नेपालगन्ज : आजदेखि सुरु हुने कोरोना विरुद्धको खोपको दोस्रो चरणको सम्पूर्ण तयारी पूरा भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लामा रहेको खोप पालिकास्तरका सबै स्वास्थ्य संस्थामा पुगिसकेको छ । दोस्रो चरणमा ६५ वर्षमाथिका नागरिकलाई खोप दिन लागिएको छ ।
यस्तै पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, पत्रकारलाई पनि खोप लगाइने छ । स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर भेषराज शर्माका अनुसार तीन दिनसम्म चल्ने यो अभियानमा पालिकास्तरमा रहेका ८१ वटा खोप केन्द्रमार्फत २५ हजारबढीलाई खोप दिइने छ ।
नेपालगन्ज उपमहानगरपालिकाका ६ हजार ३ सय ८४ जना, कोहलपुर नगरपालिकाका ३ हजार २ सय ८२ जना, जानकी गाउँपालिकाका २ हजार २ सय ५८ जना, बैजनाथ गाउँपालिकाका ३ हजार १ सय २१ जना, राप्तीसोनारी गाउँपालिकाका ३ हजार ६१ जना, नरैनापुर गाउँपालिकाका २ हजार १ सय ६८ जना, डुडुवा गाउँपालिकाका २ हजार ९८ जना र खजुरा गाउँपालिकाका ३ हजार ४ सय १७ जनागरी जिल्लाका ८ पालिकाका २५ हजार ७ सय ८९ जनालाई खोप दिने लक्ष्य स्वास्थ्य कार्यालयले लिएको छ ।
यसअघि पहिलो चरणको खोप अभियान अन्तर्गत जिल्लामा ४ हजार ९ सय ६७ जनाले खोप लगाएका थिए । त्यसमा ५ हजारलाई लगाउने लक्ष्य निर्धारण गरिएको थियो । पहिलो चरणकै दोस्रो अभियानमा जिल्लाका ४ हजार ७ सय ९५ जनालाई खोप लगाउने लक्ष्य लिइएकोमा ४ हजार ८ सय ६१ जनाले खोप लगाएका थिए ।
यो हिसावले हेर्दा बाँकेमा खोप लगाउनेको संख्या उत्साहजनक देखिएको छ । आजदेखि २५ गतेसम्म चल्ने खोप अभियानमा जिल्लाका ६५ वर्षमाथिका जेष्ठ नागरिक सहभागी हुनेछन् । त्यसका लागि २ सय ४७ जना स्वास्थ्यकर्मी परिचालन हुनेछन् भने ७ सय २९ जना स्वयसेवकलाई परिचालन गरिने खोप सुपरभाइजर शर्माले बताउनुभयो ।
कस्ले नलगाउने खोप
१८ वर्षमुनीका बालबालिका
गर्भवती
गम्भीर विरामी
एन्टिबायोटिक सेवन गरिरहको नागरिक
दीर्घरोगी