कोहलपुरः कौशल्या मेमोरियल अस्पताल प्रालि र नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको संयुक्त आयोजनामा पत्रकारहरूको स्वास्थ्य जाँचका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ ।
माघ १० गते शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने यस शिविर कौशल्या मेमोरियल अस्पतालकै सुविधामा हुने छ । कार्यक्रममा विशेषज्ञ डाक्टरहरूद्वारा विभिन्न स्वास्थ्य परीक्षण गरिनेछ ।
शिविरमा सहभागी पत्रकारहरूले हेमोग्राम, आरबीएस, आएएफटी, लिपिड प्रोफाइल, ब्लड ग्रुप, इसिजी, युएसजिलगायतका परीक्षण गराउन सक्नेछन् । यस्ता सेवाहरूमा सहभागी पत्रकारहरूलाई ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको छ ।
नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका उपाध्यक्ष जयसिंह केसीले पत्रकारहरूको स्वास्थ्य र जीवनशैलीलाई ध्यानमा राखेर यो शिविर आयोजना गरिएको जानकारी दिए ।
उनले भने, ‘पत्रकारहरू प्रायः अत्यधिक काम र समयको कमीका कारण स्वास्थ्य परीक्षण गर्न पाउँदैनन् । यस कारणले उनीहरूको स्वास्थ्यमा समस्या आउने सम्भावना बढ्छ । त्यसैले समयमै स्वास्थ्य जाँच गर्न यो शिविर अत्यन्त उपयोगी हुने विश्वास छ ।’
कार्यक्रम आयोजकहरूले सबै पत्रकारहरूलाई स्वास्थ्य जाँच गराउन समयमै शिविरमा उपस्थित हुन आग्रह गरेका छन् ।
साथै, आफ्नो स्वास्थ्यप्रति सचेत रहन र नियमित जाँच गराउन सबैलाई प्रेरित गर्ने उद्देश्यले पनि यो कार्यक्रम आयोजना गरिएको छ । शिविरले पत्रकारहरूको स्वास्थ्य सुधारका साथै उनीहरूको जीवनशैलीमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।







