बेलायतबाट फर्किएका पाँचजनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ प्रजाति (भेरियन्ट)को उद्गमस्थल बेलायतबाट आएका १९३ जनालाई निगरानीमा राखेको छ।


    • स्वास्थ्य पेज

  • १३ पुष २०७७, सोमबार

काठमाडौं १३, पुष ।
बेलायतबाट फर्किएका पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ प्रजाति (भेरियन्ट)को उद्गमस्थल बेलायतबाट आएका १९३ जनालाई निगरानीमा राखेको छ।

ती मध्ये पाँच जनामा सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिनुभयो । निगरानीमा राखिएकालाई ज्वरो र रुघा लागेको लक्षण देखिए पीसीआर परीक्षण गरेर उपचार गरिने जानकारी पाण्डेले दिनुभयो ।

महाशाखाले आज मात्र तीमध्ये १२ जनाको पीसीआर परीक्षण गरेको छ। मन्त्रालयले यसअघि नै सूचना जारी गरी यही पुस १ गतेदेखि ७ गतेभित्र बेलायत अथवा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गरेका सबैका अनिवार्यरुपमा १० दिन होटल क्वारेन्टिनमा बस्न अनुरोध गरेको थियो।

महाशाखाका निर्देशक डा पाण्डेले पीसीआर परीक्षणबाट नै नयाँ प्रजातिको भाइरस पत्ता लगाउन समस्या भइरहेकाले पुनःपरीक्षणका लागि बाहिर पठाउने तयारी पनि भइरहेको जानकारी दिनुभयो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले नयाँ प्रजातिको भाइरसका बिरामी कोभिड–१९ जस्तै रहेको र यसले सङ्क्रमण सार्ने दर बढिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार ती सङ्क्रमितको उपचार पनि कोभिड–१९ का बिरामी जस्तै गरिन्छ।

  • १३ पुष २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech