समिरमान श्रेष्ठ
नेपालगन्ज १७, कात्तिक ।
कोरोना भाइरस संक्रमणबाट बाँकेका दुई अस्पतालमा ४८ घण्टाको अवधिमा ७ जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा ३ र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ४ गरी ४८ घण्टाको अवधिमा ७ जना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा बाँके र दाङका तीन-तीन र कैलालीका एक जना रहेका छन् । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, ती सबै संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । ती मध्ये बाँके खजुराका ४० बर्षीय पुरुषको मृत्युपछि मात्र संक्रमण पुष्टि भएको थियो । यद्यपी उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि मात्र अस्पताल पुर्याइएको थियो ।
मृतकको विवरणः
-दाङ तुलसीपुर उपमहानगरपालिका-९ का ४८ वर्षका पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको थियो। आइतबार राति ११ः१३ उनको मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई असोज १० गते भेरीको प्रि–आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । त्यसैदिन उनको कोरोना भएनभएको एकिन गर्न नमुना संकलन गरिएको थियो । त्यसको भोलिपल्ट ११ गते रिपोर्ट पोजेटिभ आएको थियो ।
-नेपालगन्ज उपमहानगरपालिका-१६ की ७० वर्षीया महिलाको भेरी अस्पतालमा साँझ ५ बजे मृत्यु भएको थियो । उनलाई स्वास प्रश्वास सम्बन्धी समस्या थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनी असोज १२ गते अस्पताल भर्ना भएकी थिइन् । श्वासप्रश्वासमा समस्या देखिएपछि उनको त्यसैदिन कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।त्यसको भोलिपल्ट रिपोर्ट कोरोना पोजेटिभ आएको थियो ।
-कैलालीको टीकापुर नगरपालिका–१ का ६० वर्षको पुरुषको आइतबार राति १ बजे भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।स्वास्थ्यमा समस्या देखिएपछि ती पुरुष असोज १४ गते भेरीमा भर्ना भएका थिए । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनले त्यसैदिन पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए । त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो ।
-बाँकेको खजुरा गाउँपालिका–३ बीगाउँका ४० वर्षका पुरुषको मृत्यु भएको थियो । श्वासप्रश्वासमा समस्या आएपछि उनलाई शनिवार दिउँसो नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको थियो । तर उनको त्यसै दिन राती ११ बजे मृत्यु भएको थियो । उनको कोरोना पुष्टि भने आइतवार साँझ ५ बजेमात्र भएको थियो ।
-नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा दाङ घोराही उपमहानगरपालिका–४ का ७० वर्षीय पुरुषको आइतवार बिहान पाँच बजे मृत्यु भएको थियो । असोज ११ गते स्वास्थ्यमा समस्या आएर आइसीयूमा भर्ना गरी उपचार शुरु भएको उनको १२ गते कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो ।
-तुलसीपुर उपमहानगरपालिका–१८ का ७० वर्षका पुरुषको आइतवार दिउँसो २ः४५ बजे मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो । श्वास प्रश्वासमा समस्या भएपछि कात्तिक १३ गते आईसीयूमा भर्ना भएका ती पुरुषको १४ गते नमूना परीक्षण गरिएको र त्यसको भोलिपल्ट रिर्पोट पोजेटिभ आएको थियो ।
-नेपालगन्ज उपमहानगरपालिका-२० की ६० वर्षीया महिलाको शनिवार साँझ ५ः३० बजे मृत्यु भएको थियो । कात्तिक ८ गते पीसीआर परीक्षणका लागि उनले नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा स्वाब दिएकी थिइन् । सोही दिन रिर्पोट पोजेटिभ आएको थियो । उनलाई श्वासप्रश्वासमा समस्या थियो ।
अहिलेसम्म बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ भने बाँकेका अस्पतालमा उपचार गर्न आएका २१ जनाको मृत्यु भएको छ ।