रुपन्देहीः नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा.लेखजंग थापाले रुपन्देहीको सिद्धार्थनगर–१३ मा रहेको भीम अस्पतालको अवलोकन गर्दै अस्पतालको सेवा प्रवाह सुधार र स्तरोन्नतिमा विशेष ध्यान दिनुपर्ने बताएका छन् ।
अस्पताल निरीक्षणका क्रममा उनले अस्पताल प्रमुख डा.वर्षा थापा लगायत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरूसँग भेटघाट गरी अस्पतालको सेवा प्रवाह, भौतिक पूर्वाधार, उपकरण, जनशक्ति तथा व्यवस्थापनबारे जानकारी पनि लिएका थिए ।
वि.सं. १९९० सालमा केवल ३ शैयाबाट सुरु भएको भीम अस्पताल हाल विस्तार हुँदै सरकारीतर्फ ५० शैया र अस्पताल विकास समितितर्फ ५७ शैया गरी कुल १०७ शैया क्षमतामा पुगेको छ ।
तीमध्ये हाल ८५ शैया सञ्चालनमा रहेको जानकारी अस्पताल प्रशासनले दिएको छ । झण्डै एक शताब्दीको इतिहास बोकेको यो अस्पताल रुपन्देही तथा आसपासका हजारौँ नागरिकको स्वास्थ्य सेवाको महत्वपूर्ण आधार बनेको छ ।
अवलोकनपछि सांसद थापाले अस्पतालको सेवा अझ व्यवस्थित, छिटो र प्रभावकारी बनाउन आवश्यक सुधार गर्नुपर्नेमा जोड दिए । उनले आवश्यक स्वास्थ्यकर्मी तथा विशेषज्ञ जनशक्तिको व्यवस्थापन, आधुनिक प्रविधि र उपकरण थप, आकस्मिक तथा आईसीयू सेवा विस्तार, सरसफाइ तथा व्यवस्थापन सुधार जस्ता विषयमा विशेष ध्यान दिन अस्पताल व्यवस्थापनलाई आग्रह गरेका छन् ।
त्यस्तै उनले बिरामीले सहज, सम्मानजनक र गुणस्तरीय सेवा पाउने वातावरण सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याए । अस्पतालमा कार्यरत नन–मेडिकल स्टाफ तथा सुरक्षाकर्मीहरूलाई आधारभूत स्वास्थ्य सचेतना र आपतकालीन सहयोगसम्बन्धी तालिम दिनुपर्ने सुझाव पनि उनले दिएका छन् ।
सांसद थापाले भीम अस्पताललाई लुम्बिनी क्षेत्रकै स्तरीय र विश्वासिलो सरकारी अस्पतालका रूपमा विकास गर्न आवश्यक रहेको उल्लेख गर्दै यसको स्तरोन्नति, सेवा विस्तार र पूर्वाधार विकासका लागि आफू सधैँ प्रतिबद्ध रहने बताएका छन् ।
सांसद थापा आफै वरिष्ठ न्युरोलोजिष्ट हुन् । उनी फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही-३ बाट निर्वाचित भएका थिए ।







