कैलाली: सुदूरपश्चिम प्रदेशमा डेंगी सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ। स्वास्थ्य निर्देशनालय दिपायलको पछिल्लो तथ्याङ्क अनुसार विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेंगीबाट सङ्क्रमित हुनेको सङ्ख्या ७ हजार ६ सय ८३ पुगेको छ। स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार अघिल्ला वर्षहरूको तुलनामा सङ्क्रमणको ग्राफमा केही उतारचढाव देखिए पनि जोखिम भने अझै टर्न सकेको छैन।
तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिममा ३ हजार ३ सय ४९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो। आव २०८१/८२ मा यो सङ्ख्यामा सामान्य कमी आएर ३ हजार ३ सय १६ पुगे पनि जोखिम कायमै रह्यो। चालु आर्थिक वर्षको हालसम्म मात्रै प्रदेशमा १ हजार १८ जना डेङ्गुबाट प्रभावित भइसकेका छन्। अधिकृत जोशीका अनुसार विशेषगरी तराईका जिल्लाहरूमा यसको प्रभाव बढी देखिएको छ।
निर्देशनालयका अनुसार प्रदेशका कैलाली र कञ्चनपुर डेङ्गुबाट सबैभन्दा बढी प्रभावित जिल्ला हुन्। पछिल्लो समय जलवायु परिवर्तन र बढ्दो सहरीकरणका कारण तराईमा मात्र नभई पहाडी जिल्लाहरूमा समेत डेङ्गुका बिरामी फेला पर्न थालेका छन्। यो रोग ‘एडिस एजिप्टी’ जातको लामखुट्टेको टोकाइबाट सर्ने भएकाले यसको नियन्त्रणका लागि व्यक्तिगत सतर्कता र सचेतना नै मुख्य उपाय भएको स्वास्थ्यकर्मीहरूको भनाइ छ।







