गर्मीमा स्किन केयरमा ध्यान दिन चिकित्सकको सुझाव

    • स्वास्थ्य पेज

  • ३ बैशाख २०८३, बिहीबार

काठमाडौँ । गर्मी मौसममा तापक्रम वृद्धि, चर्को घाम, पसिना र प्रदूषणका कारण छालामा विभिन्न समस्या देखिन सक्ने भएकाले स्किन केयर रुटिन परिवर्तन गर्न आवश्यक रहेको चिकित्सकहरूले बताएका छन् ।

विशेषज्ञका अनुसार पराबैजनी किरण र उच्च आर्द्रताले छालाको बाहिरी तहमा असर पार्दै ट्यानिङ, पिग्मेन्टेसन तथा संक्रमणको जोखिम बढाउँछ । गर्मीमा अत्यधिक पसिना आउने हुँदा छालाका रोमछिद्र बन्द भई डन्डीफोर तथा अन्य समस्या देखिने सम्भावना पनि बढ्ने गर्दछ ।

यस्तै शरीरमा पानीको कमी हुँदा छाला सुक्खा र फुस्रो बन्ने भएकाले पर्याप्त पानी सेवन गर्न र छालाको प्रकारअनुसार हेरचाह गर्न सुझाव दिइएको छ । चिल्लो, सुक्खा, मिश्रित तथा संवेदनशील छालाका लागि फरक–फरक स्किन केयर आवश्यक हुने भएकाले एउटै उत्पादन सबैका लागि उपयुक्त नहुने चिकित्सकहरूको भनाइ छ ।

गर्मीमा दिनमा कम्तीमा दुई पटक अनुहार धुने, टोनर र हल्का मोइस्चराइजर प्रयोग गर्ने तथा बाहिर निस्कँदा अनिवार्य रूपमा सनस्क्रिन लगाउने गर्नुपर्ने सुझाव दिइएको छ । साथै जाडोमा प्रयोग गरिने भारी तथा तेलयुक्त उत्पादनहरू गर्मीमा प्रयोग गर्दा छालामा समस्या बढ्न सक्ने भएकाले मौसमअनुसार स्किन केयर रुटिन परिवर्तन गर्न आवश्यक रहेको बताइएको छ ।

विशेषज्ञहरूले नियमित हेरचाह र सही स्किन केयर अपनाएमा गर्मीमा पनि छालालाई स्वस्थ र सुरक्षित राख्न सकिने बताएका छन् ।

छालारोग तथा सौन्दर्य विशेषज्ञ डा.अस्मिता गौतम लगायतसँगको कुराकानीमा आधारित

  • ३ बैशाख २०८३, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech