कोरोनाविरुद्धको खोप अभियान सुरु, बाँकेमा भेरीका मेसु डा.थापाले लगाए पहिलो खोप

    • स्वास्थ्य पेज

  • १४ माघ २०७७, बुधबार

नेपालगन्ज :नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ। स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी लगायतलाई पहिलो चरणमा खोप लगाउन सुरु गरिएको छ ।

नेपालमा खोपको पहिलो डोज शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले लगाउनुभएको छ । देशभर १ सय २० केन्द्रबाट खोप लगाउन सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रायले जनाएको छ ।

बाँकेमा पहिलो खोप भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापाले लगाउनु भएको छ । भेरी अस्पतालको केन्द्रमा खोप लगाएपछि डा.थापाले खोपका बारेमा धेरै आशंका देखिएकाले खोप सुरक्षित रहेको सन्देश दिन आफूले सुरुमा कोरोना विरुद्धको खोप लगाएको जानकारी दिनुभयो ।

भेरी अस्पतालमा आयोजित कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले खोप स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरेपछि खोप अभियान सुरु भएको थियो ।

बाँकेमा पहिलो चरणको खोप अभियान अन्तगर्त पहिलो दिन आज भेरी अस्पतालका चारसय जनालाई खोप दिइने कार्यक्रम छ ।

भारत सरकारले नेपाललाई कोभिसिल्ड हस्तान्तरण गरेपछि देशैभर खोप अभियान सुरु भएको हो । सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको कोभिसिल्ड अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेका कम्पनीको सहकार्यमा विकास भएको हो।

  • १४ माघ २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech