नेपालगन्जः डोल्पाको भिरालो पहाड, कठ्याङ्ग्रीने हावा र निरन्तर कठोर जीवनसँगै उभिएको ठुली भेरी नगरपालिका–३, दुनै । यही ठाउँमा २०४९ सालमा जन्मिएका हुन् डा. अखण्ड उपाध्याय । बुवा लक्ष्मीकान्त उपाध्याय सरकारी जागिरे, आमा उमालक्ष्मी गृहिणी । परिवार पढे–लेखेका, आफ्नो घरगाउँमा मान–प्रतिष्ठा कमाएका । त्यही वातावरणमा हुर्किए चार दाजुभाइमध्येका तेस्रा, अखण्ड । स्थानीय सरस्वती उच्च माध्यमिक विद्यालयमा अध्ययनरत बेलादेखि नै उनले जीवनलाई कुनै ठूलो अर्थ दिनुपर्छ भन्ने महसुस गरेका थिए । २०६४ सालमा एसएलसी उत्तीर्ण गर्दै उनले आफ्नो क्षमताको प्रष्ट संकेत देखाएका थिए । पछि, २०६६ मा काठमाडौँको जेभीएन इन्टरनेशनलबाट प्लस टू पूरा गरे ।
प्लस टूको पाठ्यक्रम सकिनासाथ उनको मनमा एउटा मात्र सपना थियो–‘डाक्टर बन्ने’। कहिलेकाहीँ उनी सुन्थे–गाउँका बिरामीलाई हेर्ने कोही हुन्न । डाक्टर भएको भए त बाच्थे होला । यिनै यिनै कुराले उनलाई डाक्टर बन्ने सपनाले थिच्दै लगेको थियो । चार वर्षको कठोर परिश्रम, अनेकौँ रातहरूको धैर्य र आत्मविश्वासले अन्ततः उनलाई नेपालकै प्रतिष्ठित संस्थामध्ये एक—पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छात्रवृत्तिमा एमबीबीएस पढ्ने अवसर पाए ।
२०७७ मा एमबीबीएस पूरा गरेपछि उनले पाटनमै एक वर्ष इन्टर्नसीप पूरा गरे । पढाइ सकेर धेरैलाई ‘काठमाडौँमै बसौँ’, ‘अर्को विकल्प खोजौँ’ भन्ने लोभ देखिन्छ । तर डा. अखण्ड त्यस्ता थिएनन् । उनी भन्छन्–‘म पढेर फर्कनु गाउँकै लागि हो । डोल्पा नै मेरो पहिलो अस्पताल हुने पक्का थियो ।’ २०७८ भदौ १० गते उनले डोल्पा अस्पतालमा मेडिकल अधिकृतका रुपमा हाजिर भए । दुर्गम कर्णाली, चिसो, कठोर भूगोल र अभावकाबीच पनि उनले चार वर्षसम्म सेवा दिए । अर्थात २०८२ असोज ६ गतेसम्म । चार वर्षसम्म उनले हजारौं बिरामीलाई सेवा दिए । सय बढी त जटिल खालका अप्रेसननै गरे ।

डा.अखण्डलाई सम्मान ।
यी सबै अनुभवले उनी चिकित्सक मात्र होइन, दुर्गम जीवन बुझ्ने समाजसेवी पनि बनेका छन् । हाल उनी एमडी तयारीका लागि काठमाडौँमा छन् । तर उनको योजना स्पष्ट छ—एमडी सकेपछि फेरि कर्णालीमै फर्कने । नेपालगन्जमा स्वास्थ्यपेजसँगको भेटमा डा. अखण्डले धेरै कुरा हिउँ जसरी पगालेर सिधै मन खोले ।उनले कर्णालीको स्वास्थ्य क्षेत्रको वास्तविकता, चिकित्सक–स्वास्थ्यकर्मीका पीडा, नागरिकका दुःख—एकैसाथ उजागर गरेका छन् ।
कर्णालीमा केही वर्षयता स्वास्थ्य संरचनाको विस्तार उल्लेखनीय रुपमा भएको छ । अहिले अधिकांश जिल्लामा जिल्ला अस्पतालको भवन राम्रो बनेका छन् । पालिकासम्म स्वास्थ्य चौकी पुगेका छन् र कागजमा हेर्दा कर्णालीमा अब सेवा–सुविधा ‘उपलब्ध’ भइसकेजस्तो देखिन्छ । कन्सल्टेन्ट चिकित्सकदेखि मेडिकल अधिकृतसम्मको दरबन्दी र पदस्थापन बढ्दै गएको पनि सत्य हो । प्रदेश सरकारले प्रत्येक जिल्ला अस्पतालमा कन्सल्टेन्ट चिकित्सक पठाउनु सकारात्मक पक्ष अवश्य हो । तर, डा. अखण्डले भोगेको वास्तविकता भने कागजी प्रगतिसँग धेरै मेल खाँदैन ।
हो, संरचना बनेका छन्, तर सेवा “उँचो स्तरमा” पुगेको छैन । कन्सल्टेन्ट चिकित्सक अस्पतालमा हाजिर हुन्छन् तर बिरामीले कन्सल्टेन्टबाट नै सेवा पाएको अनुभव भने अत्यन्त न्यून छ । कन्सल्टेन्ट चिकित्सक सेवा भन्दा पनि प्रशासनमा धकेलिन्छ । ‘कन्सल्टेन्टलाई अस्पतालको प्रमुख बनाइन्छ उनी भन्छन्–‘प्रमुख भएपछि दिनभरि फाइल, बैठक, समन्वय, पत्राचारमै दिन बित्छ, कहिलेकाहीँ लाग्छ, चिकित्सक भन्दा बढी ‘हाकिम’ बनेर बस्नुपर्छ । यो स्वभाविक बाध्यता पनि छ । यसले पनि नागरिकले कन्सल्टेन्ट चिकित्सकबाट पाउनुपर्ने सेवा नपाएको हो ।’

स्वास्थ्यपेजसँग डा.अखण्ड
अर्कोतिर, प्रदेश र पालिकाबीचको ‘अनिवार्य समन्वय’ ले चिकित्सकलाई सेवा कक्षामा बस्नै दिँदैन । यस्तो व्यवस्थामा सैद्धान्तिक रूपमा कन्सल्टेन्ट छ तर व्यवहारतः सेवामा मेडिकल अधिकृत नै अग्रपंक्तिमा उभिन बाध्य छन् । कर्णालीको स्वास्थ्य प्रणालीको अर्को जटिल समस्या—स्तरीय ल्याबको अभाव । थाइराइडजस्तो साधारण परीक्षण पनि विश्वसनीय रुपमा गर्न सक्ने ल्याब धेरै अस्पतालमा छैनन् । उनी भन्छन्–‘जब निदानमै विश्वास हुँदैन, उपचार कसरी प्रभावकारी हुन्छ’ ? त्यसैले सामान्य परीक्षणका लागि पनि नागरिकहरु सुर्खेत वा नेपालगन्ज झर्नुपर्ने अवस्था छ । यसरी आधारभूत परीक्षणमै समस्या हुँदा कर्णालीमा कन्सल्टेन्ट बसेर पनि सेवा पूर्ण हुनै सक्दैन ।
कर्णालीमा चिकित्सक बस्न नचाहनु एउटा मात्रै कारण छैन । दैनिक जीवनका कठिनाइहरुले धेरैलाई ‘दिगो रुपमा बस्न’ नै दिदैन । आकस्मिक अवस्थामा प्लेन नपाइने, सडक बारम्बार अबरुद्ध हुने, काठमाडौंको एउटा यात्रा नै लाखौं रुपैयाँ खर्चिने अवस्था छ । उनी भन्छन्–‘दुर्गममा स्वास्थ्यकर्मी वा चिकित्सक बिरामी परेमा उपचार पाउनै कठिन, तलब भने उही यस्तो अवस्थाले चिकित्सकलाई मनोवैज्ञानिक रुपमा पनि ‘दुरुत्साहित’ बनाउँछ । र, यसले कर्णालीमै बस्ने चाहनालाई ब्रेक लगाइदिन्छ । कर्णालीमा आजसम्म पनि सरकारी अस्पतालहरुमा गुणस्तरीय औषधि उपलब्ध छ भन्ने भरपर्दो सुनिश्चितता छैन ।
सरकारी खरिद नियमले ‘सबैभन्दा सस्तो औषधि’ खरीद गर्न बाध्य बनाउँछ । गुणस्तरको ग्यारेण्टी भन्दा पनि ‘सबैभन्दा कम मूल्य’ प्राथमिकतामा पर्छ । उनी भन्छन्–‘सस्तो मूल्यको औषधिले बिरामी संचो हुँदैन । जसका कारण चिकित्सकप्रतिको विश्वास घट्छ । स्वास्थ्य चौकी र जिल्ला अस्पतालप्रतिको निर्भरता कमजोर हुन्छ । यो कर्णालीमा स्वास्थ्य सुधारको सबैभन्दा ठूलो अवरोध हो ।’ कागजमा कर्णालीको स्वास्थ्य प्रणाली अघि बढेको देखिन्छ, तर व्यवहारमा नागरिकले पाउने सेवाको गुणस्तर अझै कमजोरीले भरिएको छ । डा. अखण्ड भन्छन्–‘जबसम्म कन्सल्टेन्टलाई प्रशासनिक बोझबाट मुक्त गरिँदैन, स्तरीय ल्याब बनाइँदैन, गुणस्तरीय औषधि सुनिश्चित हुँदैन, दुर्गममै बस्ने स्वास्थ्यकर्मीका जीवन–सुरक्षा र सेवा–सुविधा बलियो बनाइँदैन त्यतिबेलासम्म कर्णालीको स्वास्थ्य प्रणाली ‘उपलब्ध’ भएर पनि ‘पहुँचयोग्य’ र ‘प्रभावकारी’ बन्न सक्दैन ।’

स्वास्थ्यपेज विशेषांक ग्रहण गर्दै डा.अखण्ड ।
डा.अखण्ड उपाध्यायको उपचार अनुभव
डा.अखण्ड उपाध्यायले अस्पतालमा कहिल्यै भुल्न नसकिने दुई जटिल प्रसूति केस सफलतापूर्वक व्यवस्थापन गरेका छन् । पहिलो केस २९ वर्षीया एक महिलासँग सम्बन्धित थियो, जो सुत्केरी व्यथाले अत्यन्तै पीडित भइ जिल्ला अस्पतालमा भर्ना भएकी थिइन् । उनका पाठेघर च्याथिएको अवस्थामा थियो । पीडाले उनलाई असह्य छटपटाइमा राखेको थियो । डा.अखण्डसँग पाठेघर च्याथिएका केसको प्रत्यक्ष अनुभव थिएन । तर उनी ७० दिनको प्रशिक्षणपछि सिजेरियन र अन्य जटिल प्रसूति केस हेर्दै आएका थिए । यस प्रकारको पहिलो केसमा डा.अखण्डले प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.शंकर राउतसँग परामर्श गरे। डा.रावलले भने–‘जिल्ला अस्पतालमा यस्तो केस सम्भव छैन । सुर्खेत वा नेपालगन्जमा पठाउनुपर्छ ।’ परिवारले हेलिकप्टरको माध्यमबाट उद्दारको प्रयास गरे, तर मौसम खराब हुँदा जहाज जाजरकोटमै रोकियो ।
यातायात सम्भव नभएपछि डा.अखण्डले परिवारलाई विश्वास दिलाए र सामान्य वार्डमै शल्यक्रिया गरे । आमाको ज्यान जोगियो, यद्यपि तत्काल बच्चालाई जोगाउन सकिएन । अर्को दिन मौसम खुलेर जहाज आयो । परिवारले उनलाई सुर्खेत प्रादेशिक अस्पतालमा लगे । तर त्यहाँका चिकित्सकले भने–‘अमाको अवस्था ठिक छ, यहाँ ल्याउन आवश्यक थिएन ।’ परिवारकै सदस्यबाट पछि यो कुरा थाहा पाएपछि डा.अखण्ड खुसीले मुस्कुराए । यदि डा.अखण्डले शल्यक्रिया नगरेको भए, रक्तश्रावको कारण आमाको ज्यानै जान सक्थ्यो । पाठेघर नै फाल्नु पर्ने अवस्था आउनसक्थ्यो । डा.अखण्डको आत्मविश्वास र डा.रावलको परामर्शले गर्दा डोल्पा अस्पतालमा पहिलोपटक पाठेघर च्याथिएको सफल शल्यक्रिया सम्पन्न भयो । यो केस उनले कहिल्यै भुल्न सक्दैनन् ।
यस्तै अर्काे जटिल केस रुकुमपश्चिमकी २४ वर्षीया महिलासँग सम्बन्धित थियो । उनी मजदुरीका लागि डोल्पा बस्दै आएकी थिइन् । ८ हप्ताको गर्भवती थिइन् । एक्कासी पेट दुख्न सुरु भयो । नलीमा गर्भ विकसित हुँदै गएर नली नै फुटेको रहिछ । यो अवस्थामा भयंकर पेट दुखाइ, भित्री रक्तस्राव र जीवन नै संकटमा थियो । परिवार सुरुमा शल्यक्रियाका लागि राजी थिएन । तर डा.अखण्डले उनीहरुलाई विश्वस्त बनाए । र, सामान्य वार्डमै शल्यक्रिया सम्पन्न गरे । नली फुटेको यो केस पनि जिल्ला अस्पतालमा पहिलो थियो । अहिले ती महिला अर्को सन्तान जन्माएर पालन पोषण गरिरहेकी छिन् । यी अनुभवहरुले डा.अखण्ड उपाध्यायको चिकित्सकीय दक्षता, आत्मविश्वास र जटिल प्रसूति व्यवस्थापन क्षमतालाई उजागर समेत गरेको छ । यी केसहरु उनलाई पेशागत जीवनका लागि कहिल्यै नविर्साउने छाप बनेर बसेका छन् ।








