बाँकेबाट प्रतिनिधित्व गर्दै एनएमएको वरिष्ठ उपाध्यक्ष पदको उम्मेदवार बने डा.कीर्तिपाल !

सेवामात्र होइन, पेशागत अधिकारको सवालमा पनि सक्रिय डा.सुवेदी हाल आफ्नो पेशागत संगठन एनएमएमार्फत चिकित्सकहरुको हक–अधिकारका लागि आवाज उठाउँदै चुनावी मैदानमा होमिएका छन् ।


    • प्रियास्मृति ढकाल

  • २ पुष २०८२, बुधबार

नेपालगन्जः नेपाल चिकित्सक संघ (एनएमए)को आसन्न निर्वाचनमा बाँकेबाट डा.कीर्तिपाल सुवेदी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.सुवेदीले एनएमएको वरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेदवारी दिएका हुन् । एनएमएको माघ २ र ३ गते उपत्यका बाहिर र माघ १५, १६ र १७ गते उपत्यकाभित्र मतदान हुने गरी आज उम्मेदवारी दर्ता भएको हो ।

मनोनयन दर्तापछि डा.सुवेदीले स्वास्थ्यपेजसँगको कुराकानीमा नेपाल चिकित्सक संघलाई केवल औपचारिक संस्था नभई चिकित्सकहरुको आस्था र भरोसाको केन्द्र बनाउने आफ्नो लक्ष्य रहेको बताए । चिकित्सकका जायज एजेन्डालाई सरकारसँग प्रभावकारी रुपमा उठाउने, नीतिगत तहमा बलियो समन्वय गर्ने तथा चिकित्सकको बढ्दो विदेश पलायन रोक्न ठोस पहल गर्न एनएमए अझ सक्रिय हुनुपर्ने उनको भनाइ छ।

हालसम्म एनएमएले नीतिगत सुधारका सवालमा अपेक्षित प्रभाव देखाउन नसकेको उल्लेख गर्दै डा.सुवेदीले त्यसमा संस्थागत सुधार र परिणाममुखी नेतृत्व अपरिहार्य रहेको बताए। यही उद्देश्यका साथ उनले डा.मंगल रावल नेतृत्वको प्यानलबाट उम्मेदवारी दिएको पनि उनले बताए । उनका अनुसार चिकित्सकको पेशागत हकहितको संरक्षण, सम्मानजनक पारिश्रमिक, सुरक्षित कार्य वातावरण सुनिश्चित गर्नुका साथै पछिल्लो समय कमजोर बन्दै गएको जनविश्वास पुनर्स्थापना आजको मुख्य चुनौती हो ।

नैतिकता, नेतृत्व क्षमता, स्पष्ट भिजन र काम गरेर देखाउने इच्छाशक्ति भएका चिकित्सकहको टिमसहित निर्वाचनमा होम्मिएको पनि उनले बताए । करिव चार वर्ष अघि थापाथलीस्थित प्रसूति गृह अस्पतालमा हुँदा डा.सुवेदीले पाँचवटा बच्चा पेटमा भएको गर्भवतीको शल्यक्रिया गरेपछि निकै चर्चा कमाएका थिए ।

२०७९ भदौंदेखि भेरी अस्पतालमा कार्यरत उनी अब्बल प्रसूति तथा स्त्रीरोग विज्ञका रुपमा चिनिन्छन् । भेरी अस्पतालमा हाजिर भए लगत्तै उनले ल्याप्रोस्कोपिक सर्जरीमार्फत सेवा प्रारम्भ गरेका थिए ।

को हुन् डा.कीर्तिपाल सुवेदी ?

२०४० साल साउनमा दाङको घोराही उपमहानगरपालिका–१४ मा जन्मिए डा.सुवेदी । उनले २०५६ सालमा घोराहीस्थित दीपशिखा माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरे । त्यसपछि २०५८ सालमा लैनचौरस्थित निस्ट उच्च माध्यमिक विद्यालयबाट उच्च माध्यमिक तह पूरा गरे । उच्च शिक्षा हासिल गर्ने क्रममा उनले नेपाल मेडिकल कलेजमा एमबीबीएस अध्ययनका लागि भर्ना भई २०६४ सालमा स्नातक तह पूरा गरे । चिकित्सा क्षेत्रमा थप विशेषज्ञता हासिल गर्ने लक्ष्यसहित उनले २०७३ सालमा त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल)बाट प्रसूति तथा स्त्रीरोग विषयमा एमडी गरे ।

डा.सुवेदीले २०६६ सालदेखि तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताल, घोराहीबाट सरकारी सेवाको सुरुआत गरे । त्यसपछि उनले चितवनको खैरेनी प्राथमिक स्वास्थ्य केन्द्र, भरतपुर अस्पताल र प्रसूति गृह अस्पतालमा रहेर सेवाको अनुभव सँगाले । हाल दशौं तहका चिकित्सकका रुपमा कार्यरत उनी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् । डा.सुवेदी चिकित्सक बन्नु र विशेषगरी महिलाको स्वास्थ्य क्षेत्रमा समर्पित हुनुको पछाडि पारिवारिक प्रेरणा जोडिएको छ । उनकी आमा पूर्णा सुवेदी नर्स थिइन् । आमाको पेशा र सेवाभावले उनलाई महिलाका स्वास्थ्य समस्या नजिकबाट बुझ्ने अवसर दियो, जसले उनलाई यही क्षेत्रमा विशेषज्ञ बन्न प्रेरित गर्‍यो ।

डाक्टर बन्ने चाहना कसरी जन्मियो भन्ने प्रश्नमा डा. सुवेदी सहज रुपमा भन्छन्–‘मेरो घर नजिकै अस्पताल थियो । सानैदेखि त्यहाँको वातावरण देख्दै हुर्किएँ, त्यसैले डाक्टर बन्ने चाहना स्वाभाविक रुपमा विकसित भयो ।’ अस्पतालमा नियमित सेवा दिनुका साथै डा.सुवेदी विभिन्न विकट क्षेत्रहरुमा पुगेर निःशुल्क स्वास्थ्य शिविरमार्फत सेवा दिँदै आएका छन् । उनी अझै पनि धेरै महिला दिदीबहिनीहरु आफ्ना स्वास्थ्य समस्या लुकाएर बस्ने गरेको देखिन्छ भन्छन् ।

‘सही समयमा विशेषज्ञ चिकित्सकसँग खुलेर समस्या राख्न सकियो भने धेरैजसो रोगको समाधान सम्भव हुन्छ’ उनी जोड दिन्छन् । करिब दुई दशकको चिकित्सकीय अनुभवका आधारमा डा.सुवेदी भन्छन्–‘महिलाहरूले खुलेर समस्या व्यक्त गर्न नसक्दा धेरैजसो अवस्थामा रोग जटिल बन्दै गएको हुन्छ ।’ उनका अनुसार अधिकांश महिलामा पाठेघरसम्बन्धी समस्या देखिने गरेको छ ।

सेवामात्र होइन, पेशागत अधिकारको सवालमा पनि सक्रिय डा.सुवेदी हाल आफ्नो पेशागत संगठन एनएमएमार्फत चिकित्सकहरुको हक–अधिकारका लागि आवाज उठाउँदै चुनावी मैदानमा होमिएका छन् । डा.सुवेदी यसअघि सरकारी चिकित्सक संघ नेपालको महासचिवको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् ।

  • २ पुष २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech