राजनीतिक छायाबाट एनएमएलाई मुक्त बनाउन चाहान्छुः डा मंगल रावल

विगत २० वर्षको नेतृत्व चयन हेर्नुभयो भने सरकारी कर्मचारीको बढुवाजस्तै देखिन्छ—सदस्य, सहकोषाध्यक्ष, कोषाध्यक्ष, सहसचिव, सचिव, उपाध्यक्ष, अध्यक्ष... यही तरिकाले नेतृत्व आइरहेको छ । त्यो ठीक होइन । नेपालभरिका चिकित्सकमध्ये ‘राम्रो कसले गर्छ ?’ त्यो व्यक्ति नेतृत्वमा आउनुपर्ने हो ।


    • प्रियास्मृति ढकाल

  • २५ मंसिर २०८२, बिहीबार

नेपालगन्जः नेपाल चिकित्सक संघ (एनएमए)को वर्तमान कार्यसमितिको कार्यकाल सकिँदै छ । आगामी माघमा नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार माघ २ र ३ गते उपत्यका बाहिर र माघ १५, १६ र १७ गते उपत्यकाभित्र चुनाव हुने भएको छ । वर्तमान कार्यसमितिको कार्यकाल सकिनै लाग्दा चिकित्सा क्षेत्रमा संघको आगामी निर्वाचनमा कुन पदमा कस–कसको उम्मेदवारी रहन्छ भन्ने विषयमा चासो व्यक्त हुन थालेको छ । तर डा मंगल रावलले आफ्नो उम्मेदवारी घोषणा गरेर चुनावी अभियानमा आफुलाई होमिसकेका छन् । दुर्गम कर्णालीका चिकित्सकमाझ मात्र नभई, नेपालभरिका युवा चिकित्सकहरुको केन्द्रमा परेका छन् डा. मंगल रावल ।

कर्णाली प्रदेश सरकारका सल्लाहकार हुँदा होस् वा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति हुँदा, उनले गरेका नीतिगत सुधारहरुको व्यापक प्रशंसा हुँदै आएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको रेसिडेन्ट एशोसिएसन अफ न्याम्स (र्‍यान) का अध्यक्ष हुँदै काठमाडौंका युवा चिकित्सकमाझ पहिचान बनाएका डा. मंगललाई धेरैले ‘कर्णालीका दुर्गम वस्तीमा विशेषज्ञ सेवा पुर्‍याउने म्याराथन धावक’ का रुपमा पनि चिन्ने गर्छन् ।

रेसिडेन्ट एशोसिएसन अफ न्याम्सका ३–४ सय सदस्यमध्येबाट प्रत्यक्ष निर्वाचित अध्यक्ष बन्ने पहिलो व्यक्ति हुन् डा. मंगल । त्यसअघि कहिल्यै निर्वाचित अध्यक्ष हुने परम्परा थिएन । न्याम्समा तेस्रो वर्षका विद्यार्थी नै अध्यक्ष हुनुपर्ने मान्यता थियो, तर डा. मंगलले त्यो परम्परा तोड्दै दोस्रो वर्षमै अध्यक्ष निर्वाचित भए र नेतृत्व सम्हाले । अब प्रश्न छ- के उनले एनएमएको निर्वाचनमा पनि न्याम्सकै ‘चमत्कार’ दोहोर्याउन सक्लान ? यो धेरैको चासोको विषय बनेको छ । अध्यक्ष पदका प्रत्याशी उनै डा मंगल रावलसँग चुनावी अभियानमा केन्द्रित भई स्वास्थ्यपेजका लागि प्रियास्मृति ढकालले गरेको कुराकानीको सम्पादित अंशः

चुनावी अभियान कस्तो चल्दैछ ?
चुनावी प्रचारकै निमित्त अभियान अझै सुरु गरेको छैन । जुम्ला, कालिकोट, दैलेख, सुर्खेत, नेपालगन्ज, दाङ, बुटवल–भैरहवाका केही साथीहरुसँग भेटघाट गरेर अहिले काठमाडौंमा छु । टिम फाइनल गर्दैछु ।

कहिलेसम्म फाइनल गर्नुहुन्छ टिम ?
अहिले म अध्यक्षको रुपमा मात्रै घोषणा गरेर अघि बढेको हो । एनएमएको निर्वाचनमा राजनीतिक दल समर्थित प्यानल नै बनाएर चुनावमा जाने परम्परागत अभ्यास छ । त्यसबाट गतिलो काम गर्न नसकिएको जस्तो देखिन्छ । त्यसैले मेरो नेतृत्वमा विश्वास गर्ने टिम बन्छ । हिजो राम्रो गरेका, गर्न सक्ने हुटहुटी भएका, जुनसुकै विचारधाराका चिकित्सकहरुलाई गोलबद्ध बनाएर टिम बनाउँदै छु । यो टिमले सुधारका निमित्त काम गर्न सकेन भने अर्को कुनै पनि टिमले गर्नै सक्दैन भन्ने विश्वासयोग्य टिम बनाउन खोजेको छु । यस्तो टिममा अट्न सक्ने साथीहरुको पहिचान गर्ने काममा लागेको छु । केही दिनमा टिम फाइनल हुन्छ ।

तपाईंलाई त वामपन्थी चिकित्सकहरुको उम्मेदवार भनिरहेका छन् नि ?
एनएमएमा चिर्न खोजेकै राजनीतिक दलको ट्याग हो । मेडिकल फिल्डमा राम्रो नेतृत्व गर्न सक्ने टिम बनाउन खोज्दैछु । त्यहाँ वामपन्थी, दक्षिणपन्थी, मध्यपन्थी, पूर्वपन्थी, पश्चिमपन्थी सबै अट्छन् । नैतिकवान, नेतृत्व क्षमता भएका, कार्यक्रम गर्न सक्ने, क्षमता र भिजन भएका, साँचिकै एनएमएलाई माथि उकास्छु भन्ने डेडिकेटेड सोच भएका चिकित्सकको टिम बन्छ । ‘वामपन्थी’ भन्ने हुँदैन ।

विगत २० वर्षको नेतृत्व चयन हेर्नुभयो भने सरकारी कर्मचारीको बढुवाजस्तै देखिन्छ—सदस्य, सहकोषाध्यक्ष, कोषाध्यक्ष, सहसचिव, सचिव, उपाध्यक्ष, अध्यक्ष… यही तरिकाले नेतृत्व आइरहेको छ । त्यो ठीक होइन । नेपालभरिका चिकित्सकमध्ये ‘राम्रो कसले गर्छ ?’ त्यो व्यक्ति नेतृत्वमा आउनुपर्ने हो ।

तर तपाईंले जतिसुकै भने पनि एनएमएलाई राजनीतिक दलको अखडा भनेर बुझ्छन् ?
यो भाष्य बदल्नकै निमित्त म अगाडि बढेको हुँ । नेपाल चिकित्सक संघको नेतृत्वमा जाने तर काम भने जुन दलबाट निर्वाचित भएर गएको छ, त्यसैको मात्र गर्ने—यो संस्कृतिलाई तोड्नुपर्छ । जो–सुकै आए पनि कम्तीमा चिकित्सकको हितमा काम गर्ने नेतृत्व आउनुपर्छ भन्ने हो । चिकित्सकका एजेन्डालाई सरकारसँग लविङ गर्ने, नीतिगत तहमा समन्वय गर्ने, चिकित्सकको बढ्दो पलायन रोक्न नीतिगत रुपमा गर्न सकिने कुरामा एनएमएले प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ तर त्यो भइरहेको छैन । त्यसैले एनएमएलाई राजनीतिक अखडाका रुपमा बुझन्े काम भएको छ । यो गलत हो ।

तपाईं के एजेन्डा बोकेर चुनावी प्रतिस्पर्धामा उत्रिनु भएको हो ?
अबको एक हप्तामा हाम्रा योजनाहरु सार्वजनिक हुन्छन् । तर दुई–तीन वटा महत्वपूर्ण कुरामा एनएमएले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ भन्ने लाग्छ । मेडिकल फ्याकल्टी थप्ने सवाल होस्, चिकित्सकको करियर, स्यालरी सेक्युरिटीदेखि समग्र वृत्तिविकास मेरा पहिलो एजेन्डामा छन् । दोस्रो कुरा मेडिकल फ्याकल्टीसम्बन्धी नीति बनाउन सरकारसँग हस्तक्षेप गर्नुपर्छ । त्यो नगरी चिकित्सकमैत्री नीति आउँदैन । थप योजनाहरू सबै साथीहरुसँग बसेर सार्वजनिक गर्छौँ ।

एनएमएप्रति नवयुवा चिकित्सकहरुको विश्वास नै छैन नि अहिले ? पहिला–पहिला सदस्य बन्न तछाडमछाड हुन्थ्यो, अहिले त ‘ल, न सदस्य बन्नुपर्यो’ भन्नुपर्ने अवस्था छ है ?
तपाईंले बिल्कुल सही प्रश्न गर्नुभयो । ४० हजारभन्दा बढी रजिष्टर चिकित्सक पुगिसकेका छन् । एनएमएमा बल्लतल्ल १७ हजार सदस्य छन् । निर्वाचनमा सहभागी हुने भनेको त्यही ८/९ हजार मात्र हो । ४० हजारमध्ये ९ हजारले भोट हाल्दा कस्तो नेतृत्व जन्मिन्छ ? तपाईं आफैँ कल्पना गर्नुहोस् ।

यस्तो अवस्था किन आयो ?
एनएमएले चिकित्सकको मुद्दा उठाउँछ भन्ने विश्वास नै रहेन । यसमा दुई–तीन कुरा छन्—पहिलो, कमिटेड नेतृत्व नै रहेन । विगत २० वर्षको नेतृत्व चयन हेर्नुभयो भने सरकारी कर्मचारीको बढुवाजस्तै देखिन्छ—सदस्य, सहकोषाध्यक्ष, कोषाध्यक्ष, सहसचिव, सचिव, उपाध्यक्ष, अध्यक्ष… यही तरिकाले नेतृत्व आइरहेको छ । त्यो ठीक होइन । नेपालभरिका चिकित्सकमध्ये ‘राम्रो कसले गर्छ ?’ त्यो व्यक्ति नेतृत्वमा आउनुपर्ने हो । राम्रो काम गरेर फेरि पेशागत जीवनमा फर्किने संस्कृति हुनुपर्ने हो । तर त्यो नभएपछि चिकित्सकहरुले आफ्नो पेशागत–संगठनप्रति विश्वास गर्न छाडे । एनएमएलाई व्यक्तिगत स्वार्थका लागि भर्याङ बनाउने प्रवृत्तिको अन्त्यका लागि पनि म नेतृत्वमा आउन चाहेको हुँ ।

कर्णालीका जिल्लालाई तीन क्लस्टर बनाएर हुम्ला–मुगु–डोल्पामा १३०%, त्यसभन्दा तल १००%, सुगम सुर्खेतमा ७०% भत्ता दिने व्यवस्था गरियो । त्यतिबेला ४४ हजार पाउने मेडिकल अधिकृत अहिले १ लाख १८ हजार पाउँछन् । यही नीतिगत निर्णयका कारण अहिले सुर्खेतमा विशेषज्ञ चिकित्सक १० गुणा बढेका छन् । त्यसैले एनएमएले सरकारसँग समन्वय गरेर धेरै सकारात्मक परिवर्तन गर्न सक्छ ।

नेपालमा पहिलो व्यवसायिक पेशागत संगठनका रुपमा एनएमएलाई लिइन्छ । सबैभन्दा बलियो हुनुपर्ने संगठन पनि एनएमए नै हो । तर अहिले त खोज्नुपर्ने अवस्थामा छ हैन त ?
तपाईंले भनेको पूर्ण सत्य हो । पञ्चायतकालमै पनि आफ्नो स्थापना दिवस मनाउने पेशागत संगठन भनेको एनएमए मात्र थियो । त्यो स्तरको पहिचान बनाएको संस्था हो । त्यो विश्वास फर्काउने नेतृत्व आवश्यक छ । एनएमएको गुमेको विश्वास फर्काउन सक्छु भन्ने आँट लिएर अघि बढेको छु । कोरोना महामारीमा गरेको काम, भएको सरकारी जागिर छाडेर जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई माथि उठाउन गरेको प्रयास—यी सबै तपाईंहरुलाई थाहा छ । एक कार्यकाल उपकुलपति भएर पुनः निरन्तरता पाउने सम्भावना हुँदाहुँदै पनि मैले त्यागेँ र एनएमएलाई सबै चिकित्सककोविश्वासको थलो बनाउने संकल्पसहित आएको हुँ ।

तपाईं दुर्गममै बसेर सेवा दिनुभयो, दुर्गमकै प्रतिनिधित्व गर्दै हुनुहुन्छ । दुर्गमका चिकित्सक भन्छन्—एनएमएले दुर्गमको भावना बुझेन ?
केही पनि नभएको होइन, भएको छ । तर जति हुनुपथ्र्यो त्यति हुन सकेन । त्यसैले नेतृत्वमा कस्तो व्यक्ति जान्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । पहिला जितेका कतिपय साथीहरुले राम्रै काम गर्नुभएको छ । तर चिकित्सकले उठाएका विषयलाई नेतृत्वमा पुगेकाले गम्भीर रुपमा लिन सकेनन् जस्तो लाग्छ । अव के गर्न सकिन्छ—त्यही मुख्य हो । मेरो इतिहास हेर्दा म अरुको विरोध गरेर स्थापित भएको होइन, आफ्नो काम र क्षमताबाट स्थापित भएको हुँ ।

तपाईंले नेतृत्व पाएपछि सबै समस्या समाधान हुन्छ भनेर कसरी पत्याउने ?
हेर्नुहोस्, तीन वर्षे कार्यकालमा ‘अध्यक्ष भएँ भन्दैमा’ आकाशै खस्ने परिवर्तन हुन्छ भन्ने होइन । व्यवहारिक र सम्भव हुने काम गर्छु, जसले परिवर्तन ल्याउँछ । जस्तै—केहीदिनअघि म जुम्ला, कालिकोट, दैलेख, सुर्खेत पुगेँ । कर्णाली प्रदेशमा एनएमएको भोटिङ सेन्टर सुर्खेत र जुम्ला मात्र छन् । हुम्ला–मुगुबाट भोट हाल्न यिनै ठाउँ आउनुपर्छ । सुर्खेत आउँदा मात्र पनि प्लेन टिकट २४ हजार खर्च हुन्छ । अन्य जिल्लाको पनि यस्तै समस्या छ । सदस्य भएर पनि ५०० भन्दा बढीले मताधिकार पाएका छैनन् । मेडिकल जस्तो प्रविधिमैत्री क्षेत्रमा इलेक्ट्रोनिक भोटिङ प्रणाली बनाउनुपथ्र्यो । एनएमएको एप बनाएर सुरक्षित अनलाइन भोटिङ गराउन सकिन्छ । यति सानो काम पनि हुन सकेको छैन । अर्को कुरा एनएमएमा आर्थिक सुशासन पनि महत्वपूर्ण छ । नेतृत्व जिम्मेवार भयो भने धेरै काम गर्न सकिन्छ । जस्तै—२०३६ सालतिर म कर्णाली प्रदेश सरकारको सल्लाहकार थिएँ । त्यतिबेला सुर्खेतमा ६ जना मात्र विशेषज्ञ थिए । चिकित्सक टिकाउने उपाय भनेको तलब बढाउनु रहेछ । तर कानुनी कारणले तलब बढाउन गाह्रो थियो । त्यसपछि हामीले ‘प्रोत्साहन भत्ता’ नामक योजना ल्यायौँ । कर्णालीका जिल्लालाई तीन क्लस्टर बनाएर हुम्ला–मुगु–डोल्पामा १३०%, त्यसभन्दा तल १००%, सुगम सुर्खेतमा ७०% भत्ता दिने व्यवस्था गरियो । त्यतिबेला ४४ हजार पाउने मेडिकल अधिकृत अहिले १ लाख १८ हजार पाउँछन् । यही नीतिगत निर्णयका कारण अहिले सुर्खेतमा विशेषज्ञ चिकित्सक १० गुणा बढेका छन् । त्यसैले एनएमएले सरकारसँग समन्वय गरेर धेरै सकारात्मक परिवर्तन गर्न सक्छ ।

तर चिकित्सकको पलायन रोक्नै मुश्किल छ ?
गएको वर्ष अमेरिका गएकाबेला एक नेपाली चिकित्सकसँग भेट भयो । उहाँले भन्नुभयो-‘मेरो बच्चा राम्रो स्कुलमा पढ्छ, पैसा छ, तर पहिचान छैन, समाज छैन, गाउँ–घर छैन । म नेपाल फर्किन्छु ।’ मैले यो किन भनिरहेको छु भने—स्थायी रुपमा विदेश बस्न चिकित्सकहरू चाहँदैनन् । उनीहरू नेपालमै सेवा दिन चाहन्छन् । तर वातावरण चाहिन्छ । जहाँ हेर्‍यो राजनीतिक नियुक्ति, सरुवा–बढुवामा पनि उस्तै । सुदूरपश्चिमका चिकित्सकलाई कोशी, वाग्मतीका चिकित्सकलाई कर्णाली सरुवा-यसले कसरी मनोबल टिक्छ ? एउटा चिकित्सकलाई निश्चित समय थाहा होस् यो अवधि भरी मेरो कतै सरुवा हुँदैन । मैले यहाँ काम गर्नुपर्छ । त्यो छैन । कतिबेला के हुन्छ थाहा नै छैन । यी सबै सुधार गर्न नीति परिमार्जन अत्यावश्यक छ । त्यो नीति परिवर्तनका पक्षमा मेरो टिम सशक्त भएर लाग्छ ।

बुँदागतरुपमा भनिदिनहोस् न तपाईलाई किन जिताउने ?
एनएमएको गुमेको विश्वास फर्काउनका निमित्त । एनएमएलाई चिकित्सकहरुको आस्था र भरोसाको धरोहर बनाउनका निमित्त । मैले माथि उल्लेख गरेका नीतिगत सुधारका निमित्त सरकारसँग हस्तक्षेपकारी लविङ गर्नका निमित्त पनि एनएमएमा म आउनु पर्छ भन्ने लागेको हो । हैन, चिकित्सक साथीहरुलाई मैले भन्दा राम्रो अरु कसैले गर्छ भने उहाँलाई जिताउँदा पनि कुनै आपत्ती छैन ।

  • २५ मंसिर २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech