के हो सेतो दुबी, कुन अंगमा बढी देखिन्छ ? 

    • प्रा.डा. धर्मेन्द्र कर्ण

  • ८ फाल्गुन २०८२, शुक्रबार

हरेक मान्छेको शरीरमा कुनै न कुनै किसिमको रङ हुन्छ। शरीरमा कसरी रङ बन्छ ? यो जो कोहीलाई कौतुहल हुन सक्छ। आमाको पेटमा हुँदै एक किसिमको कोष बन्छ जसको नाम हो, मेलानोसाइट। जसले मेलालिन बनाउँछ। यो एक किसिमको केमिकल हो।

जसले छालालाई पूरै शरीरमा रङ दिन्छ। यो रङ जसको शरीरमा बढी हुन्छ त्यस्तो छालालाई कालो छाला भनिन्छ। र जसको छालामा कम हुन्छ त्यस्तो छालालाई गोरो छाला भनिन्छ। हामी नेपालीहरूको छाला मध्यम खालकोमा पर्दछ अर्थात् न कालो न गोरो। यस्तो अवस्थालाई आमरूपमा गहुँगोरो भनिन्छ।

कुनै पनि व्यक्तिहरूको छालामा रहेको समस्या बढी पनि हुन सक्छ र कम पनि हुन सक्छ। समस्या बढी भएमा कालो दाग भनिन्छ भने कम भएमा त्यसलाई सेतो दाग भनिन्छ। बोलीचालीको भाषामा त्यसलाई सेतो दुबी भनिन्छ। यदि संसारको तथ्यांक हेर्ने हो भने शून्य दशमलव ५ देखि २ प्रतिशत सोतो दुबी हुने व्यक्तिहरू छन्। नेपालको तथ्यांकअनुसार दिनप्रतिदिन बढदो क्रममा रहेको छ।

के हो सेतो दुबी ? 

सेतो दुबी एक प्रकारको छालामा हुने समस्या हो। जुन शरीरमा छालालाई रंग दिने कोषहरूको कमी भएर देखा पर्दछ। हरेक व्यक्तिको शरीरमा रोगसँग लड्ने क्षमता हुन्छ त्यो क्षमता कहिलेकाहीँ बढी भएर आफ्नै शरीरविरुद्ध पनि काम गर्ने हुन्छ। र, छालालाई रङ दिने कोषहरूलाई नष्ट गर्दछ। यो रोग जुनसुकै उमेरमा पनि आउन सक्दछ। तर सामान्यतया दुई उमेरसमूहमा बढी हुन सक्छ। जस्तै १० देखि २० वर्ष र ४० देखि ५० वर्षसम्मका व्यक्तिमा बढी देखा पर्छ। सेतो दुबीलाई रोग नै मानिँदैन। यो दुख्दैन, पोल्दैन। तर अरूले के भन्लान् ? भन्ने पिरमात्रै हो। वास्तवमा सेतो दुबी रोग हैन। अमेरिका र युरोपमा यसको उपचार पनि गरिँदैन किनभने यसलाई उपचार नगर्दा केही फरक पर्दैन।

कुन अंगमा बढी देखिन्छ ?

सेतो दुबी १० देखि ३० प्रतिशत वंशाणुगत हुन सक्छ। सेतो दुबी प्रायःजसो धेरै शरीरको चलिरहने अंगहरूमा देखा पर्दछ जस्तै आँखा, ओठ, कम्मर, कुइना, घुँडा। यो अरूलाई सर्ने व्यथा हैन तर आफ्नै जिउमा फैलिन सक्छ।

के गर्ने ?

सेतो दुबी हुने व्यक्तिले चोटपटक लाग्ने काम गर्नु हुँदैन। टाइट कपडा टाइट जुत्ताहरू लगाउनु हुँदैन। घाममा वस्तु फाइदाजनक मानिन्छ, तर नरम खालको घाममा मात्र। जस्तै, बिहान ८ बजे देखि ११ बजेसम्मको घाम र दिउँसो २ देखि ५ बजे बीचको घाम फाइदाजनक हुन्छ। तर, मध्याह्न १२ बजेदेखि २ बजेसम्मको घामले छालालाई असर गर्न सक्दछ। सेतो दुबी भएको व्यक्तिले जाँड, रक्सी र चुरोटबाहेक अन्य जुनसुकै खानेकुराहरू खान सकिन्छ।

सेतो दुबीको उपचार हुन्छ ?

सेतो दुबीको उपचार दुई किसिमको हुन्छ। एउटा खाने लगाउने र घाममा देखाउने हुन्छ भने अर्को मेसिनमा सेक्ने जसलाई फोटोथेरापी भनिन्छ। यो प्रविधि यतिसम्म सुरक्षित छ कि गर्भवती महिला र भर्खर जन्मेको बच्चालाई समेत दिन मिल्छ। यस प्रविधिबाट पनि निको भएन भने शल्यक्रिया गर्नुपर्ने आवश्यकता हुन सक्छ।

  • ८ फाल्गुन २०८२, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech