नेपालगन्जः लामो समयदेखि बिमितको उपचार गरेवापतको रकम भुक्तानी नपाएपछि अस्पतालहरु बीमा कार्यक्रम बन्द गर्ने अवस्थामा पुग्न थालेका छन् । यसबाट बिमित नागरिक त सेवाबाट वञ्चित हुने छन् नै, स्वास्थ्य बीमा कार्यक्रम नै अलपत्र पर्ने जोखिम बढेको छ ।
बिमा बोर्डबाट भुक्तानी नआएपछि भेरी अस्पतालको बीमा सेवा पनि प्रभावित हुने अवस्थामा पुगेको छ । बीमा र विपन्न नागरिक कार्यक्रमबाफतको करिव १५ करोड रकम भुक्तानी नहुँदा सेवा प्रवाह नै अवरुद्ध हुने अवस्थामा पुगेको हो ।
अस्पतालले गत वैशाखदेखि मंसिर मसान्तसम्म २८ करोड वीमा रकम दावी गरेको थियो । त्यसमा १४ करोडमात्रै स्वीकृत भएको छ । स्वीकृत रकममा पनि अझै ६ करोड आएको छैन । विपन्न कार्यक्रम तर्फको ४ करोड रुपैयाँ समेत भुक्तानी भएको छैन ।
अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदीका अनुसार मंसिरसम्मको करिब १५ करोड रकम हालसम्म भुक्तानी भएको छैन । बिमा बोर्डलाई पटक–पटक पत्राचार गरी भुक्तानीको माग गरिए पनि हालसम्म ठूलो रकम अड्किएर बसेको र यसले अस्पताललाई आर्थिक संकटतर्फ धकलिदिएका डा.सुवेदीले बताए ।
यसले बीमामार्फत प्रदान गरिने उपचार सेवामात्र नभएर अस्पतालले प्रवाह गर्ने अन्य सेवालाई समेत प्रभावित पार्न सक्ने खतरा बढेको छ । बीमा रकम भुक्तानी ढिलाइले डायलाइसिस, क्याथल्याव, आमा सुरक्षा कार्यक्रम अन्तर्गत डेलिभरी र शल्यक्रिया जस्ता अत्यावश्यक सेवा प्रभावित हुने अवस्थामा पुगेको छ ।
प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.सुवेदी भन्छन्–‘डायलाइसिस सेवा त एक हप्तामात्रै चल्ने अवस्था छ । त्यसपछि बन्द हुन्छ ।’ बीमा सेवा बाफतको करोडौँ रुपैयाँ भुक्तानी नहुँदा औषधि आपूर्तिकर्ताहरुले औषधि तथा औषधिजन्य सामग्री उपलब्ध गराउन नसक्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।
स्वास्थ्य बीमा गरेका नागरिकको उपचार गरेवापतको रकम अस्पतालले दाबी गरेपछि स्वास्थ्य बीमा बोर्डले अस्पताललाई भुक्तानी गर्नुपर्छ । तर सरकारबाट अनुदान नै नपाएपछि बोर्डले सेवा प्रदायक संस्थालाई भुक्तानी दिन सकेको छैन । बिमितको संख्या बढ्दै जाँदा सरकारले विनियोजन गरेको रकम अपुग भएकाले समयमै भुक्तानी दिन नसकिएको बोर्डका निर्देशक डा.रघुराज काफ्ले बताउँछन् ।







