बाँकेमा ९० प्रतिशत बढीले लगाए एचपीभी खोप

    • स्वास्थ्य पेज

  • १० फाल्गुन २०८२, आईतवार

नेपालगन्जः बाँकेमा पाठेघरको क्यान्सरविरुद्ध ९० प्रतिशत बढी किशोरीले एचपिभी खोप लगाएका छन् । स्वास्थ्य कार्यालय बाँकेका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोर्कण गिरीका अनुसार ९ स्थानीय तहमा ९१ प्रतिशत अर्थात् सात हजार सात सय ९७ जनाले पाठेघरको क्यान्सरविरुद्धको खोप लगाएका छन् ।

उनका अनुसार स्थानीय तहगत रूपमा नेपालगन्जमा उपमहानगरपालिकामा एक हजार नौ सय ९ जना, कोहलपुर नगरपालिकामा एक हजार सात सय जना, खजुरा गाउँपालिकामा एक हजार जना, जानकी गाउँपालिकामा छ सय ७० जना, नरैनापुर गाउँपालिकामा सात सय ३१ जनाले एचपीभी खोप लगाएका छन् ।

त्यसैगरी बैजनाथ गाउँपालिकामा आठ सय ८१ जना, राप्तीसोनारी गाउँपालिकामा पाँच सय ८० जना र डुडुवा गाउँपालिकामा तीन सय २६ जनाले खोप लगाएको गिरीले बताए ।  अन्य सबै पालिकामा खोप अभियान पूरा भएपनि नेपालगन्ज उपमहानगरपालिकामा भने भोलिसम्म खोप अभियान चल्ने पनि उनले बताए ।

स्वास्थ्य कार्यालयका अनुसार बाँकेमा माघ २५ गतेदेखि सुरु गरिएको सो खोप अभियान अन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ का किशोरी, विद्यालय बाहिरका १० वर्षका किशोरी र अघिल्लो वर्षको खोप अभियानमा छुटेका ७ देखि १० कक्षामा अध्ययनरत तथा विद्यालय बाहिरका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइएको छ ।

पाठेघरको मुखको क्यान्सर ‘एचपीभी (ह्युमन पपिलोमाभाइरस)’ बाट हुन्छ। यसका विभिन्न प्रजातिमध्ये ‘एचपीभी-१६’ र ‘एचपीभी-१८’ को बढी जोखिम हुन्छ। यही बढी जोखिम हुने भाइरस विरुद्ध अहिले खोप अभियान शुरू गरिएको छ।

यौनसम्पर्क हुन थालेपछि एचपीभी नामक भाइरस शरीरमा प्रवेश गर्छ। भाइरस प्रवेश गरेपछि खोपले सुरक्षा दिंदैन। त्यसैले भाइरस प्रवेश गर्नुअघि नै खोप लगाउनु उपयुक्त हुन्छ।

नेपालमा महिलामा बढी देखिने पाठेघरको मुखको क्यान्सर गराउन एचपीभीबाट हुने संक्रमण प्रमुख कारक पाइएको छ। यस विरुद्ध अहिले लगाउन थालिएको खोपले ८० प्रतिशत सुरक्षा दिन्छ अर्थात् क्यान्सर हुने सम्भावना ८० प्रतिशत कम हुन्छ।

महिलामा हुने क्यान्सरमध्ये सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सर हो। सबैभन्दा बढी मृत्यु पनि पाठेघरको क्यान्सरकै कारण हुने गरेको तथ्यांक छ।

त्यसैले खोप लगाउन जरूरी छ। यसले क्यान्सर हुनै नदिने गरी रोकथाम गर्न सघाउँछ।

  • १० फाल्गुन २०८२, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech