आँखा स्वास्थ्य सेवा र शिक्षा विस्तार गर्न तिलगंगा र बिपी प्रतिष्ठानबिच सम्झौता

    • स्वास्थ्य पेज

  • ३ बैशाख २०८३, बिहीबार

काठमाडौँ । आँखा स्वास्थ्य सेवा, शिक्षा तथा अनुसन्धानलाई थप सुदृढ बनाउने उद्देश्यसहित तिलगंगा आँखा प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच संस्थागत सहकार्य सम्झौता भएको छ ।

तिलगंगा आँखा प्रतिष्ठानमा आयोजित कार्यक्रममा दुई संस्थाबीच भएको सम्झौताले शैक्षिक गतिविधि, संयुक्त अनुसन्धान, व्यावसायिक क्षमता अभिवृद्धि तथा संस्थागत आदान–प्रदानलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ ।

सम्झौताअनुसार तिलगंगा आँखा प्रतिष्ठानका प्राध्यापकहरूले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (BPKIHS) मा विभिन्न उपविशेषज्ञता अन्तर्गत नियमित रूपमा ओपिडी तथा शल्यक्रिया सेवा प्रदान गर्नेछन् । साथै प्राध्यापक तथा रेसिडेन्ट चिकित्सकहरूका लागि शैक्षिक कक्षाहरू सञ्चालन गरिनेछ ।

त्यसैगरी, आरओपी (ROP) स्क्रिनिङ, उपविशेषज्ञ शल्यक्रिया तथा लेजरसम्बन्धी तालिमहरू प्रदान गरिनेछ । क्लिनिकल तथा सामुदायिक आँखा स्वास्थ्य क्षेत्रमा संयुक्त अनुसन्धान कार्यक्रम पनि सञ्चालन गरिनेछ ।

संस्थागत सहकार्य सम्झौता

यसबाहेक BPKIHS का रेसिडेन्ट चिकित्सकहरूलाई तिलगंगाका विभिन्न उपविशेषज्ञ क्लिनिकहरूमा क्लिनिकल पोस्टिङको अवसर उपलब्ध गराइनेछ ।

सम्झौताअन्तर्गत प्राध्यापक क्षमता अभिवृद्धि तालिम, नियमित मेडिकल शिक्षा कार्यक्रम तथा पूर्वी क्षेत्रका अन्य आँखा अस्पतालहरूको समेत सहभागितामा शैक्षिक गतिविधि सञ्चालन गरिने उल्लेख छ । साथै संयुक्त रूपमा आँखा जाँच तथा शल्यक्रिया शिविरहरू सञ्चालन गर्ने सहमति पनि भएको छ ।

सम्झौतामा तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी प्रमुख प्रा. डा. सन्दुक रुइत र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. विक्रमप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

  • ३ बैशाख २०८३, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech