बाँकेमा औषधि व्यवसायीले विरोध स्वरूप २ घण्टा व्यापार बन्द गरे

    • स्वास्थ्य पेज

  • १५ मंसिर २०८२, सोमबार

नेपालगन्ज: औषधि ऐन २०३५ का केही व्यवस्थामा संशोधनको माग गर्दै बाँकेका औषधि व्यवसायीहरूले आज आफ्ना व्यवसाय २ घण्टा बन्द गरेर विरोध प्रदर्शन गरेका छन् । व्यवसाय बन्द गरेर औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जमा धर्ना दिँदै उनीहरूले विभागले आफ्ना मागहरू गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् ।

कार्यक्रमा औषधि व्यवसायी संघका केन्द्रिय सचिव कृष्णबहादुर रोकायले भने, “हालको प्रावधानअनुसार दर्ता नवीकरण म्याद सकिएको भोलिपल्टदेखि १०० प्रतिशत जरिवाना लाग्ने र ३१औँ दिनपछि व्यवसाय स्वतः रद्द हुने व्यवस्था व्यवसायीहरूका लागि अव्यवहारिक छ । यसले व्यवसायीलाई पलायन हुने अवस्था सिर्जना गरेको छ । त्यसैले तत्काल संशोधन र खारेजी आवश्यक छ ।”देशैभरका औषधि व्यवसायीहरू यही मागका लागि आन्दोलित छन् ।

नेपाल औषधि व्यवसायी संघको अगुवाइमा नेपाल पशुपक्षी औषधि व्यवसायी संघ र नेपाल आयुर्वेदिक औषधि व्यवसायी संघको ऐक्यबद्धतामा गठित राष्ट्रिय संयुक्त औषधि व्यवसाय संरक्षण समितिको निर्णयअनुसार देशैभर आन्दोलन भइरहेको छ । व्यवसायीहरूको मुख्य मागमा दफा ११ को उपदफा ३ संशोधन, उपदफा ५ खारेजी, रिजर्भ एन्टिबायोटिक केवल अस्पताल फार्मेसीमार्फत वितरण गर्ने निर्णय खारेज, ओरियन्टेसन प्रमाणपत्रधारीलाई थोक व्यापारी बन्न नदिने नियम हटाउने, औषधिको अनलाइन बिक्री रोक्ने, तथा आयुर्वेदिक औषधि पसल खोल्न आवश्यक प्रमाणपत्र शीघ्र प्रदान गर्ने समावेश छन् ।

आफ्ना मागको बेवास्ता भए थप संघर्षका कार्यक्रम अघि बढाउने संघका बाँके अध्यक्ष जेयदेव अवस्थीले बताए । व्यवसायीहरूको निरन्तर आन्दोलनका कारण काठमाडौंमा पनि सम्बद्ध वार्ता जारी रहेको छ ।

  • १५ मंसिर २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech