काठमाडौं — बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले स्वास्थ्य क्षेत्र सुधारका लागि महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृत गरेको १०० बुँदे कार्यसूचीमा स्वास्थ्य पहुँच, डिजिटल प्रणाली, औषधी आपूर्ति र आपतकालीन सेवासम्म समेटिएका छन् ।
सरकारले सरकारी तथा निजी अस्पतालका कुल शय्यामध्ये कम्तीमा १० प्रतिशत निःशुल्क उपलब्ध गराउने व्यवस्था तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ । यसका लागि “Free Health Portal” विकास गरी ३० दिनभित्र देशभर लागू गरिनेछ, जसबाट निःशुल्क सेवाको रियल टाइम अनुगमन सम्भव हुनेछ ।
यस्तै, बिरामीको उपचार इतिहास, Referral, पुन:सेवा र Clinical Follow-Up व्यवस्थित गर्न बिरामीको अभिलेख प्रणाली (Patient Record System) का लागि डिजिटल, एकीकृत अन्तरआबद्ध स्वास्थ्य सूचना प्रणाली तीन महिनाभित्र विकास गर्ने , सरकारी अस्पतालमा Attendance Monitoring, Conduct Review र Cleanliness Audit अनिवार्य गर्ने योजना अघि सारिएको छ ।
औषधीलाई गुणस्तरीय र न्यूनतम मूल्यमा उपलब्ध गराउन देशभरका सरकारी अस्पताल तथा प्रमुख स्वास्थ्य संस्थाहरुमा ‘सुलभ फार्मेसी’ सञ्चालन गर्ने व्यवस्था लागु गर्ने , उक्त फार्मेसीमार्फत आवश्यक औषधिहरु जेनेरिक नाममा न्युनतम मुल्यमा उपलब्ध गराउने, र उक्त कार्यक्रम एक सय दिनभित्र देशभर सञ्चालनमा ल्याउने योजना अघि सारिएको छ ।
जलन उपचारका लागि अधिकांश अस्पतालमा Burn Ward स्थापना गर्ने र पहाडी क्षेत्रमा आपतकालीन सेवाका लागि एयर एम्बुलेन्स standby राख्ने व्यवस्था पनि तय गरिएको छ ।







