काठमाडौं : नेपाल फार्मेसी संघले अस्पतालमा कार्यरत फार्मासिस्ट तथा फार्मेसी सहायकलाई न्यूनतम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
संघले नर्स तथा स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक तथा सेवासुविधा सम्बन्धी माग सम्बोधनका लागि गठित कार्यदलको प्रतिवेदन २०८२ अनुसार देशभरीका अधिकांश अस्पतालहरुमा नर्सहरुको पारिश्रमिक तथा सेवा सुविधामा वृद्धि भएको जानकारी आफुहरुले पाएको तर सोही अस्पतालमा कार्यरत फर्मासिस्ट तथा फार्मेसी सहायकहरुको हकमा भने हालसम्म कुनै पनि सेवा सुविधामा वृद्धि नभएको भन्दै संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको ध्यानाकर्षण गराएको हो ।
ध्यानाकर्षण पत्रमा भनिएको छ, “फार्मेसी सेवा समग्र स्वास्थ्य सेवाको अत्यन्त संवेदनशील र महत्वपूर्ण पक्ष हो । औषधिको सुरक्षित व्यवस्थापन, वितरण तथा प्रयोग सुनिश्चित गर्ने जिम्मेवारीमा रहेको फार्मासिस्ट तथा फार्मेसी सहायकहरूलाई समान तहमा कार्यरत नर्सहरूको पारिश्रमिक वृद्धि हुँदा पनि बेवास्ता गरिनु दुःख र विडम्बनापूर्ण अवस्था हो।’
संघले अस्पतालमा कार्यरत फार्मासिस्ट तथा फार्मेसी सहायकहरूको तलव र सेवा सुविधा वृद्धि गर्ने सम्बन्धमा परिपत्र जारी गर्न स्वास्थ्य मन्त्रीसमक्ष माग राखेको छ ।








