरबन्दी थप्ने निर्णय भएको प्रवक्ता चौधरीले बताउनुभयो ।
निजी अस्पतालमा हुने उपचारको शुल्कसमेत सरकारले तिरिदिने व्यवस्था गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको उपचार शुल्कमा एकरुपता ल्याउदै उपचार खर्च बेहोर्ने निर्णय गरेको हो।
अक्सिजनसहितको एक बेडको प्रतिदिन ३ हजार ५ सय, आईसीयू एचडीयूसहितको एक बेडको ७ हजार र आइसियु भेन्टिलेटरसहितको एकदिन एक बेडको १५ हजार शुल्क तोकिएको छ। सरकारले यस अनुसारको शुल्क निर्धारण गरी तिरिदिने व्यवस्था गरेकाले त्यसभन्दा धेरै शुल्क लिन नपाइने मन्त्रालयले जनाएको छ।