पश्चिम नेपालमा निजी मेडिकल कलेजका सूत्रधार डा. कनोडिया

जसको नेतृत्वमा जन्मियो नेपालगञ्ज मेडिकल कलेज


    • स्वास्थ्य पेज

  • २५ मंसिर २०८२, बिहीबार

डा. सुरेश कुमार कनोडिया, जसको चिकित्सकीय क्षेत्रमा नामै काफी छ । वि.सं. २०४० को दशकको पूर्वाद्र्धमै बाँकेको नेपालगञ्ज सहरबाट चिकित्सकीय अभ्यास थालेका कनोडियाले करीब डेढ दशक सरकारी डाक्टरका रुपमा सेवा दिए । रसियाबाट एमएस सकेर नेपाल फर्किए लगत्तै केही महिना बीर अस्पतालमा काम गरेका सर्जन डा. कनोडिया वि.सं. २०४० सालमा भेरी अस्पतालमा जोडिए ।

आफ्ना काकासंग नेपालगञ्जमै बसेर ९ र १० कक्षा एमपी स्कूलमा पढेका कनोडियालाई नेपालगञ्ज सहर नौलो थिएन । २०४५ सालमा सातौं तहमा स्थायी भएका कनोडियासहित सरकारी डाक्टरहरुको टोलीले त्यतिबेलै प्राइभेट अभ्यास गर्ने उद्देश्यका साथ भेरी अस्पतालकै ओपिडीमा दिउँसो २ बजेपछि ‘पेइङ क्लिनिक’ सञ्चालन गरेको थियो । त्यसमा डा. दुर्गा प्रधान, डा. गोपाल श्रेष्ठ, डा. निना श्रेष्ठ, डा. केएन जोशी लगायतको टिम थियो । ‘पेइङ क्लिनिक’ ले विरामीहरुलाई निकै सहज भएको अनुभव डा. कनोडियाको छ । सबै डाक्टरहरु एकै ठाउँमा भेटिने भएपछि विरामीहरुलाई सजिलो भएको थियो ।

तर, यो ६ महिनासम्म मात्र चल्यो । तत्कालीन मेडिकल सुपरिण्टेण्डेण्ट डा. दुर्गा मानन्धरसंग कुरा नमिल्दा यो सेवा लामो जान सकेन । केही समयपछि डा. कनोडियाको टिमले नै नेपालगञ्जमा पहिलोपटक निजी नर्सिङ होम खोलेको थियो । वि.सं. २०४५–४६ सालतिर केही डाक्टरहरु मिलेर एकै छानामुनि विरामीलाई कम शुल्कमा गुणस्तरीय सेवा दिने उद्देश्यले नेपालगञ्ज नर्सिङ होम खुल्यो । “प्राक्टिस गरिरहेका डाक्टरहरुले अलग अलग सेवा दिनु भन्दा सबै एकै ठाउँमा आउनुपर्छ भन्ने भयो,” डा. कनोडिया ती दिन आफ्नो मानसपटलमा ताजा गर्दै सम्झन्छन्, “सदरलाइनमा टाँगा स्टेशन नजिकै ४ वटा सटर र एउटा हल भाडामा लिएर हामीले काम सुरु गरेका थियौं ।” टिममा काम गर्दा ‘रिस्क फ्याक्टर’ कम हुने कुराले पनि उनीहरुलाई सामूहिक काम गर्न प्रेरित गरेको थियो ।

डा। सुरेश कुमार कनोडिया स्वास्थ्यपेज टिमसँग अनुभव साट्दै

डा. कनोडिया, डा. गोपाल श्रेष्ठ, डा. निना श्रेष्ठ, डा. केदार अग्रवाल, डा. एम. किदवाईको टिमले नर्सिङ होम सुरु गरेको थियो । हलमा सुरुमा १५ बेड राखेर सेवा दिएको डा. कनोडिया स्मरण गर्छन् । उनीहरुले सर्भिस चार्ज नलिएरै विरामीको सेवा गरेका थिए । त्यो बेला अल्ट्रा साउण्ड गर्न लखनउ जानुपर्ने बाध्यता थियो । यो अवस्थालाई मध्यनजर गर्दै उनीहरुले इण्डोस्कोपी मेसिन खरिद गरेका थिए । मेसिन खरिद गर्न पैसाको जोहोका लागि निकै गाह्रो भएको क्षण स्मरण गर्दै डा. कनोडिया भन्छन्, “मैले त्यतिबेला जागिरे जीवन सुरु गरेपछि पहिलोपटक बुवासंग पैसा माग्नुपरेको थियो, पैसा जुटाउन हामीलाई हम्मेहम्मे भएको थियो ।” विरामीलाई ‘भिजिट फी’ बिना नै गुणस्तरीय सेवा दिने हरसम्भव पर्यत्न गरेको यो टिमलाई पछि विस्तारै त्यो ठाउँ साँघुरो हुँदै गयो र आफ्नै भवन हुनुपर्दछ भन्ने महसुस भयो । अनि सुरु भयो जग्गा खोजीको काम ।

वि.सं. २०४८ सालतिर सुर्खेतरोडमा मुरारका समूहको ८ कट्ठा जग्गा खरिद गरेर नेपालगञ्ज नर्सिङ होमले आफ्नै संरचना बनाउन थाल्यो । त्यतिबेला उक्त जग्गा प्रति कट्ठा १ लाख २० हजारमा खरिद गरिएको थियो । प्रारम्भमा पटक पटक गरी करीब २ करोड लगानी भएको थियो । डा. कनोडियाको टिममा त्यतिबेला नै जोडिएका थिए, डा. उषा शाह, सन्तोष कुमार कनोडिया, डा. सन्तोष शर्मा । पब्लिकमा आफूहरुको ‘गुड विल’ बढ्दै गएकाले राम्रो, गुणस्तरीय र सर्वसुलभ सेवा दिनुपर्ने विचारले आफूलाई सधैं घच्घच्याइरहने डा. कनोडिया बताउँछन् ।

त्यही ‘मोटिभ’ ले आकार बढाउँदै गएपछि सरकारी जागिरे जीवन पश्चात पनि निरन्तर चिकित्सकीय सेवा भावले उनलाई पछ्याइरह्यो । वि.सं. २०५४ सालमा भेरी छोडेर उनले निजी चिकित्सा क्षेत्रको पूर्णकालीन उडान भरेका थिए । वि.सं. २०४५ सालमा भेरीमा स्थायी हुँदा ९८० रुपैयाँ तलब रहेको स्मरण गर्ने कनोडिया जागिर छोड्दा ३६०० रुपैयाँ तलब रहेको सुनाउँछन् । त्यो अवधिमा लोक सेवाले सर्जनको सिट ननिकालेका कारण उनी सरकारी जागिर छोड्दा पनि सातौं तहकै डाक्टर थिए । नेपालमा प्रजातन्त्र पुनःस्थापना भई बहुदलीय शासन ब्यवस्था सुरु भएपछि सन् १९९३ मा नेपाल सरकारले काठमाडौं बाहिर पनि मेडिकल शिक्षा प्रारम्भ गर्ने र नागरिकका लागि सहज तथा पहुँचयोग्य स्वास्थ्य उपचार सुनिश्चित गर्ने निर्णय ग¥यो ।

त्यसैको जगमा नेपालगञ्ज नर्सिङ होमले मेडिकल कलेजको रुप धारणा गरेको हो । सरकारी जागिरसंगै निजी मेडिकल प्राक्टिस पनि गरेर सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गरिरहेका डा. कनोडियाले नै पश्चिम नेपालमा मेडिकल कलेज स्थापना गर्ने भार आफ्नो काँधमा बोके । त्यसका लागि उनले धेरै ‘एक्सरसाइज’ र थुप्रै पटक दौडधुप गर्नुपरेको थियो । राजनीतिक दलहरुबाट पनि नैतिक समर्थन प्राप्त गरेर अघि बढेको डा. कनोडियाको टिमलाई नेपालगञ्जकै नेता, कांग्रेस पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइराला, प्रभावशाली कांग्रेस नेता दाङका स्वर्गीय खुम बहादुर खड्का लगायतले पनि साथ दिएका थिए । फलस्वरुप, लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडले पश्चिम नेपालको नेपालगञ्ज सहरबाट मेडिकल कलेज सञ्चालन गर्ने अनुमति पायो र, नेपालगञ्ज सहरको नामबाट जन्मियो, ‘नेपालगञ्ज मेडिकल कलेज’, जसको नेतृत्व गरेका थिए, डा. कनोडियाले ।

कनोडियासँग अन्तरंग कुराकानी गर्दै टीम स्वास्थ्यपेज

सन् १९९६ मा दर्ता भएको मेडिकल कलेजले सन् १९९७ डिसेम्बरमा ७५ सिटमा एमबीबीएसको पहिलो ब्याच पढाउन सुरु गरेको थियो । जुन ब्याचले सन् २००२ मा आफ्नो एमबीबीएस कोर्ष पूरा गरेको थियो । काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालगञ्ज मेडिकल कलेजले करीब २८ बर्षे आफ्नो जीवनमा हजारौं डाक्टरहरु उत्पादन गरिसकेको छ । कलेजले अण्डर ग्राजुयट (युजी), पोष्ट ग्राजुयट (पिजी), फेलोशिप, सुपर स्पेशियालिटी र छोटो अवधिका तालिम तथा कोर्शहरु लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । नेपालगञ्ज मेडिकल कलेज पश्चिम नेपालको स्वास्थ्य क्षेत्र सुधार तथा नागरिकलाई गुणस्तरीय एवम् सर्वसुलभ स्वास्थ्य सेवा प्रवाहमा कोशेढुंगा नै सावित भएको छ ।

काठमाडौंका स्वर्गीय मुकुण्द बक्स श्रेष्ठसंगको पार्टनरशिपमा डा. कनोडियाले नेपालगञ्ज मेडिकल कलेज सञ्चालन गरेपछि पश्चिम नेपालबाट पनि डाक्टरहरु उत्पादन हुन थाले नै, विरामीले पनि उपचारसंगै नयाँ जीवन पाए । कतिको अकालमै जान लागेको ज्यान जोगियो । पश्चिम नेपालमको ‘भरोसा’ बनेर उभियो, नेपालगञ्ज मेडिकल कलेज । संस्थापकद्वय डा. कनोडिया र श्रेष्ठको राम्रो ट्युनिङले नेपालगञ्ज मेडिकल कलेजले उचाई लिँदै गयो । “उहाँले (मुकुण्द बक्स) मलाई फ्री ह्याण्ड (स्वतन्त्र) काम गर्न दिनुभयो, मैल पनि मेडिकल कलेजको श्रीबृद्धिसंगै नागरिकलाई केन्द्रमा राखेर अस्पतालबाट इमान्दारीपूर्वक सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि काम गरें, आज कम्तिमा पश्चिम नेपालमा मेडिकल क्षेत्रमा गरेको योगदानले आफ्नो नाम आउँदा र त्यसै किसिमको सम्मान पाउँदा खुसी लाग्छ,” डा. कनोडिया भन्छन् । उनी प्रबन्ध निर्देशकको भूमिकामा रहेर निरन्तर लागिपरेका थिए ।

नेपालगञ्ज मेडिकल कलेजले नेपालगञ्ज र कोहलपुरमा अस्पताल सञ्चालन गरेर चिसापानीबाट अध्यापन गरिरहेको थियो । नेपालगञ्जमा २५० बेड र कोहलपुरमा ५२५ बेड शिक्षण अस्पतालबाट सेवा दिइरहेको छ । तर, अहिले पछिल्लो समय नेपालगञ्जस्थित अस्पताल सञ्जिवनी कलेज अफ मेडिकल साइन्सेसले सञ्चालन गरेको छ । कोहलपुर र चिसापानी भने लर्ड बुद्ध अन्तर्गत छ, यी दुबैको नेतृत्वमा अहिले मेडिकल ब्यवसायी खुमा अर्याल छन् । डा. कनोडियाले आफ्नो शेयर घटाएका छन् । उनी अहिले लिडिङ रोलमा नभए पनि बोर्ड सदस्य भने हुन् । “डा. साब मेडिकल कलेज बेच्नुभएको हो भनेर धेरैले सोध्छन्,” उनी हाँस्दै आफूले दिने गरेको जबाफ सम्झँदै भन्छन्, “मैले केही शेयर बेचेको हुँ, अहिले पनि मेरो शेयर केही बाँकी नै छ, म बोर्डमै छु, पश्चिम नेपालमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका निम्ति अझै चिन्तनशील छु, नर्याँ टिमले त्यसै अनुसार काम गरिहेको छ । मैले पनि सहयोग गरिरहेको छु ।”

डा.सुरेश कुमार कनोडिया

कपिलबस्तुको कृष्णनगरमा जन्मिएका हुन्, डा. सुरेश कुमार कनोडिया । सन् १९५२ मा आमा सावित्रीदेवीको कोखबाट जन्मिएका उनका बुवा ओमप्रकाश भने ब्यवसायिक पृष्ठभूमिका ब्यक्ति थिए । तर, सुरेशलाई घरपरिवारमा सानैदेखि ‘डाक्टरबाबु’ को नामले बोलाउँदा बोलाउँदै उनीमा पनि डाक्टर बन्ने छाप बस्यो र हुटहुटी पनि बढ्यो । डाक्टर बन्ने आकांक्षालाई पछ्याउँदै उनी अघि बढिरहे । कक्षा ८ सम्म कृष्णनगरकै स्थानीय विद्यालयमा पढेका उनी आफ्ना वकिल काकाको पोष्टिङ नेपालगञ्जमै भएका कारण ९ र १० यहीँ पढे ।

सन् १९६८ मा एसएलसी उत्तीर्ण कनोडियाले सन् १९७० मा काठमाडौंस्थित त्रिचन्द्र कलेजबाट आइएस्सी पूरा गरी विएस्सी पढिरहेकै बेला नाम निस्किएपछि सन् १९७२ मा एमबीबीएसका लागि रसिया पुगे । उनले त्यहीँबाट एमएस समेत गरे । अनि चिकित्सकीय सेवाको श्रृंखला अघि बढ्यो । नेपालगञ्जमा बसेर निरन्तर सेवा गरेका कनोडिया आफ्नो पेशा र कर्मबाट सन्तुष्ट देखिन्छन् । नेपालगञ्जको ‘गौरब’ र पश्चिम नेपालको ‘भरोसा’ को रुपमा रहेको नेपालगञ्ज मेडिकल कलेजका सूत्रधार डा. कनोडिया यस क्षेत्रमा स्वास्थ्य क्षेत्रका ‘आइकन’ नै हुन् ।

 

  • २५ मंसिर २०८२, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech