के हो अटिजम ? यस्ता हुन्छन् अटिजमका लक्षणहरु

आज १४ औँ विश्व अटिजम जनचेतना दिवस


    • स्वास्थ्य पेज

  • २० चैत्र २०७७, शुक्रबार

नेपालगन्जः आज १४ औँ विश्व अटिजम जनचेतना दिवस मनाइँदैछ । अटिजम जन्मजात हुने एक विशेष खालको अपाङ्गता हो । अटिजमका लक्षण जन्मिएको तीन वर्षभित्र प्रष्ट रुपमा चिन्न सकिने फिजियोथेरापिस्ट एवम् अटिजम केयर नेपाल सोसाइटीका प्रशासकीय प्रमुख सुरेन्द्र बज्राचार्यले बताउनुभयो । उहाँका अनुसार अटिजम भएका बालबालिकाहरुले आत्म केन्द्रीत व्यवहार देखाउँछन् ।

झट्ट हेर्दा सामान्य अवस्थाकै बालबालिका जस्ता देखिए पनि अटिजम भएका बालबालिकाहरुले अरुलाई वास्ता नगर्ने हुन्छन् । आफ्ना उमेरका बालिबालिकासँग खेल्न नरुचाउने, असान्दर्भिक हसाईं, आँखामा आँखा जुधाउन कठिनाई, घाउ चोट तथा दुखाईप्रति वास्ता नगर्ने, एक्लै बस्न रुचाउने, समानहरु घुमाउन रुचाउने, वातावरणका सामानहरुसँग अनौठो लगाव, अत्यन्त चञ्चल अथवा निस्क्रियपना, सामान्य शिक्षण विधिबाट नसिक्ने, हरेक दिन एउटै उस्तै काम गर्न रुचाउने तथा परिवर्तन मन नपराउने, डर नहुने साथै खतरा नबुझ्ने, कल्पना गरेर खेल खेल्न नसक्ने वा असामान्य तथा दोहोर्‍याइ तेहेर्‍याइ एउटै खेल खेलिरहने, शब्द तथा वाक्यांश दोहोर्‍याउने, कहिलेकाँही अरुले छोएको तथा अंगालो हालेको मन नपराउने, बोलाउँदा नबोल्ने साथै कहिलेकाँही कान नसुने जस्तो भइदिने, आफ्नो आवश्यकताको सामान औंलाले देखाउने अथवा ठूला मानिसको हात समातेर देखाउने शब्दको प्रयोग नगर्ने, बिना कारण रुने कराउने जस्ता लक्षण देखिन्छन् ।

अटिजम भएको एक व्यक्तिमा देखिएका लक्षण अर्को व्यक्तिमा नमिल्न पनि सक्दछन्। अटिजम भएका बालबालिकामा पनि छुट्टै विशेषता हुन्छ । समयमा नै उपचार गराउन सके उनीहरुको वृत्तिविकासमा सहयोग पुग्ने बज्राचार्यले बताउनुभयो ।

बालबालिकाले अस्वाभाविक प्रतिक्रिया देखाउने, एउटै व्यवहार लगातार दोहोर्याइरहने, अरूसँगै घुलमिल नहुने जस्ता समस्या बालबालिकाले देखाए तुरुन्त परामर्शमा जानु पर्ने उहाँले बताउनुभयो। उहाँका अनुसार अटिजमको कुनै औषधि नभएकाले बालबालिकाको वृत्ति विकासका लागि अभिभावकले नै वातावरण बनाउनु पर्दछ ।

अटिजमको शीघ्र पहिचानको विभिन्न तहमा स्वास्थ्यकर्मीको विशेष तालिम, पेडियाट्रिक सुपर स्पेसियालिटी डेभलपमेन्टल पेडियाट्रिक्सको सुरुवात अटिजम लगाएतका अन्य डेभलपमेन्ट डिसेबलिटी स्क्रिनिङ टुल प्रावधानको सुरुवात जस्ता शीघ्र र तीब्र पहिचानको लागि नभई नहुने आदि कुराहरुमा ध्यान दिदै विश्व स्वास्थ्य संगठनको पब्लिक हेल्थ प्रायरोटीलाई मापन गर्ने उद्देश्यले अटिजमलाई मुलधार स्वास्थ्य प्रणालीमा गाभिन अत्यन्तै जरुरी देखिन्छ र यसमा स्वास्थ्य मन्त्रालयको विशेष ध्यानाकर्षण हुन जरुरी छ।

 

 

  • २० चैत्र २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech