डा संकेत रिसाल भन्छन्–‘कति बेला आफै ढलिन्छ थाहा छैन्।’

संक्रमित भएका बेला अस्पतालमा भर्ना गरेर उपचार गर्नुको साटो फिर्ता पठाउँदा स्वास्थ्यकर्मी र चिकित्सकको मन कति भारी हुन्छ होला ? त्यो आफै कल्पना गरौं ।


    • डा संकेत रिसाल

  • ११ बैशाख २०७८, शनिबार

नेपालगन्जः बाँकेमा हरेक दिन कोरोना संक्रमणदर झन् उकालो लाग्दै गएको छ। सक्रिय संक्रमितको संख्या एक हजार ७ सय ३९ पुगिसकेको छ । कोरोनाका विरामी उपचार भइरहेको भेरी अस्पताल नेपालगन्ज र मेडिकल कलेज कोहलपुरका शैया भरिभराउ छन्।

कोरोना वार्डका कुनाकाप्चामा पनि बेड राखेर संक्रमितलाई भर्ना गरिएको छ । सहकर्मी चिकित्सक तथा स्वास्थ्यकर्मी समेत संक्रमणमा पर्दा भर्ना गर्न नसकेर चिकित्सक तथा स्वास्थ्यकर्मीहरु फिर्ता पठाउन थालेका छन । संक्रमित भएका बेला अस्पतालमा भर्ना गरेर उपचार गर्नुको साटो फिर्ता पठाउँदा स्वास्थ्यकर्मी र चिकित्सकको मन कति भारी हुन्छ होला ? त्यो आफै कल्पना गरौं ।

अहिलेसम्म भेरीका तीन दर्जन बढी स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् । भेरी अस्पतालमा ३७ जना सिकिस्त र १ सय २६ जना मध्यम लक्षण भएका बिरामी उपचाररत छन्। ७ जना बिरामीको भेन्टिलेटरमा राखि उपचार भइरहेको छ। त्यसैगरी, मेडिकल कलेज कोहलपुरमा २६ जना सिकिस्त र ३३ मध्यम लक्षण भएका संक्रमितको उपचार भइरहेको छ। तीब्ररुपमा संक्रमण फैलिएपछि भेरी अस्पताल र मेडिकल कलेज कोहलपुरको कोभिड वार्ड भरिएको छ। पछिल्लो तीन दिन यता हरेक दिन पाँँच छ जना संक्रमितको मृत्यु भइरहेको छ।

१५ दिन अघि देखि नै हामीले भन्दै आएका थियौं अवस्था गम्भीर छ । मानिसहरुको मुभमेन्ट रोकौं । भिडभाड हुने क्षेत्र बन्द गरौं । विद्यलाय बन्द गरौं । तर यी सबै काम रोक्नतर्फ कसैको चासो पुगेन् । स्थानीय सरकार मुखदर्शक बने । यो भाइरस पहिलेको जस्तो हैन् । एक जनालाई देखिए अर्कोलाई नदेखिने । लक्षण चिन्ह नै नहुने ।

कोरोनाको नयाँ भेरियन्ट परिवारको एउटा सदस्यलाई संक्रमण भए सबैलाई संक्रमित बनाइरहेको छ । यस्को सिरियनेशपनि बढी देखिएको छ । फैलिने गति पनि अत्यन्तै खतरनाक छ । यसले अझ कस्तो गति लिन्छ भन्न सकिने अवस्था छैन् । मानिसहरु अनुशासित भएर स्वास्थ्यका मापदण्डहरु कडाइका साथ पालना गर्न सके भने भाइरसलाई किनारा लगाउन सहज होला नत्र अवस्था अझै भयावह हुने देखिन्छ ।

विगत एक वर्षअघिदेखि कोभिडका बिरामी हेर्दा यति जटिल अवस्था भोग्नु परेन । अहिले, बिरामीमा सुधार हुने अनुपात पनि घट्दो छ। हामी एकदमै डरलाग्दो अवस्थाको सँघारमा छौं। विरामीकै उपचारमा खटिदा कति बेला आफै ढलिन्छ थाहा छैन् । संक्रमित दैनिक बढिरहेका छन् । हिंजो ४ सय ८८ संक्रमित थपिए ।

संक्रमण डर लाग्दोगरी बढेको छ । अहिले बच्चा र युवा पनि उत्तिकै जोखिममा छन्। वृद्धवृद्धा र दीर्घरोगी त उसै पनि जोखिममै थिए। संक्रमणको फैलावट यही गतिमा अघि बढे, बिरामीले उपचार नै नपाउने स्थिति छ । अस्पतालमा बेड नपाउने समस्या त छँदैछ। कोरोना बाहेकका अन्य बिरामीको बिचल्ली हुने अवस्था छ।

कोभिडको अहिलेको लहरमा संक्रमितहरु सिकिस्त हुने अनुपात पहिलो लहरको तुलनामा बढी छ। एक्कासी बढेको सिकिस्त बिरामीको चाप कसरी थेग्ने भन्ने अन्यौल छ। तत्काल, कोरोना भाइरसको संक्रमणको फैलावट रोक्नु जरुरी छ। तर कसरी ? त्यसको जिम्मेवारी तपाई हामीले निभाउनु पर्छ । र, पर्ने छ । नेपालगन्जमा अहिले लकडाउन छ ।

कोरोनाको चेन ब्रेक गर्न बाँकेलाई लै लकडाउन गर्नु पर्ने अवस्था छ । तपाई हामी अत्यावश्यक कामबाहेक घर बाहिर निस्किएर आफूलाई र अरुलाई जोखिममा नपारौं। सुरक्षाका सबै मापदण्ड अपनाऔं।

  • ११ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech