कोरोनाका विरामीले भेरी र मेडिकल कलेज प्याकः यस्ता छन् अवका चार विकल्प

नेपालगन्जमा रहेका आर्मी अस्पताल, प्रहरी अस्पताल, भेरी र मेडिकल कलेज मध्ये एउटालाई पुरै कोभिड अस्पताल बनाउने र पालिकामा अक्सिजनसहितको आइसोलेसन निर्माण गर्ने हो भने तत्कालका लागि केही सहज हुने देखिन्छ ।


    • स्वास्थ्य पेज

  • १० बैशाख २०७८, शुक्रबार

तस्वीरः फाइल

नेपालगन्जः कोरोना संक्रमित विरामीको उपचार भइरहेका नेपालगन्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित मेडिकल कलेजमा बिरामी भरिएपछि अवस्था विजोग बनेको छ । विरामीहरु रातभरी अस्पतालका गेटमा वेडको प्रतिक्षामा छटपटाइरहेका छन् ।

अक्सिजन आवश्यक पर्ने त्यस्ता विरामीहरु गेटमा छटपटाउँदै गरेका दृष्यले भावविह्रल बनाउने गरेको चिकित्सकहरु बताउँछन् । ‘बेड छैन भन्नु पर्दा दुःख लागेको छ अस्पतालका मेसु डा प्रकाश थापाले भन्नुभयो–‘अस्पताल ल्याइएका विरामी उपचार नपाएर मर्नु पर्ने अवस्था आउन लाग्यो ।’

संक्रमित विरामीहरु खचाखच भरिएपछि स्वास्थ्य सिस्टमले काम गर्न छाड्न थालेको छ । अस्पतालमा कोभिडका लागि १ सय ४२ बेड छन् । ती सबै प्याक भएका छन् । अधिकांशलाई अक्सिजन दिनु परेको छ । अस्पतालसँग जनशक्ति छैन् । भएका जनशक्ति पनि संक्रमित हुन थालेका छन् । कोहलपुर मेडिकल कलेजको कोभिड वार्डमा पनि विरामी प्याक भएका छन् ।

अस्पतालका उपनिर्देशक डा दिनेश श्रेष्ठले अहिले कोभिडका ६८ जना विरामीको उपचार भइरहेको बताउनुभयो । तीमध्ये २९ जनाको अवस्था चिन्ताजनक छ । ‘कोभिडका लागि छुट्याइएको बेड नै छैन उहाँले भन्नुभयो–‘संक्रमित विरामी बेडको प्रतिक्षामा गेटमा छटपटाइरहेका छन् ।’ कोरोनाका विरामी उपचार गर्ने यी दुई अस्पताल भरिएपछि अव के गर्ने ? जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले प्रत्येक स्थानीय तहले अक्सिजनसहितको आइसोलेसन निर्माण गर्नुको विकल्प नभएको बताउनुहुन्छ ।

‘हाम्रो स्वास्थ्य प्रर्णालीले कामै गर्न नसक्ने अवस्था आउन लागिसक्यो उहाँले भन्नुभयो–‘अव पनि स्थानिय सरकारले अक्सिजनसहितको आइसोलेसन व्यवस्थापन गर्न सकेनन् भने विरामी छटपटाउदै मर्नु पर्ने अवस्था आउँछ ।’

यी चार विकल्प हुन सक्छन्

आर्मी अस्पताल
नेपालगन्जको राँझास्थित आर्मी अस्पताल सुविधा सम्पन्न छ । उक्त अस्पताललाई यो भयावह अवस्थामा प्रयोगमा ल्याउन सकिन्छ । आपतकालिन विपदमा नेपाली सेनाले ठूलो मानवीय सेवा गर्दै आएको छ । अहिले महामारीको विपदी छ । यो विपदीमा समन्वय र सहकार्य गरेर संक्रमितको उपचारलाई सहज बनाउने दिशातर्फ हातेमालो गर्नुको विकल्प छैन् ।

प्रहरी अस्पताल
नेपालगन्जको कारकाँदोमा प्रहरी अस्पताल छ । उक्त अस्पताललाई पनि कोभिडका विरामीको उपचारका लागि प्रयोगमा ल्याउन सकिन्छ । यहाँको स्रोतसाधन र जनशक्तिको उपलब्धता हेरेर यसलाई पनि यो विषम परिस्थतिमा कोभिड आइसोलेसन अस्पताल बनाउन सकिने विकल्प छ ।

कि भेरी र मेडिकल कलेजलाई पुरै कोभिड अस्पताल बनाउने ?
भेरी अस्पतालमा पाँच सय बेड छन् । तीमध्ये १४२ बेड कोभिडका लागि व्यवस्थापन गरिएको छ । अन्य बेड ननकोभिडका विरामी उपचाररत छन् । त्यस्तै कोभिडको उपचार भइरहेको मेडिकल कलेज कोहलपुर साढे ५ सय शैयाको अस्पताल हो ।

यहाँ कोभिडका लागि सय बेड छु्ट्याइएको छ । बाँकी बेड अन्य विरामीको लागि छुट्याइएको छ । अहिले २ सय ७५ जना ननकोभिडका विरामी भर्ना छन् । अस्पतालका उपनिर्देशक श्रेष्ठ भन्नुहुन्छ–‘कि हाम्रा सबै विरामी अन्य अस्पतालमा सिफ्ट गरौं र अस्पताल पुरै कोभिडका विरामीको उपचारका लागि मात्रै बनायौं कि भेरीका अन्य विरामी यता (मेडिकल कलेज)मा सिफ्ट गरौं र भेरीलाई पुरै कोभिड अस्पताल बनायौं ।’ यसो गर्दा जनशक्ति परिचालन र व्यवस्थापनमा पनि सहज हुने र स्वास्थ्यकर्मीमा हुने जोखिम समेत कम हुने उहाँको भनाइ छ ।

पालिकामा अक्सिजनसहितको आइसोलेसन
संक्रमितको संख्या दैनिक बढिरहेको छ । त्यसमा पनि अक्सिजन चाहिने खालका संक्रमित धेरै छन् । अव पालिकाहरुले नै अक्सिजनसहितको आइसोलेसन बनाउन ढिला गर्नु हुदैन् । आफ्ना नागरिकलाई बचाउने दायित्व स्थानीय सरकारको हो । उनीहरु यो दायित्वबाट पन्छिन मिल्दैन् । आजैदेखि प्रत्येक पालिकामा अक्सिजनसहितको ५० बेड क्षमताका आइसोलेसन बनाउन जरुरी छ । किनभने केही पालिकामा १५ शैयाका अस्पताल नै छन् । राप्तीसोनारी, नरैनापुर, खजुरा, बैजनाथलगायतका पालिकामा स्वास्थ्य संरचना बलियो छ। यो अवस्थामा त्यसलाई उपयोग गर्न आवश्यक छ ।

  • १० बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech