नेपालगन्जः प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणको विवरण उपलब्ध गराउन औषधि व्यवस्था विभागले १५ दिनको समय थप गरेको छ।
विभागले पुनः सूचना जारी गरी दोस्रो पटक समय थप गर्दै १५ दिनभित्र विवरण उपलब्ध गराउन स्वदेशी उत्पादक र पैठारी गर्ने फर्मलाई निर्देशन दिएको छ। यसअघि विभागले उक्त विवरण उपलब्ध गराउन एक महिना अघि सात दिनको समय दिएको थियो।
विभागले अर्थोपेडिक इम्प्लान्ट, इन भिट्रो डायग्नोस्टिक, अपरेशन थिएटरमा प्रयोग हुने र कार्डियोभास्कुलर, सर्जिकल कमोडिटिज जस्ता स्वास्थ्य सामग्री र उपकरण उत्पादन गर्ने स्वदेशी उत्पादक र पैठारी गर्ने फर्मलाई उक्त निर्देशन दिएको हो।
अधिकांशले विवरण उपलब्ध गराएपनि केही स्वदेशी उत्पादक तथा पैठारीकर्ताले सूचना प्राप्त नगरेका कारण विवरण अध्यावधिक गर्न नसकेको भन्दै पुनः सूचना जारी गरिएको विभागले जनाएको छ।
प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणको उत्पादन, निकासी, पैठारी वा बिक्रि वितरणमा गुणस्तर कायम गर्न र सोको प्रभावकारी अनुगमन तथा निरीक्षण गर्न विभागले प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरण सम्बन्धी निर्देशिका २०७४ जारी गरेको छ। सोही निर्देशिका अनुसार यो सूचना जारी भएको विवरण विभागमा उपलब्ध गराउन विभागले भनेको हो।








