काठमाडौँ – असुरक्षित यौन सम्पर्क भयो र तपाईँलाई डर वा चिन्ता छ ? गर्भावस्थाको सम्भावनाले तपाईंलाई मनमनै तनाव दिइरहेको छ भने यो जानकारी तपाईंका लागि उपयोगी हुन सक्छ ।
चिकित्सकहरू भन्छन्, यस्तो अवस्थामा लाज मान्नु वा समस्या लुकाउनु आवश्यक छैन । महत्त्वपूर्ण कुरा भनेको यो अवस्थालाई कति समझदारीपूर्वक सामना गर्नु हो । सही जानकारी नै तपाईंको सबैभन्दा ठूलो शक्ति हो ।
असुरक्षित यौन सम्पर्कपछि डर कम गर्न केही कदमहरू:
-
आपतकालीन गर्भनिरोधकबारे जानकारी लिनुहोस् र आवश्यक परे सही प्रयोग गर्नुहोस्
यो औषधि असुरक्षित यौन सम्पर्क पछि गर्भधारणको जोखिम घटाउन प्रयोग गरिन्छ । सम्बन्धपछि सकेसम्म चाँडो, सामान्यतया ७२ घण्टाभित्र लिनेबित्तिकै यसको प्रभावकारिता बढी हुन्छ । यसलाई केवल आपतकालीन अवस्थामा प्रयोग गर्नुपर्छ र चिकित्सक वा योग्य स्वास्थ्यकर्मीको सल्लाह अनुसार मात्र लिनु उपयुक्त हुन्छ । यो नियमित गर्भनिरोधकको विकल्प होइन ।
वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.कीर्तिपाल सुवेदी भन्छन्, “यदि तपाईँले जोखिम महसुस गर्नुभएको छ भने आपतकालीन गर्भनिरोधक प्रयोग गर्न सक्नुहुन्छ । तर यसलाई बारम्बार प्रयोग गर्नु स्वास्थ्यका लागि उचित होइन । आपतकालीन औषधि भनिएको कारण नै तत्काल आवश्यक परिस्थितिमा प्रयोग गर्नु हो; पटक-पटक नियमित रूपमा प्रयोग गर्दा भविष्यमा स्वास्थ्यसम्बन्धी समस्या उत्पन्न हुन सक्छ ।”
-
शान्त रहन प्रयास गर्नुहोस् र निर्णय सोच–विचार गरेर लिनुहोस्
असुरक्षित यौन सम्पर्क पछि डर, तनाव वा चिन्ताले निर्णय क्षमतामा असर पार्न सक्छ । यस्तो अवस्थामा आफूलाई शान्त राख्नु अत्यन्त आवश्यक हुन्छ । कुनै पनि कदम चाल्नुअघि भावनात्मक रुपमा स्थिर भएर विकल्पहरूबारे सोच–विचार गर्नुहोस् । यसले तपाईंलाई सही निर्णय लिन मद्दत गर्दछ र अनावश्यक डर वा हतारमा हुने गल्तीबाट बचाउँछ ।
-
पर्खनुहोस् र परीक्षण गर्नुहोस्
असुरक्षित यौन सम्पर्क पछि तुरुन्तै परीक्षण गर्दा सही नतिजा नआउने सम्भावना हुन्छ । त्यसैले केही समय धैर्य गर्नु आवश्यक छ । यदि तपाईंको महिनावारी रोकिएको छ भने घरमै गर्भावस्था परीक्षण गर्न सक्नुहुन्छ । यदि छिटो र विश्वसनीय नतिजा चाहिन्छ भने β-HCG ब्लड टेस्ट गराउन सकिन्छ । यदि परीक्षणको नतिजा अस्पष्ट छ वा निश्चित छैन भने परीक्षणलाई केही दिनपछि पुनः दोहोर्याउनु उपयुक्त हुन्छ ।
-
यदि परीक्षण पोजेटिभ आयो भने के गर्ने ?
यदि रिपोर्ट पोजेटिभ आयो भने, सबैभन्दा महत्त्वपूर्ण कुरा हो – आत्तिनु हुँदैन । जतिसक्दो चाँडो स्त्रीरोग विशेषज्ञ (Gynecologist/Obstetrician) लाई भेट्नु आवश्यक छ । वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.कीर्तिपाल सुवेदी भन्छन्, “आफ्नै निर्णयमा विभिन्न औषधि वा उपाय प्रयोग गर्नु जोखिमपूर्ण हुन सक्छ । त्यसैले चिकित्सकको सल्लाह लिएर मात्र कदम चाल्नु उपयुक्त हुन्छ ।”
यस्तो अवस्थामा योग्य चिकित्सक वा स्वास्थ्यकर्मीहरूले तपाईंको स्वास्थ्य अवस्था जाँच्ने, उचित परीक्षण र उपचार सल्लाह दिने र आवश्यक परामर्श उपलब्ध गराउनेछन् । समयमै सम्पर्क गर्दा अनावश्यक जटिलता र जोखिम कम हुन्छ ।
मनोवैज्ञानिक वा परामर्शदातासँग कुरा गर्नुहोस्
असुरक्षित यौन सम्पर्कपछि डर, चिन्ता वा मानसिक तनाव हुनु सामान्य हो । यस्तो अवस्थामा तपाईं आफैंले भावनात्मक रूपमा सामना गर्न गाह्रो महसुस गर्न सक्नुहुन्छ । मनोवैज्ञानिक वा योग्य परामर्शदातासँग कुरा गर्दा, तपाईंलाई आफ्नो डर र चिन्ता बुझ्न, भावनात्मक समर्थन पाउन र सही निर्णय लिन सहयोग मिल्छ । यसले मानसिक स्वास्थ्यलाई बलियो राख्न मद्दत गर्छ र तनावपूर्ण परिस्थितिमा स्पष्ट सोचाइ कायम राख्न सहयोग पुर्याउँछ ।
भविष्यका लागि सिकाइ र सावधानी :
-
नचाहेको गर्भावस्थाबाट बच्न कन्डमको प्रयोग गर्नुहोस् ।
-
यौन सञ्चारित सङ्क्रमण (STI) बाट जोगिन सुरक्षित यौन व्यवहार अपनाउनुहोस् ।
-
आफ्नो पार्टनरसँग खुलेर कुरा गर्नुहोस् र सहमतिका आधारमा निर्णय लिनुहोस् ।
-
यौन स्वास्थ्यका बारेमा आवश्यक जानकारी अवश्य जान्न र बुझ्न कोशिस गर्नुहोस् ।
(नेपालगन्ज स्थित भेरी अस्पतालमा कार्यरत वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.कीर्तिपाल सुवेदीसँगका कुराकानीमा आधारीत)








