नेपालमा स्वास्थ्य सेवा महँगो हुँदा वार्षिक पाँच लाख नेपाली गरिबीको रेखामुनि: डा कार्की

    • स्वास्थ्य पेज

  • २६ फाल्गुन २०८२, मंगलवार

काठमाडौं: नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले नेपालमा स्वास्थ्य सेवा महँगो हुँदा वार्षिक पाँच लाख नेपाली गरिबीको रेखामुनि पुगेको बताएकि छिन् ।

स्वास्थ्य पत्रकार मञ्च नेपालले मंगलबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले स्वास्थ्य सेवा र औषधिको उच्च लागतका कारण प्रत्येक वर्ष करिब पाँच लाख नेपाली गरिबीको रेखामुनि धकेलिने अवस्था रहेको बताइन् ।

उनले स्वास्थ्य उपचारका क्रममा नागरिकले गर्ने खर्चमध्ये झन्डै ६० प्रतिशत रकम औषधि मै खर्च हुने गरेको उल्लेख गरिन । नेपालमा औषधि सस्तो रहेको दाबी गरिए पनि व्यवहारमा नागरिकले ठूलो आर्थिक बोझ व्यहोर्नुपरेको उनको भनाइ छ । उनले औषधि र स्वास्थ्य सेवा दुवैलाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिइन् ।

कम गुणस्तरका औषधि वितरण गर्नु र त्यसको प्रभावकारी नियमन नगर्नु गम्भीर अपराध भएको उनले बताइन् । यस्ता गतिविधिमा संलग्नलाई कडा कारबाही गर्नुपर्ने उनको भनाइ छ । उनले औषधि ऐनलाई पनि संसोधन गर्नुपर्ने बताउनु भयो । २०३५ सालमा बनेको औषधि ऐन अहिलेको समयानुकुल नभएको उनको तर्क छ ।

उनले नेतृत्वमा ईच्छाशक्ति नहुँदा र अनैतिक खेलका कारण कानुन संशोधनमा ढिलाइ हुने गरेको बताइन् । बिक्री-वितरण आचारसंहितालगायतको नीति लामो समयदेखि थन्किएर बसेको पनि उनको भनाइ छ । उनले ३५ वटा औषधि उत्पादनमा नेपाल आत्मनिर्भर भए पनि आवश्यक स्वीकृति र नीतिगत निर्णय नहुँदा उत्पादन रोकिएर बसेको जानकारी दिइन् ।

उनले आगामी सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आवश्यक कानुनी सुधार गर्ने जानकारी दिइन्। अब बन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले स्वास्थ्य क्षेत्रमा सेवकको भूमिका निर्वाह गर्ने उनले बताइन् । उनले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित केही परिषद् र समितिले काम नगरेको गुनासो आएको बताइन् ।

काम नगर्ने परिषद् तथा समितिलाई अब बन्ने सरकारले खारेज गर्ने र नयाँ बनाउने उनले बताइन् ।।

  • २६ फाल्गुन २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech