नेपालगञ्ज — पश्चिम नेपालमा पहिलोपटक हड्डी, मांसपेशी र छालासम्बन्धि क्यान्सरका विषयमा बृहत चिकित्सक सम्मेलन हुन लागेको छ। बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आयोजना र मस्कुलोस्केलेटल अंकोलोजी सोसाइटी अफ नेपाल (मोसन) तथा नेपाल अर्थोपेडिक एशोसियसन वेस्टर्न च्याप्टरको सहकार्यमा मंसिर २६–२७ गते सम्मेलन सञ्चालन हुने भएको हो ।
खजुरामा उद्घाटन सत्र गर्ने र कार्यपत्र प्रस्तुत कार्यक्रम नेपालगन्जमा गर्ने तयारी गरिएको छ । कार्यक्रम गर्नका लागि बनाइएको आयोजक समितिका अध्यक्ष एमएसके अंकोसर्जन डा. गोपाल पौडेलले सम्मेलनमा बाँके र आसपासका जिल्लाका सर्जन, प्याथोलोजिष्ट, अर्थोपेडिक्स, रेडियोलोजिष्ट, मेडिकल अंकोलोजिष्ट तथा रेडियसन अंकोलोजिष्टलाई अस्पतालको सेवाका बारेमा जानकारी दिने र हड्डी, मांसपेशी र छालासम्बन्धि क्यान्सरको नयाँ प्रविधि र अभ्यासका बारेमा छलफल र आफूहरुले काम गर्दा भोगेका भोगाई साटासाट गर्ने बताए । उनले सम्मेलनमा भरतपुर, विराटनगर, काठमाडौं, दाङ, सुर्खेत, कोहलपुर र नेपालगन्जमा कार्यरत क्यान्सर सम्बन्धि चिकित्सकको सहभागिता हुने जानकारी दिए ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका डाक्टर एवं आयोजक समितिका सचिव क्लिनिकल अंकोलोजिष्ट डा. मुकेश यादवले सम्मेलनमा दुई सय जनाको सहभागिता रहने र ७ देखि ८ लाख हाराहारीमा खर्च हुने अनुमान रहेको बताए ।







