५ वर्षमुनिका बालबालिकामा निमोनिया किन बढी खतरनाक ?

    • डा. बाबुराम पाण्डे/बालरोग विशेषज्ञ

  • ८ मंसिर २०८२, सोमबार

निमोनिया फोक्सोसँग सम्बन्धित गम्भीर संक्रमण हो । यो अवस्थामा फोक्सोमा पिप र तरल पदार्थ भरिन सक्छ, जसले सास फेर्न कठिनाइ उत्पन्न गर्छ । परिणामत: फोक्सोलाई कम अक्सिजन प्राप्त हुन्छ ।

विश्वभर बालबालिकाको मृत्युको सबैभन्दा ठूलो कारण निमोनिया हो । भारतमा मात्र पनि  ५ देखि ६ वर्षको उमेरमा मृत्यु भएका बालबालिकामध्ये १५ प्रतिशतको मृत्यु निमोनियाका कारण भएको छ ।

यता विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को रिपोर्टमा पनि यस्तै तथ्यांक छ । सन २०१९ मा निमोनियाका कारण ५ वर्षभन्दा कम उमेरका बालबालिकाको मृत्युदर १४ प्रतिशत रहेको डब्ल्यूएचओले जनाएको छ ।

कसरी हुन्छ निमोनिया ?

चिसो लाग्यो भने निमोनिया हुन्छ भन्ने आम बुझाइ छ । तर  चिसोकै कारणले मात्रै निमोनिया हुने होइन । भाइरस, ब्याक्टेरिया वा फङ्गसको संक्रमण निमोनियाको कारण बन्न सक्छ । ‘स्ट्रेप्टोकोकस न्युमोनी’ नामक किटाणु बालबालिकामा ब्याक्टेरियल निमोनियाको सबैभन्दा प्रमुख कारण हो ।

हेमोफिलस इन्फ्लुएन्जा टाइप बी (एचआईबी) ब्याक्टेरियल निमोनियाको दोस्रो कारण हो । यिनका अतिरिक्त, रेस्पिरेटरी सिन्सिसियल भाइरस र न्युमोसिस्टिस जिरोवेसी फङ्गस पनि निमोनियाको कारण बन्छन् । एचआईभी संक्रमित नवजात शिशुहरूमा निमोनियाबाट हुने एक चौथाइ मृत्युको कारण न्युमोसिस्टिस जिरोवेसी फङ्गस हुन्छ ।

लक्षणमा ध्यान दिनु आवश्यक

निमोनियाका लक्षणलाई चिनेर सुरुआती चरणमा उपचार गरेमा अवस्थालाई गम्भीर हुन र ज्यान जानबाट बचाउन सकिन्छ । यसका लक्षण सामान्य इन्फ्लुएन्जा जस्तै हुन्छन् । पाँच वर्षभन्दा कम उमेरका बच्चाहरू, जसलाई लामो समयदेखि खोकी लागेको छ र सास फेर्न कठिनाइ छ, तिनमा निमोनिया हुने सम्भावना रहन्छ ।

यस्तोमा सास फेर्दा फोक्सो खुम्चिने र छिटो सास चल्ने जस्ता लक्षणहरू  निमोनियाका संकेत हुन सक्छन् । भाइरल निमोनियाको मामिलामा प्रायः सास फेर्दा आवाज आउँछ । अवस्था गम्भीर भएमा साना बच्चाहरूलाई खान पिउनमा पनि कठिनाइ हुन्छ, जसले तिनको अवस्था थप बिग्रने सम्भावना रहन्छ ।

यसकारण बढ्छ खतरा

सामान्यतया बच्चाहरूको प्राकृतिक प्रतिरक्षा प्रणालीले नै संक्रमणसँग लडेर तिनलाई बचाउँछ, तर यदि कुनै कारणले बच्चाको प्रतिरक्षा प्रणाली कमजोर भयो भने तिनका लागि अवस्था जटिल बन्छ । कमजोर प्रतिरक्षा प्रणाली भएका बच्चाहरूमा निमोनियाको खतरा बढी रहन्छ ।

एचआईभी वा दादुराजस्तो कुनै रोग पहिलेदेखि छ भने पनि निमोनियाको सम्भावना बढ्छ । घरमा दाउराको चुलोमा खाना पकाइन्छ भने, आमा बुबामध्ये कसैले धूम्रपान गर्छ भने वा बच्चा अत्यधिक धुलाे, धुवाँमा वा भीडभाडमा बस्छ भने पनि निमोनियाको खतरा बढ्छ ।

बचाव र उपचारका उपायहरू

सामान्यतया कमजोर प्रतिरक्षा प्रणाली भएका बच्चाहरू निमोनियाको बढी शिकार हुन्छन् । त्यसैले तिनको प्रतिरक्षा प्रणालीलाई बलियो बनाएर यसबाट बचाउन सकिन्छ । जन्मेपछि ६ महिना आमाको दूध खुवाउने र त्यसपछि बच्चाको पोषणको पूरा ध्यान राख्दा उसको प्रतिरक्षा प्रणाली मजबुत हुन्छ र संक्रमणको खतरा कम हुन्छ ।

यसका साथै न्युमोकोकस, दादुरा र लहरे खाेकी (पर्ट्युसिस) बाट बच्नका लागि लगाइने खोपहरूले बच्चाहरूलाई निमोनियाबाट पनि बचाउन मद्दत गर्छन् । बच्ने उपायको साथै सही समयमा जाँच र उचित उपचारले पनि बच्चाहरूको सुरक्षा सुनिश्चित हुन्छ ।

  • ८ मंसिर २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech