संक्रमित भएर पनि कोभिडका विरामीको सेवामा खटिएकी नर्स कमला भन्छिन्–‘कति बेला आफै ढल्छुकी झै लाग्छ ।’

    • स्वास्थ्य पेज

  • १८ बैशाख २०७८, शनिबार

नेपालगन्जः नेपालगन्जस्थित भेरी अस्पतालको कोरोना वार्डकी स्टाफ नर्स कमला नेपाली आफै कोरोना संक्रमित भएको हप्ता दिन भयो । संक्रमणका बाबजुद पनि स्टाफ नर्स कमला अरु संक्रमितको सेवामा खटिरहनुभएको छ ।

‘विरामीको त्यो छटपटि र चीत्कार हेर्नै सक्दैन् उहाँले भन्नुभयो–‘आफै संक्रमित भएको समेत याद हुन्न् ।’ कोरोना संक्रमितलाई पोसिलो खानेकुरा खाँदै आइसोलेसनमा बस्न चिकित्सकहरु नै सल्लाह दिन्छन्। तर, स्टाफ नर्स कमलालाई त्यस्तो फुर्सद छैन । उहाँ भन्नुहुन्छ–‘छाती दुख्छ । केहीबेर बेडमा आराम गर्छु । फेरि बिरामीको उपचारमा खटिन्छु ।’

स्टाफ नर्स कमला गत वर्षदेखि कोभिड वार्डमा कार्यरत रहनुभएको छ । गतवर्ष जेष्ठ नागरिक, स्वास्थ्यमा समस्या भएका र दीर्घरोगीहरुलाई बढी आक्रमण गर्ने गरेको थियो । तर अहिले योङ उमेरका व्यक्तिहरुलाई पनि तीब्ररुपमा आक्रमण गरेको उहाँको भनाइ छ ।

‘बेडमा योङ उमेरका व्यक्तिहरु भाइरससँग लडिरहनुभएको छ उहाँ भन्नुहुन्छ–‘त्यो पीडा, त्यो छटपटी र त्यो चीत्कार सुन्दा असह्रय पीडा हुन्छ । कति घण्टा काम गरिन्छ थाहा नै हुदैन् ।’ विरामीको सेवा गर्दा आफै कतिबेला ढलिन्छ थाहा नहुने उहाँको भनाइ छ ।

योङ–योङ उमेरका व्यक्तिको मृत्युवरण भइरहेको छ यो अवस्था देख्दा आफैलाई कतिबेला डर लाग्ने गरेको उहाँले सुनाउनुभयो । मानिसहरुको केही समूहले कोरोना केही होइन भनेको सुन्दा आश्चर्य लाग्ने उहाँको भनाइ छ । ‘कोरोना केही होइन भन्नेलाई मेरो आग्रह छ उहाँले भन्नुभयो–‘कोभिड वार्डमा आएर हेर्नुहोस् योङ उमेरका व्यक्तिहरु कसरी मृत्युसँग लडिरहनुभएको छ ।

त्यसपछि कोरोना हो होइन थाहा पाईहाल्नु हुन्छ ।’ संक्रमित भएर पनि खटिनु पर्दा उहाँलाई पीडा बोध छैन् । न त उहाँलाई कुनै गुनासो छ । ‘यो त हाम्रो पेशागत धर्म हो उहाँ भन्नुहुन्छ–‘यो गम्भीर र भयावह अवस्थामा सेवा दिन पाएकी छु मलाई गर्भ लागेको छ ।’

उहाँका अनुसार सबैको चित्त बुझाउन सकिदैन् । बाहिर कस्ले के भन्छन कमलालाई त्यस्को पनि प्रवाह छैन् । तर आफुले सकेको भन्दा बढी सेवा विरामीलाई दिने प्रयास गरिरहेको उहाँको भनाइ छ । कोभिड वार्डमा दैनिक मृत्यु भइरहेको छ । ती ह्रदयविदारक दृष्यको साक्षी बन्नुबाहेक विकल्प केही हुन्न् ।

उहाँ सम्झनुहुन्छ–‘मृत्यु सत्य हो तर यो पीडादायक मृत्यु सत्य नभइदिएको भए हुन्थ्यो झै लाग्छ ।’ आफ्नै अगाडी छटपटाउँदै मानिसहरु मृत्युवरण गर्दा लाचार हुनुबाहेक विकल्प नहुने उहाँको भनाइ छ ।

उहाँले स्वास्थ्य पेजलाई भन्नुभयो–‘मानिस जन्मिन्छ मर्छ यो ध्रुव सत्य कुरा हो । तर कोभिड वार्डभित्र छट्पटाउँदै मरेका ती दृष्यले असह्रय बनाइरहेको छ ।’ कोभिड वार्डबाट कमलाको आग्रह छ सबैले जनस्वास्थ्यको मापदण्ड पूर्णरुपमा पालना गरौं । सबै आत्मअनुशासित बनौं । घरमै सुरक्षित भएर बसौं ।

 

  • १८ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech