काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर शुक्रबार दिउँसोसम्म कोभिड संक्रमित १७३ जना आईसीयूमा र ५७ जना भेन्टिलेटरमा स्वास्थ्य लाभ गरिरहेका छन् ।
लुम्बिनी प्रदेशमा ६५ जना आइ.सी.युमा र १४ जना भेन्टिलेटरमा स्वास्थ्य लाभ गरिरहनुभएको छ । यो प्रदेशभर आईसीयू बेड १५२ र ९२ भेन्टिलेटर रहेका छन् ।
त्यस्तै कर्णाली पदेशमा १४ जना बिरामीहरु आईसीयूमा उपचारमा हुनुहुन्छ। ३४ आइ.सी.यु बेड र १२ भेन्टिलेटर रहेको कर्णालीमा हाल भेन्टिलेटरमा बिरामीहरु हुनुहुन्न ।
मन्त्रालयका अनुसार सुदुरपश्चिम प्रदेशमा १० जना आईसीयू र ३ जना भेन्टिलेटरमा स्वास्थ्य लाभ गरिरहनुभएको छ । यो प्रदेशमा ३७ आइ.सी.यु बेड र २७ भेन्टिलेटर रहेका छन् ।
सबैभन्दा बढी बागमती प्रदेशमा ७२ जना आईसीयूमा र ३९ जना भेन्टिलेटरमा स्वास्थ्य लाभ गरिरहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यो प्रदेशमा ५५६ आईसीयू बेड र २५६ भेन्टिलेटर छन् ।
गण्डकी प्रदेशमा २४३ आईसीयू बेड र ६७ भेन्टिलेटर रहेकोमा १-१ जना आईसीयू र भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
४८ आईसीयू बेड २१ भेन्टिलेटर रहेको प्रदेश २ मा हाल आईसीयूर भेन्टिलेटर खाली छन् । त्यस्तै प्रदेश १ मा ११ जना आईसीयूमा उपचारमा रहनुभएको छ । त्यहाँ ११० आईसीयू बेडहरु रहेको मन्त्रालयले जनाएको छ ।
४० भेन्टिलेटर रहेको यो प्रदेशमा अहिले भेन्टिलेटरमा बिरामीहरु नभएको मन्त्रालयको तथ्यांकले देखाउँछ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमित १३ हजार ५७८ जना होम आइसोलेसन र १ हजार १४६ जना संस्थागत आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहनुभएको छ ।