काठमाडौं: कोरोना संक्रमित संख्या दिन प्रतिदिन बढ्दै जाँदा अक्सिजन अभाव हुने हो कि भन्ने चिन्ता छ । गम्भीर प्रकृतिका बिरामीहरु बढिरहेका कारण पनि यो चिन्ता बढेको आँकलन गर्न सकिन्छ ।
तर सरकारले भने अक्सिजनको अभाव नहुने जनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निष्कर्ष निकालेको हो । अक्सिजन अभाव हुदैन तर सिलिण्डर भने अभाव हुनसक्छ, त्यसैले सिलिन्डर ल्याउने निर्णय बैठकले गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले जानकारी दिनुभयो ।
नेपालमा रहेका अक्सिजन प्लान्टबाट हाल उप्पादित २० प्रतिशत अक्सिजनमात्रै खपत भइरहेको दावि गर्दै सरकारले भएका प्लान्टलाई पूर्ण क्षमतामा चलाएको अवस्थामा अस्पतालमा अक्सिजन अभाव नहुने निष्कर्ष निकालेको हो ।
यसैबिच सरकारले अक्सिजन सिलिन्डर आयातमा लाग्ने भन्सार महसुल छुट दिने निर्णय गरेको छ । सोमबार साँझको मन्त्रिपरिषद् बैठकले अक्सिजन सिलिन्डरमा लाग्दै आएको भन्सार महसुल पूरै छुट दिने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले बताउनुभयो । कोरोनाको दोस्रो लहर बढेसँगै अक्सिजन सिलिन्डरको माग बढेको छ ।