काठमाडौंः नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरले निःशुल्क सेवा उपलब्ध गराउने प्रस्ताव अघि सारेको छ।
साम्बाले आफ्नो घुँडाको पुनः शल्यक्रियाका लागि आर्थिक सहयोगको अपिल गरेलगत्तै ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रुद्र मरासिनीले यस्तो प्रतिबद्धता जनाएका हुन्।
‘पैसा खोज्दै विदेश जानु पर्दैन’ डा. मरासिनीले सञ्चार माध्यममा आएका समाचारप्रति स्वास्थ्य मन्त्री र सचिवको समेत ध्यानाकर्षण भएको जनाउँदै साम्बाको उपचार स्वदेशमै सम्भव रहेको जानकारी दिए।
‘घुँडाको लिगामेन्ट (ACL/PCL लगायत) को अपरेशन राष्ट्रिय ट्रमा सेन्टरमा नियमित र निकै सस्तो मूल्यमा हुँदै आएको छ,’ उनले भने, ‘हामीले थुप्रै खेलाडीहरूको सफल अपरेशन गरिसकेका छौँ। यसका लागि पैसा खोज्दै विदेश जानु पर्दैन।’
प्रमुख मेसु डा. मरासिनीले साम्बाले विश्वास गरेमा सेन्टरले उत्कृष्ट परिणामसहित पूर्ण रूपमा निःशुल्क शल्यक्रिया गर्न तयार रहेको जानकारी दिए।
यसअघि सोमबार साम्बाले एक सार्वजनिक सूचना जारी गर्दै आफू गम्भीर चोटका कारण सात हप्तादेखि मैदानबाहिर रहेको र पुनः शल्यक्रिया गर्नुपर्ने अवस्था आएको जानकारी दिएकी थिइन्। उनका अनुसार अघिल्लो पटक गरिएको एसीएल शल्यक्रियाको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको छ।







