बाँके-बर्दियाका बहिरा युवालाई आत्मनिर्भर बनाउन १५ दिने छ्वाली आर्ट तालिम प्रदान

    • स्वास्थ्य पेज

  • १२ मंसिर २०८२, शुक्रबार

नेपालगञ्ज । बाँके-बर्दियाका बहिरा युवालाई आत्मनिर्भर र उद्यमशील बनाउन १५ दिने छ्वाली आर्ट (हस्तकला) तालिम प्रदान गरिएको छ । १० जना बहिरा युवा सहभागी तालिम कृषि व्यवसाय प्रबद्र्धन तथा तालिम केन्द्र खजुरा बाँकेमा आयोजना गरिएको थियो । राष्ट्रिय बहिरा महासंघ नेपालको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) संगको सहकार्यमा तालिम गरिएको हो । गहुँबाली भित्र्याएपछि गाईबस्तुका लागि जोहो गरी राखिने छ्वालीबाट बनाइने कलाकृतिलाई छ्वाली आर्ट (हस्तकला) भनिन्छ ।

छ्वाली आर्ट (हस्तकला)

तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि कृषि व्यवसाय प्रबद्र्धन तथा तालिम केन्द्रका प्रमुख श्रीधर ज्ञवालीले सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गरे । ज्ञवालीले यो तालिमले बहिरा युवाको आयआर्जन र आत्मनिर्भरतामा टेवा पुग्ने विश्वास व्यक्त गरे । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले जीवनोपयोगी सीपमूलक तालिमले फरक र विशेष क्षमता भएकाहरुको आत्मनिर्भरतामा टेवा पुग्ने विश्वास ब्यक्त गरे । गिरीले उत्पादित सामग्रीको बजारीकरणमा मिडियाको साथ रहने बताए ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी

राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष सन्तोष केसीले कृषिमा खेर गइरहेका बस्तुहरुको सदुपयोग गरेर सीप प्रबद्र्धन गर्दै बहिरा युवाहरुको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले तालिम आयोजना गरिएको  बताए । उनले छ्वाली आर्टको विदेशमा उच्च माग रहेको समेत बताए । केसीले बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जको पर्यटन प्रबद्धनार्थ प्रचारप्रसार गर्ने उद्देश्य पनि रहेको बताए । आगामी दिनमा सातै प्रदेशमा यस प्रकारको तालिम सञ्चालन गर्ने लक्ष्य रहेको केसीको भनाई छ । अध्यक्ष केसीले महासंघले काठमाडौंमा ट्रेकिङ गाइड र वारिष्टा (कफी बनाउने) तालिम भइरहेको पनि जानकारी दिए ।

तालिमका सहभागीलाई प्रमुख अतिथि ज्ञवाली, महासंघ बाँके अध्यक्ष गिरी र राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष केसीले प्रमाणपत्र प्रदान गरेका थिए । प्रमुख प्रशिक्षक गगनतारा हस्तकलाका प्रमुख सिताराम गोसाइँ र सहायक प्रशिक्षक विष्णुकेशरी देशमरुले तालिम प्रदान गरेका थिए । त्यसक्रममा दोभाषेद्वय प्रकाश महर्जन र विश्वास अधिकारीले सहजीकरण गरेका थिए । तालिमका प्रशिक्षार्थीद्वय रमेश खड्का र अञ्जली चौधरीले तालिम निकै उपयोगी भएको बताए ।

  • १२ मंसिर २०८२, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech