भेरी अस्पतालमा नेपालमै पहिलो पटक नबजात शिशुको निःशुल्क सिकलसेल परीक्षण सुरु

    • स्वास्थ्य पेज

  • २ पुष २०८२, बुधबार

नेपालगन्जः भेरी अस्पतालमा नबजात शिशुको निःशुल्क सिकलसेल जाँच सुरु भएको छ । अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा सिकलसेल विज्ञ सह प्रा.डा राजन पाण्डेका अनुसार भेरी अस्पतालमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक मेशिन (Bio–Rad VARIANT™ nbs System) प्रयोग गरी नवजात शिशुमा सिकलसेल रोगको निःशुल्क परीक्षण सेवा सुरु गरिएको हो ।

उनले भने-‘नयाँ मेसिन जडान भएसँगै जन्मेको २४ घण्टापछि र पाँच दिनभित्र निःशुल्क जाँच गरिए सिकलसेल एनिमिया भएनभएको पुष्टि गर्न सकिन्छ ।’  साथै शिशु नौ महिना पूरा भई दादुरा–रुबेला खोपको पहिलो डोज लगाउने समयमा पुनः परीक्षण गरी सिकलसेल, बिटा थालेसिमिया तथा अन्य हेमोग्लोबिनोप्याथी भए–नभएको थप पुष्टि सकिने समेत उनले बताए ।

Prenatal diagnosis Bone Marrow Transplantation बाहेक, हेमोग्लोबिनोप्याथीको समग्र (Comprehensive) उपचार तथा हेरचाहसम्बन्धी अधिकांश सेवाहरु अज भेरी अस्पतालमै सहज रुपमा प्राप्त हुने पनि उनले बताए । उनले भने–‘यो सेवाबाट सिकलसेल तथा अन्य रक्तसम्बन्धी वंशानुगत रोगको समयमै पहिचान, उपचार र दीर्घकालीन व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्नेछ ।’

प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा सिकलसेल विज्ञ सह प्रा.डा.राजन पाण्डे

सह–प्रा.डा.पाण्डे सिकलसेल एनिमिया रोगको परीक्षण र उपचारमा असाधारण उपलब्धि मिलेको बताउँछन् । २०७३ साल साउनसम्म नेपालमा सिकलसेल एनिमिया रोग भएको वा नभएको पत्ता लगाउन रगत परीक्षण गर्ने सुविधा थिएन । त्यसका लागि रगतको नमूना भारत पठाउनुपर्ने बाध्यता थियो । प्रत्येक परीक्षणमा बिरामीले २ हजारदेखि २५ सय रुपैयाँसम्म तिर्नुपथ्र्यो, जुन न्यून आर्थिक अवस्था भएका थारु समुदायका लागि ठूलो रकम मानिन्थ्यो । त्यसमा पनि प्रयोगशालाको रिपोर्ट आउन कम्तीमा एक सातासम्म पर्खनुपथ्र्यो ।

रोग पत्ता नलाग्दा बिरामीहरु देश–विदेशका अस्पताल धाउनुपर्ने, ठूलो खर्च बेहोर्नुपर्ने र असह्य दुःख सहनुपर्ने अवस्था थियो । अव शिशुमै यसको निःशुल्क परीक्षण हुने भएपछि थारु समुदायलाई ठूलो लाभ दिएको उनी बताउँछन् । सरकारले सिकलसेल एनिमियाका बिरामीलाई उपचारमा सहयोगस्वरुप वर्षमै २ लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको छ । यसअघि बाँचुञ्जेल एक लाख मात्रै उपचार खर्च दिँदै आएको थियो ।

  • २ पुष २०८२, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech