मनोचिकित्सक डा. लिला देवकोटाले मानसिक रोगसम्बन्धि समस्या भएका धेरै बिरामीलाई बचाएकी छिन् । विशेषगरी मानसिक रोगको समस्या भएका बिरामीलाई परामर्श दिनु तथा आवश्यकता अनुसार औषधि उपचार गर्नु उनको चिकित्सकीय धर्म र कर्म हो । डा. लिलाका अनुसार मानसिक स्वास्थ्य समस्या समुदायस्तरमै गम्भीर चुनौतीको रूपमा देखा पर्न थालेको छ ।
पहिले–पहिले यस्तो समस्या सीमित मात्रामा देखिने भए पनि अहिले बालबालिकादेखि किशोर, युवादेखि वृद्धसम्म सबै उमेर समूह यसबाट प्रभावित भइरहेका छन् । मनोचाप, एक्लोपन, असुरक्षा, पारिवारिक कलह, आर्थिक समस्या, सामाजिक दबाब जस्ता कारणले गर्दा मानसिक स्वास्थ्य समस्या तीव्र रूपमा बढिरहेको तथ्य प्रस्ट हुन्छ । उनी भन्छिन्–‘समाजमा मानसिक समस्या भन्नासाथ अझै पनि लाज, डर र कलंकको भावनाले गर्दा धेरैले उपचार लिन हिच्किचाउँछन् । तर, यस्ता समस्या सामान्य र उपचारयोग्य हुन्छन् भन्ने बुझाईलाई विस्तार गर्न जरुरी छ ।’
विशेषगरी विद्यालय उमेरका बालबालिकामा अध्ययनको दबाब, प्रविधिको अत्यधिक प्रयोग, अभिभावकसँगको दूरी जस्ता कारणले मानसिक स्वास्थ्यमा असर परेको देखिएको छ भने युवायुवतीमा बेरोजगारी, सम्बन्धगत असुरक्षा र भविष्यप्रतिको अनिश्चितताले समस्या बढाएको पाइन्छ । वयस्क तथा वृद्ध उमेरका व्यक्तिहरुमा शारीरिक रोगसँगै मानसिक समस्या पनि देखिन थालेको छ । यसै पनि मनोचिकित्सकहरुको नेपालमै अभाव छ । देशभरी करिव करिव दुई सय ५० जनाको हाराहारीमा छन् । भएका चिकित्सकहरु पनि काठमाडौं र सहर केन्द्रित छन् । तमाम सम्भावना छाडेर उनी अहिले नेपालगञ्जमा बसेर लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकहरुलाई सेवा दिँदै आएकी छिन् ।
‘ती महिलाले १२ पटकसम्म आत्महत्या प्रयास गरिन्’
भेरी अस्पतालको मनोचिकित्सा विभागमा डा. लिला अझै पनि ती महिलाको अनुहार सम्झिन्छिन् । कहिले त अस्पतालको शैयामा शिथिल शरीर, कहिले छिमेकीले झुण्डिएको अवस्थामा बचाएर ल्याएका तस्विर–सबै ताजा छन्, उनको स्मृतिमा । बारम्बार आत्महत्याको प्रयास गर्दै जीवनसँग जुधिरहेकी बर्दियाकी ती २६/२७ वर्षीया महिला आज फेरि मुस्कुराइरहेकी छन् । यो केवल एक व्यक्तिको कथा मात्र होइन, समाजमा मानसिक स्वास्थ्य समस्याले कसरी चुपचाप कतिलाई तोडिरहेको छ भन्ने सशक्त सन्देश पनि हो । भागेर विवाह गरेकी उनले न त माइतीबाट अपेक्षित साथ पाउन सकिन्, न त घरपरिवारसँग सम्बन्ध सहज थियो ।
श्रीमान् रोजगारीका लागि विदेशिएका थिए । ६–७ वर्षको छोरासँग एक्लै बस्दा उनी भित्रभित्रै चुँडिँदै गइन् । एक्लोपन, आर्थिक बोझ र सम्बन्धका असमञ्जसले गर्दा उनले जीवनलाई थाम्न सकिनन् । कहिले झुण्डिएर, कहिले औषधि खाएर मृत्यु रोज्ने प्रयास गरिरहिन् । छिमेकीले उद्धार गरेर ल्याउँथे, चिकित्सकहरूले उपचार गर्थे, तर केही महिनापछि फेरि आत्महत्याको अर्को प्रयास । बारम्बारको यो चक्रले उनको जीवन अँध्यारो बनाइरहेको थियो । डा. लिला भन्छिन्–‘सुरुमा उनले कुनै कुरा मान्न चाहिनन् । आत्महत्याको सोचले दिनरात सताइरहेको थियो । औषधि दिएर पठाउँदा पनि ओभरडोज खाइदिने गर्थिन् । तर, हामीले हार मानेनौँ । परामर्श, उपचार र निरन्तर अनुगमन गर्दै गयौँ ।’ एक वर्षको निरन्तर उपचारपछि अहिले उनी बदलिएकी छिन् ।
आत्महत्याको सोच हराइसकेको छ । नियमित औषधि खान्छिन्, कामकाज गर्छिन् र सबैभन्दा महत्वपूर्ण अहिले श्रीमानसँगको सम्बन्ध पनि सुध्रिएको छ । जब उनको अनुहारमा फेरि उज्यालो फर्कियो, उनले भनिन्–‘बाँच्ने मोह पलाएर आउँछ । अब विगत सम्झन चाहन्नँ ।’ मानसिक स्वास्थ्य समस्या देखिँदैन, तर समुदायस्तरमा यसले गहिरो चोट दिइरहेको डा.लिला बताउँछिन् । आत्महत्याको सोचलाई सामान्य ‘कमजोरी’ भनेर बेवास्ता गर्न नहुने उनको अनुभव छ । डा.लिला भन्छिन्–‘समाजले सहयोग नगरेसम्म चिकित्सक मात्रले जीवन जोगाउन सक्दैन । परिवार र समुदायले साथ दिनुपर्छ ।’
राज्यको दायित्व
देशभर मानसिक स्वास्थ्य सेवालाई पहुँचयोग्य, प्रभावकारी र व्यवस्थित बनाउन सरकारले ‘मानसिक स्वास्थ्य रणनीति २०७७’ जारी गरेको छ । तर, प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । मुख्य समस्या जनशक्तिको अभाव र केन्द्रिकृत व्यवस्थामा देखिन्छ । धेरै मानसिक स्वास्थ्य पेशाकर्मी ठूला सहर र केन्द्रमा मात्र रहेका छन्, जसले गाउँ–घर तहसम्म सेवाको पहुँच सीमित बनाएको छ । सरकारले Mental Health Gap Action Programme ( MH-GAV) कार्यक्रम अन्तर्गत मेडिकल अधिकृत र प्यारामेडिक्सलाई प्रशिक्षण दिने व्यवस्था गरेको छ ।
डा.लिलाले उनीहरुलाई प्रशिक्षण दिने गरेकी छिन् । उनीहरुले मानसिक रोगको प्रारम्भिक पहिचान गर्न, आवश्यक परामर्श सेवा प्रदान गर्न र बिरामीलाई सही उपचारको लागि रेफर गर्न सक्छन् । यस कार्यक्रमले ग्रामीण भेगमा मानसिक स्वास्थ्य सेवा विस्तार गर्ने काम गरे पनि पर्याप्त भने छैन । मानसिक स्वास्थ्य समस्यालाई व्यवस्थापन गर्न राज्यको भूमिका अत्यन्त महत्वपूर्ण छ । केवल तालिम दिने मात्र पर्याप्त छैन । सेवा वितरण, जनशक्ति व्यवस्थापन, बजेट सुनिश्चितता तथा जनचेतना कार्यक्रमहरु एकसाथ अघि बढाउनु आवश्यक छ ।
को हुन् डा.लिला ?

मनोचिकित्सक डा. लिला देवकोटा
जुम्ला, कर्णालीको दुर्गम गाउँ चन्दनाथ नगरपालिका–१० मा २०४६ सालमा जन्मिएकी लिला जुम्ली समाज मात्र नभएर पश्चिम नेपालका लागि आज प्रेरणाको स्रोत बनेकी छिन् । बुवा राजेन्द्र देवकोटा र आमा दिर्घलक्ष्मीकी पहिलो सन्तान लिलाले गाउँकै रत्न चुडेश्वर माध्यमिक विद्यालयबाट शिक्षा यात्रा सुरु गरिन् । लिलाले २०६२ सालमा प्रथम श्रेणीमा एसएलसी पास गर्दा मात्र होइन, सरकारी विद्यालयतर्फ जिल्ला प्रथम हुँदै आफ्नो असाधारण क्षमता देखाइसकेकी थिइन् । लिलाको बाल्यकालमा उनी नर्स बन्ने सपना बुन्थिन् । त्यतिबेला उनको मनमा एउटा मात्र सपना थियो–नर्स बन्ने ।
सानैदेखि सेतो कोट लगाएर बिरामीलाई सेवा गर्ने सपना देख्ने उनी नर्सिङ पढ्ने सोचमा थिइन् । तर, कक्षा ९ र १० मा विज्ञान र गणित पढाउने शिक्षक गजेन्द्र चौधरीको प्रेरणाले उनको जीवनको बाटो बदलियो । गजेन्द्रले ‘तिमी डाक्टर बन्न सक्छौ’ भनेर बारम्बार भनिरहँदा लिलाले पनि आत्मविश्वास जगाइन् र मनमा अठोट लिइन्–‘अब म डाक्टर बन्नेछु ।’ एसएलसीपछि उच्च शिक्षा पढ्न ललितपुर गएकी लिलाले २०६४ सालमा प्लस टु सकिन् । २०६५ सालमा उनले पोखरास्थित मणिपाल कलेज अफ मेडिकल साइन्सेसमा छात्रवृत्तिमा नाम निकालिन् । यो उनको लागि ठूलो उपलब्धि थियो ।
उनले २०७० सालमा एमबीबीएस पूरा गरिन् र एक वर्ष मणिपालमै इन्टर्नसिप गरिन् । इन्टर्नसिपपछि छात्रवृत्ति करार अनुसार लिलाले आफ्नै जिल्लाको कालिकाखेत प्राथमिक स्वास्थ्य केन्द्रमा काम गर्न थालिन् । कर्णालीको कठोर भौगोलिक अवस्था, साधनस्रोतको अभाव र जनचेतनाको कमीबीच काम गर्दा उनले स्वास्थ्य सेवा कित्ता–कित्तामा मात्र नभई जीवनसँगको गहिरो सम्बन्ध भएको अनुभव गरिन् । २०७२ सालमा उनले लोक सेवा आयोगमार्फत आठौँ तहमा नाम निकालिन् । पहिलो पोष्टिङ सुर्खेतस्थित तत्कालीन मध्यपश्चिम क्षेत्रीय अस्पताल (हालको कर्णाली प्रादेशिक अस्पताल) मा भयो । ९ महिना त्यहाँ काम गरेपछि दैलेखको दुल्लु अस्पतालमा सरुवा भइन् । दैलेखमा काम गर्ने क्रममा लिलाले मानसिक स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेका बिरामीहरूको वास्तविक अवस्था बुझ्ने अवसर पाइन् ।
गाउँघरमा मानसिक समस्या छिपाइन्छ, रोगको रुपमा लिइँदैन भन्ने संस्कार अझै बाक्लो छ । यसले उनमा प्रश्न उब्जायो–‘के मानसिक समस्या रोग होइन र ?’ यही प्रश्नले उनलाई मनोचिकित्सक बन्ने दिशामा प्रेरित गर्यो । २०७८ सालमा उनले टिचिङ अस्पताल, महाराजगञ्जबाट स्नातकोत्तर तहमा मनोरोग (एकथअजष्बतचथ) विषयमा एमडी पूरा गरिन् । एमडीपछि लिला पश्चिम नेपालको प्रमुख रेफरल अस्पताल भेरी अस्पताल, नेपालगञ्ज आइन् । अहिले करिब ५ वर्षदेखि उनी मानसिक स्वास्थ्य विभागको विभागीय प्रमुखको रूपमा काम गर्दै आइरहेकी छिन् ।
उनले हजारौं मानिसलाई मानसिक रोगको परामर्श दिएकी छिन्, आवश्यक परे औषधि उपचारमार्फत नयाँ जीवनको आशा जगाएकी छिन् । ‘मानसिक समस्या पनि रोग नै हो भन्ने कुरा आम नागरिकलाई बुझाउन जरुरी छ । समयमै चिकित्सककहाँ आए आवश्यक परामर्शबाटै निको बनाउन सकिन्छ । तर, ढिला भयो भने निको हुन समय लाग्छ ।’ दुर्गम गाउँकी सामान्य परिवारकी लिला आज पश्चिम नेपालमा मानसिक स्वास्थ्य सेवाको नेतृत्व गर्दैछिन् । उनका लागि बाटो सजिलो थिएन–तर आत्मविश्वास, मेहनत, शिक्षाप्रति समर्पण र सेवाभावले उनलाई यस स्तरसम्म पुर्याएको हो । उनमा विद्यार्थी जीवनदेखि नै जागेको ‘अब्बल बन्ने’ चाहनाले उनलाई आज हजारौं बिरामीको आशा बनाएको छ । २०७२ सालमा उनको जीवनमा अर्को अध्याय थपियो ।
उनले चन्दनाथ नगरपालिका–४ निवासी डा. नवीन तिम्लिसेनासँग विवाह गरिन् । नवीन पनि स्वास्थ्य सेवा क्षेत्रमा समर्पित व्यक्तित्व हुन्–प्रसूति तथा स्त्री रोग विशेषज्ञ । आज उनीहरु दुई छोरीका आमा–बाबु मात्र होइनन्, एकै अस्पतालका सहकर्मी पनि हुन् । परिवार, पेशा र सामाजिक जिम्मेवारीलाई सन्तुलन गर्दै अघि बढ्नु उनीहरूको दैनिकी बनेको छ ।







