मानसिक स्वास्थ्य भन्नाले मानिसको मनोवैज्ञानिक, भावनात्मक र सामाजिक स्थिरतालाई जनाउँछ । यसले कसरी हामी सोच्दछौं, महसुस गर्दछौं, व्यवहार गर्छौं, तनाव व्यवस्थापन गर्छौं, सम्बन्ध बनाउँछौं र जीवनका चुनौतीहरुको सामना गर्छौं भन्ने कुरामा असर पार्दछ । पछिल्लो समय समुदायस्तरमा मानसिक स्वास्थ्य पनि जटिल समस्याका रुपमा बढ्दै गएको छ । मानसिक स्वास्थ्यको अवस्था, रोकथामका लागि भएका प्रयास र चुनौतीबारे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका मानसिक रोग विशेषज्ञ प्रा.डा.मोहन बेल्बासेसँग गरिएको कुराकानीको सम्पादित अंश
वर्तमान समयमा मानसिक स्वास्थ्य समस्याको अवस्था कस्तो छ ?
पछिल्लो समय मानिसमा बढ्दो चेतनाको स्तर र चिकित्सकहरूको उपलब्धता बढ्दै गएका कारण परामर्श तथा उपचार लिनुपर्छ भन्ने मानसिकता बढ्दै गएको छ । पहिले देविदेउता लागेको हो कि भनेर धामीझाँक्रीकहाँ जाने चलन थियो । तर, अहिले चिकित्सकहरूसँग भेट्ने क्रम बढेको छ । अरु स्वास्थ्य सेवासँगको तुलना गर्दा मानसिक स्वास्थ्य धेरै पछाडि छ ।
कस्ता उमेर समूहका व्यक्तिहरु मानसिक समस्यासँग बढी जुधिरहेका छन् ?
जुनसुकै उमेर समूहका व्यक्ति पनि मानसिक समस्यासँग जुध्ने जोखिम रहन्छ । विशेषगरी साना केटाकेटीमा कम हुन्छ । किनभने साना केटाकेटीले परिवारको माया, ममता बढी पाउने र अरु त्यस्तो तनाव पनि नहुने भएकाले उनीहरुमा खासै समस्या हुँदैन । तर, जो बच्चा दुःख पाएका छन्, आमाबुवासँग सँगै बस्न पाएका छैनन्, घर र विद्यालयमा गाह्रो पारिन्छ त्यस्ता बच्चाहरुलाई मानसिक रोग नहोला भन्न सकिँदैन । युवा पुस्तामा बढी हुन्छ । ४० देखि ६० वर्ष उमेर समूहमा त झन् बढी मानसिक समस्या हुने गरेको देखिएको छ । वृद्धवृद्धामा पनि मानसिक रोगको समस्या देखिएको छ । यसमा कुन उमेर समूहमा कस्तो रोग लाग्न सक्छ भन्ने कुरा हुन्छ । जस्तो विर्सने समस्या छ भने त्यो ६० वर्ष माथिकालाई हुने गरेको छ । डिप्रेसनको कुरा गर्ने हो भने महिलामा दोब्बर हुने गरेको छ । आत्महत्याको प्रयास गर्नेको कुरा गर्ने हो भने पुरुषहरुले सफल आत्महत्या गर्छन् भने महिलाहरुले धेरै प्रयास गरेको पाइएको छ ।
कुन–कुन मानसिक समस्याबाट व्यक्ति बढी पीडित छन् ?
डिप्रेसन सबैभन्दा बढी देखिन्छ । डिप्रेसनमा मानिसको मन उदास, दुःखी र निराश हुने गर्दछ । एक्लै बस्न मन लाग्ने, आफैँ एक्लो भएको महसुस हुने र होप्लेस फिल हुने लक्षण देखा पर्छ । कहिलेकाहीँ यस अवस्थामा “बाँचेर काम छैन” जस्ता आत्महत्यासम्बन्धि विचार पनि आउन सक्छन् । अर्को कुरा, डिप्रेसनमा बढी निद्रा लाग्ने, बढी भोक लाग्ने, बढी यौन इच्छा लाग्ने जस्ता उल्टो खालका लक्षण पनि देखिन्छन् । केहीमा भने कम निद्रा लाग्ने र कम भोक लाग्ने डिप्रेसन पनि देखिन्छ ।
म आफू मानसिक समस्यामा छु भनेर कसरी पत्ता लगाउने ?
यसमा दुई किसिमका मानसिक रोगको समस्या बुझ्न आवश्यक छ । पहिलो भनेको कडा खालको मानसिक रोग हो । यसमा मानिसले “म बिरामी हुँ” भन्ने कुरा बुझ्दैन । अर्को भनेको न्यूरोटिक स्पेक्ट्रममा पर्ने रोगहरू हुन्, जस्तै डिप्रेसन, इन्जाइटी डिसअर्डर, ओसिडी, फोबिया आदि । यी रोगहरुमा बिरामीलाई आफ्नै समस्या थाहा हुन्छ, तर अरूलाई थाहा हुँदैन । “मलाई छ” भन्ने कुरा बिरामीले राम्ररी बुझ्न सक्छ ।
सकेसम्म रोग लाग्न नदिनु नै मुख्य लक्ष्य हो । त्यसका लागि पारिवारिक संरचनामा ध्यान दिन आवश्यक छ । बुवा–आमा र छोराछोरी सँगै बस्ने अवस्था भएमा पारिवारिक समर्थन हुने भएकाले मानसिक समस्याको जोखिम कम हुन्छ । अहिले श्रीमान–श्रीमती सँगै नभएको अवस्था छ । हुन त यो आर्थिक कारणले पनि हुन सक्छ । कसैलाई अन्याय पर्न दिनु हुँदैन । दुव्यर्वहारमा पर्न दिनु हुँदैन । यी कुरालाई व्यवस्थापन गर्न सकियो भने मानसिक समस्या बढ्दैन । खानेकुराले पनि मानसिक स्वास्थ्यमा असर गर्छ । जस्तै, पर्याप्त पोषण प्राप्त हुने खानपिनलाई प्रोत्साहन दिन सकिन्छ । कतिपयलाई भिटामिन डी र आयोडिनको कमीले पनि मानसिक स्वास्थ्यमा समस्या ल्याउन सक्छ । थाइराइडको गडबडीले पनि समस्या निम्त्याउन सक्छ । यी कुराहरुलाई सम्बोधन गर्ने गरी ध्यान दिन आवश्यक छ ।

स्वास्थ्यपेजका लागि मानसिक स्वास्थ्यका कुराकानी गनुहुदै डा.बेल्बासे र स्वास्थ्यपेजकर्मी प्रियास्मृति ढकाल
मानसिक समस्या अरु रोग जस्तै हो भन्ने कुरा आम नागरिकले बुझ्न सकेका छैनन् । यो सबैभन्दा ठूलो चुनौती हो । रोग पहिचान भएका बिरामीले पनि नियमित र पूरा डोजमा औषधि नखाने गर्नु समस्याको रूपमा देखा पर्छ । किनभने यस रोगको औषधि अलि लामो समयसम्म लिनु पर्छ । अर्को चुनौती भनेको मानसिक स्वास्थ्य समस्या भएका बिरामीका लागि औषधि महँगो हुनु हो । मानसिक स्वास्थ्य समस्या भएका बिरामीलाई निद्रा नलाग्ने, रिस उठ्ने, दिक्क लाग्ने जस्ता समस्या हुने भएकाले त्यसलाई व्यवस्थापन गर्न तीन–चार वटा औषधि दिनु पर्छ । यस्तो अवस्थामा औषधि अझ महँगो पर्छ र लामो समयसम्म सेवन गर्नु पर्ने अवस्था आउँदा समस्या अझ चुनौतीपूर्ण बन्छ ।
राज्यले मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न ल्याएको रणनीति के छ र यसको कार्यान्वयनको अवस्था कस्तो छ ?
रणनीति बनेको छ । नहुनु भन्दा भएको राम्रो हो । तर, त्यसको प्रभावकारिता देखिएको छैन । रणनीतिमा प्रत्येक जिल्ला अस्पतालमा मानसिक रोग विशेषज्ञ हुनुपर्छ भन्ने छ । तर, त्यो कागजमै सीमित छ । हुन त राज्यको काम सबै क्षेत्रमा ढिलासुस्ती नै छ । विस्तारै कार्यान्वयन होला आशा गरौं । शारिरीक रोग जस्तै महामारी फैलिएर मानिसको मृत्यु भयो भने त्यसले ठूलो ठाउँ पाउँछ । र, तत्काल रेस्पोन्स हुन्छ । तर, मानसिक रोगमा गएको मान्छे तत्काल मर्दैन । मरे पनि झुन्डिएर, विष खाएर मर्ला । मरे पनि उसैलाई दोष लगाउने चलन छ । मानसिक रोगीहरु समूह बनाएर राज्यविरुद्ध आन्दोलन गर्ने अवस्था पनि रहेन । त्यो भएर राज्यले मानसिक स्वास्थ्य समस्यालाई नसुकेको जस्तो देखिन्छ । मानसिक स्वास्थ्य समस्याका बारेमा विभिन्न संघसंस्था, स्वास्थ्यकर्मी र चिकित्सकहरुको दवावले मात्रै राज्यले केही नीतिहरु बनाए जस्तै लाग्छ ।
फेरिदो जीवनशैली र तीब्र महत्वकांक्षा मानसिक समस्याका कारण हुन सक्छन् कि ?
तपाईंले भन्नु भएको कुरा एकदम ठिक हो । मानसिक रोग हुनुको कारण बायोसाइको–सोसियल मोडलले व्याख्या गर्छ । यसमा बायोलोजिकल, साइकोलोजिकल र सोसियल कारणहरू पर्दछन् । बायोलोजिकल कारण जन्मजात हुने कुरा हो । बाबुआमालाई भएको मानसिक समस्या छोराछोरीमा पनि देखिन सक्छ । यसलाई रोक्न सकिँदैन । दोस्रो भनेको साइकोलोजिकल कारण हो । यसमा तनाव, स्ट्रेस, महत्वाकाङक्षा, अरूको जीवनशैलीको नक्कल गर्न खोज्ने, छिटो धनी हुन खोज्ने, पारिवारिक तनाव जस्ता कारणले मानसिक रोग उत्पन्न हुन्छ । तेस्रो भनेको सोसियल कारण हो । तत्कालीन माओवादी द्वन्दकालमा धेरै व्यक्तिहरूमा तनाव र डरको अवस्था सिर्जना भयो । त्यसले डिप्रेसन र एन्जाइटी बढाएको थियो । हालै मात्र जेनजीको आन्दोलनमा धेरै परिवारले आफ्नो सन्तान गुमाए । यसले केवल परिवार मात्र होइन, समाजलाई पनि डिप्रेसनमा धकेलेको छ ।
समुदायस्तरमा मानसिक रोगको अवस्था भयावह नै छ भनिन्छ, तर चिकित्सककहाँ पुग्नेको अवस्था कस्तो छ ?
चिकित्सकसँग आएर उपचार पाउनेहरुको अवस्था राम्रो नै छ । तर, नियमित औषधि नखाने समस्या अलि बढी देखिन्छ । सामान्यतया केशहरूमा १–२ महिना औषधि खाए पर्याप्त हुन्छ, अर्थात कन्ट्रोलमा राख्न सकिन्छ । तर, टाइफाइडको औषधि जस्तै ५–७ दिन खाएर निको भएपछि छोड्ने बानी मानसिक रोगको औषधिमा पनि देखिन्छ । यस्तो गर्दा मानसिक रोग फेरि बल्झिएर आउने केशहरू धेरै छन् । पछिल्लो समय धामी–झाँक्रीहरू आफैँ पनि बिरामीलाई चिकित्सककहाँ पठाउने गरेका छन् । यसले चेतनाको स्तर बढेको देखाउँछ ।
मानसिक रुपमा स्वस्थ रहनका लागि हामी के गर्न सक्छौं ?
मानसिक स्वस्थताका लागि हामीले हिजो र भोलीको चिन्ता आज गर्न छाड्नुपर्छ । अहिले जे गर्नुपर्नेछ, त्यसैमा मात्र ध्यान दिनुपर्छ । हिजोको दुःख–पीडा सम्झनु हुँदैन र भोली के होला भनेर डर वा चिन्ता लिनु हुँदैन । हालको दैनिकीमा रमाउने, भएको कुरा मान्ने र त्यसमा खुसी हुने, उपलब्ध स्रोतलाई मिलाएर उपयोग गर्ने वातावरण बनाउने हो भने आधा मानसिक रोग हराएर जान्छ ।







