देवेन्द्र बोगटी,
सामान्य रुघाखोकी लाग्दा होस् वा सामान्य अस्वस्थतामा पनि बेसार तातोपानी नेपालीले खाएकै हुन्छन् । आम रुपमा प्रयोग भइरहेकै र ज्ञात भएको कुरामा जनमानसलाई नै इरिटेड हुनेगरी बारम्बार आफ्नो बालहठ देखाएकै कारण प्रधानमन्त्री केही समय देखि मजाकको विषय बनेका छन्: सामाजिक सञ्जाल, मिडिया, सडक र सदनमा पनि ।
प्रधानमन्त्रीको अरु पनि काम होला: तत्कालिन कार्यभार कोरोना नियन्त्रण गर्न र अरुपनि दैनिक प्रशासनिक कार्य गर्नलाई । त्यसैले जनताले यस्तो कोरोना कहर बीचमा यसको नियन्त्रणको लागी सरकारले स्पष्ट मार्गचित्र, पहलकदमी लिएको र त्यसलाई कार्यान्वयन भएको हेर्न र सुन्न उत्सुक छन् नकी कसैको अनावश्यक लहड र सनक वा आफ्नो कमजोरी छोप्न र जबर्जस्त लाद्न र स्थापित गर्न खोजिएको कथित “बेसारे आइडियोलोजि” को ज्ञान जनतालाई मन परेको छैन भन्ने पनि बुझ्न पर्छ प्रधानमन्त्री ज्यूले । उक्ति नै छ “भात धेरै चपायो भने तितो हुन्छ/ लाग्छ” भनेर ।
जनताले स्वास्थ्यसँग सम्बन्धित मन्त्रालय वा मन्त्री माथिको आशा, विश्वास र भरोसा तोडिसके र परीक्षण पनि गरी सकें । सरकारद्वारा गठित “कोरोना संक्रमण, रोकथाम र नियन्त्रण उच्चस्तरीय समिति” को अकर्मण्यता पनि देखिसकें । यसैबीच, जनताको नजर,आशा र भरोसा प्रधानमन्त्री माथि रहने नै भयो ।
कोरोना नियन्त्रणको लागि भए गरेका सरकारी कदमहरू असफल भइ दिनानुदिन संक्रमित बढेसँगै र आधारभूत संरचना र मापदण्ड विपरितका क्वारेन्टाइन र क्वारेन्टाइन मा बसेकाको दुर्दशा, आरडिटी को विश्वसनीयतामा प्रश्न, र यथोचित PCR परीक्षण बिना विदेशबाट आएकालाई घर पठाउने क्रियाकलापले जनमानसमा सरकार प्रति, अझ भनौं प्रधानमन्त्री माथि प्रश्न, सुझाव सल्लाह र माग र आशा रहने नै भयो र छ नै।
जनताको सरकार र प्रधानमन्त्री माथिको तत्कालिन आशा र भरोसा भनेको: कोरोना नियन्त्रणको लागि विशेष कदम सरकारले चालोस्, गल्ती भएको ठाउँमा सच्याउने, कमजोरी महसुस गरी कार्ययोजना परिवर्तन, सफलता प्राप्त भएको ठाउँमा त्यस्तै योजना अन्त पनि लागू गर्ने, प्रशस्त किट्स, उपकरण र PCR मेसिनको उपलब्धता, सहज आपूर्ति, व्यवस्थापन र मौज्दात गरियोस्, परीक्षणको दायरा फराकिलो होस्, वित्तीय संकट समाधानका उपाय खोजियोस्, खाद्य संकट व्यवस्थापन गरि प्रत्येक नेपाली कोरोनाले भन्दापनि भोकले नमरुन, नमारीउन ।
आम जनता र निजी क्षेत्रलाई राहतको व्यवस्था गरियोस्, कोरोनकैं बीच पनि आर्थिक तथा दैनिक क्रियाकलाप सञ्चालनको लागि प्रभावकारी योजना ल्याओस्, कोरोना नियन्त्रणको नाममा भए गरेका देशभरिका ब्रह्मलुट र भ्रष्टाचार माथि कारबाही थालनी गरियोस्, स्वस्थ सामग्री खरिदमा सरकारी मन्त्री, संरचनागत र नीतिगत भ्रष्टाचारमा कारबाहीको लागि शून्य सहनशीलता अपनाइयोस् भन्ने इत्यादि कुराहरूमा जनताको प्रश्न र आशा हो र माथि उल्लेखित प्रश्न र आशा माथिको उत्तर र भरोसाजन्य नीति तथा कार्यक्रमको सुरुवात र प्रयोग गर्नुको साटो झन् जनतालाई ज्ञान थोपर्न खोज्ने र “मेरो गोरुको बाह्रै टक्का” भने झैँ आफ्नो कुरालाई जसरी पनि लाद्न खोज्नु, सर्वमान्य बनाउन खोज्नु र आफू मात्र विद्वान अरु सबै अल्पज्ञान देख्ने प्रधानमंत्रीले जनताको मत, सोचाइ र आग्रहको पनि सम्मान गर्न जरुरी छ । र, परिस्थितिको सही मूल्यांकन गर्न आवश्यक छ । यहाँ प्रश्न, प्रधानमन्त्री ज्यू को देश बिकाश गर्ने भिजन र लक्ष्य प्रति होइन्। सतही कुरामा नरमाई, विषय वस्तुलाई गम्भीर रूपमा ग्रहण गर्न र मजाकको विषय नबनाउनु र मजाकको पात्र नबनुन भन्नेमा हो ।
संसद फजुल गफ हान्ने र हाँसो मजाक गर्ने ठाउँ होइन। जनता र राष्ट्रको पक्षमा विचार बिमर्श गर्दै राम्रा नीति र कानुन निर्माण गर्दै कार्यान्वयन गराउँदै देश निर्माण गर्ने थलो हो । रोचक त के भने प्रतिपक्षी दलका एकजना सांसद्ले “बेसार र तातोपानी कोरोनाको औषधि भनेर कसले भन्यो” कसले प्रमाणित गर्यो” भनेर संसदमै प्रश्न गर्दा प्रधानमन्त्रीले ‘मैले भनेको हो एकछिन अगाडि’ भन्दै गर्दा टेबुल ठटाएर प्रधानमन्त्रीको भनाइलाई वैधता दिँदा झन् झन् प्रधानमन्त्री हौसिएका छन् र चौथो पटक पनि यस्तै कुरा संसद्को माथिल्लो सदनमा पनि बोलेका छन्: ‘बेसार तातोपानी खाएर कोरोना लाई हाछ्युँ साँच्छ्यु गरेर उडाई दिनुपर्छ” भनेर।
फेरि पनि प्रधानमन्त्री मजाकको पात्र बनेका छन्, ट्रोल बनाउनेहरुको लागी त खुराक नै भएका छन् । यति ले मात्र नपुगेर अझै पनि यस्ता कुरालाई वैधता दिन लागिपरेका छन्। “कामकुरो एकातिर, कुम्लो बोकी ठिमी तिर” भनेको यही नै होला सायद । प्रधानमन्त्रीज्यूले आफूले बोलेका कुरालाई जसरी भए पनि प्रमाणित गर्नु र स्थापित गर्नु खोज्नु तथा आफूले बोलेका कुरा अरूले मान्नै पर्छ भन्ने बाल हठ देखाउनु मूर्खता त हो नै । प्रधानमन्त्रीज्यूले, कुन संस्कृति र मानक स्थापित गर्न खोजेका हुन् भन्ने पनि प्रश्न उठ्छ ।
प्रधानमन्त्री ज्यूले भनेको कुरा सतप्रतिशत असत्य हो भन्न खोजिएको पक्कै होइन । बेसार बहु उपयोगी र गुणकारी खाद्यपदार्थ हो तर प्रश्न स्वाभाविक उठ्छ नै । यदि बेसार, तातो पानी नै कोरोना औषधि हो भने किन फजुल अर्बौको खर्च ? किन ३ महिना सम्म लकडाउन? संसार नै कोरोना चंगुलमा, किन? किन संसारले हामीबाट केही सिक्न चाहेन, बेसार र तातापानी सेवनको प्रयोग सन्दर्भमा ? नेपालीको स्टामिना बलियो र रोगप्रतिरोधी क्षमता बढी हुँदो हो त, किन कोरोनाले संक्रमित गरेको, नेपालीलाई ? किन कोरोनाले मरेका नेपाली ? कहाँका जनताको रोगप्रतिरोधी क्षमता बलियो छ भन्ने कुरा त्यहाँका जनताको औसत आयु कति छ भन्ने कुराले निर्धारण हुँदै आएको छ र सो कार्य विश्व स्वास्थ्य संगठनले विभिन्न सुचकलाई आधार बनाएर मापन गर्दै आएको छ । WHO को पछिल्लो रिपोर्ट अनुसार नेपालीको औसत आयु ७०.५ वर्ष र विश्वको सूचकमा १२४औं स्थानमा छ। यसले पनि के पुष्टि गर्छ भने नेपालीको रोग प्रतिरोधात्मक क्षमता अहिले पनि कम नै छ ।
निश्चय पनि, जनमानसमा सहि सुचना सम्प्रेषण गर्दै जनचेतना विकास गर्नु र रोग प्रति लड्न उत्प्रेरित गर्न, हौसला बढाउन सह्रानीय कार्य नै हो, त्यो पनि स्वास्थ्य मन्त्रालय, संघसंस्था, मीडिया, सोसियल मिडिया, दूरसंचार प्रदायक संस्थान, व्यक्ति, समुदाय, राजनीतिक दल आदिले गर्दै आइरहेका पनि छन् । राष्ट्रको अभिभावकको नाताले पनि जनताको प्रधानमन्त्रीमाथि आशा, भरोसा र विश्वास अधिक हुन्छ नै, र छ पनि।
त्यसैले प्रधानमन्त्री ज्यूले, बेतुकका झिना मसिना कुरामा न अल्झिएर, मेडिकल साइन्सले नै प्रमाणित गरेको, दुनियाँलाई नै हायलकायल बनाएको, रुघाखोकी, फ्लु जस्तै नवीन सङ्क्रामक र भाइरस जन्य रोग “कोरोना” कोविड-१९ हो र अहिलेसम्म यसको कुनै खास औषधि र खोप विकास भइनसकेको रोग हो भन्ने कुरा हेक्का राख्नु जरुरी छ ।
जनताको एकदमै साथ प्राप्त यस समयमा, देश र जनतालाई कोरोनाबाट मुक्त गर्ने एकमात्र संकल्प गर्दै तदनुरूपका गतिशील टास्क फोर्स गठन गरी सही नीति अवलम्बन गर्दै युद्धस्तरमा कोरोना नियन्त्रणकार्य लागि कार्य अघि बढाउँदै कोरोनामाथि जीत हासिल गर्नु नै आफ्नो र सरकारको प्रमुख कर्तव्य हो भन्ने बोध गर्न पनि जरुरी छ। मजाकजन्य बाणीको प्रस्तुतिले समय बर्बाद गर्ने र दुनियाँको मजाकको पात्र बन्न छुट प्रधानमन्त्रीलाई छैन।