नेपालगन्जः सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै आज सरकारी अस्पतालहरूको बहिरङ्ग सेवा (ओपीडी) सेवा वन्द भएको छ ।
मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार सरकारी कार्यालयहरूसँगै स्वास्थ्य संस्थाहरूमा पनि शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय भएसँगै सरकारी अस्पतालहरुको ओपीडी सेवा वन्द भएको हो ।
यसअघि शनिबार मात्र बिदा हुँदै आएकोमा अब आइतबार (आज) पनि अस्पतालको ओपीडी लगायतका प्रशासनिक सेवाहरू बन्द भएको छन् ।
यद्यपि, अस्पतालको आकस्मिक सेवा (इमर्जेन्सी) र अन्तरङ्ग सेवा (भर्ना भएका बिरामीको उपचार) भने २४ सैं घण्टा सुचारु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए ।
सातामा दुई दिन बिदा दिँदा इन्धनको खपत कम हुने र प्रशासनिक खर्चमा कटौती हुने सरकारको विश्वास छ। तर, बिरामीको चाप बढी हुने सरकारी अस्पतालहरूमा दुई दिन बिदा दिँदा सेवाग्राहीहरूलाई मर्का पर्ने देखिएको छ ।
आइतबारको बिदाका कारण सोमबार अस्पतालहरूमा बिरामीको अत्यधिक भीड हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै मन्त्रालयले वैकल्पिक व्यवस्थापनका बारेमा पनि छलफल गरिरहेको छ।







