भेरी अस्पतालको क्याथ ल्याब: पश्चिम नेपालका मुटुरोगीको भरोसा

    • समिरमान श्रेष्ठ

  • ६ मंसिर २०८२, शनिबार

नेपालगन्ज: पश्चिम नेपालमा मुटुरोगको सुरक्षित, छरितो र प्रभावकारी उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा सञ्चालनमा रहेको क्याथ ल्याब सेवा पछिल्ला वर्षयता अत्यन्तै महत्वपूर्ण बनेको छ । कोरोनरी एन्जियोग्राफी, एन्जियोप्लास्टि, पेसमेकर जडानदेखि पेरिकार्डियोसिन्टेसिससम्मका जटिल प्रक्रिया यही क्याथ ल्याबमार्फत सफलतापूर्वक भइरहेका छन् ।

अस्पतालका मुटुरोग विशेषज्ञ एसोसिएट प्रोफेसर डा. विकास नेपालका अनुसार भेरी अस्पताल नेपालगन्जमा सञ्चालनमा रहेको क्याथ ल्याब सेवाका कारण पश्चिम नेपालका मुटुरोगी बिरामीलाई काठमाडौं वा भारत धाउनुपर्ने अवस्था उल्लेख्य रूपमा घटेको छ । लामो समयदेखि भेरी अस्पतालमा मात्र क्याथ ल्याब सेवा उपलब्ध भए पनि अहिले सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसमा पनि यो सेवा सुरु भइसकेकाले बिरामीलाई उपचारमा सहज बनेको छ । बुटवल पश्चिममा अहिले भेरी अस्पतालसँगै नेपालगन्ज स्थित सञ्जिवनीले सेवा दिईरहेका छन् भने कैलाली स्थित अतरीया अस्पतालले पनि मुटुरोगीहरुको सहज उपचारका लागि यो सेवा सुरु गरेको छ ।

पाँच महिनामै ३४० जनाले लिए भेरीको क्याथ ल्याब बाट सेवा

चालु आर्थिक वर्षको श्रावणदेखि मंसिर ६ गते शनिबार बिहानसम्म ३४० मुटुरोगीले क्याथ ल्याब सेवा लिएका छन् । उनीहरूमध्ये २१५ जनाले कोरोनरी एन्जियोग्राफी, १०० जनाले स्टेन्ट राखेर गरिने एन्जियोप्लास्टि (PCI), १ जनाले बलुन एन्जियोप्लास्टि (POBA), ९ जनाले अस्थायी पेसमेकर, ८ जनाले स्थायी पेसमेकर, ५ जनाले पेरिकार्डियल फ्लुइड निकाल्ने जीवनरक्षक सेवा, १ जनाले रेनल एन्जियोग्राफी सेवा लिएका छन् । डा.नेपालका अनुसार मुटुको धमनी अवरुद्ध हुँदा हुने जटिल अवस्थाको तत्काल उपचार यही क्याथ ल्याबमै सम्भव भएकाले धेरै बिरामीको ज्यान बचाउन सफल भएको छ ।

अस्पतालका मुटुरोग विशेषज्ञ डा.विकास नेपालसहितको टीम

पश्चिम नेपालका मुटुरोगीको प्रमुख आशा

भेरी अस्पतालमा बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, दैलेख, सुर्खेत, सल्यान, जाजरकोट, दार्चुला लगायतका जिल्लाबाट मुटुरोगी भेरी अस्पतालमा आउने क्रम बढ्दो छ । सस्तो र गुणस्तरीय सेवा, अनुभवी विशेषज्ञ चिकित्सक, दक्ष स्वास्थ्यकर्मी र उपलब्ध स्रोत साधनका कारण भेरी अस्पताल पश्चिम नेपालका मुटुरोगीको प्रमुख आश्रयस्थल बनेको जानकारहरू बताउँछन् ।

अत्याधुनिक उपकरण अभाव सेवा विस्तारमा मुख्य चुनौती

हाल उपलब्ध सेवा प्रभावकारी भए पनि अझ अन्तर्राष्ट्रिय स्तरको स्ट्यान्डर्ड कायम गर्न अत्याधुनिक उपकरण अनिवार्य रहेको डा. नेपाल बताउँछन् । उनका अनुसार OCT (Optical Coherence Tomography) मशीन, IVUS (Intravascular Ultrasound) मशीन, TMT (Treadmill Test) मशीन जस्ता अत्यावश्यक उपकरणको अभावले क्याथ ल्याबले अझ उच्च गुणस्तरको सेवा दिन नसकेको हो । “यी उपकरण उपलब्ध भए विदेशमा जस्तै अत्याधुनिक मुटुरोग उपचार यही अस्पतालमै दिन सकिन्छ,” डा. नेपालको भनाइ छ ।

अस्पतालको क्याथ ल्याब

सरकार र सरोकारवालाको ध्यान आवश्यक

डा. नेपाल भन्छन्— “उपकरण र प्रविधिमा लगानी नगरेसम्म पश्चिम नेपालको मुटुरोग सेवा स्तर उकास्न सकिँदैन । स्थानीय, प्रदेश र संघीय सरकारसँगै सरोकारवाला सबै यसतर्फ गम्भीर हुनुपर्छ ।” उनका अनुसार बिरामीको संख्या तीव्र रूपमा बढ्दै गएकोले क्याथ ल्याबलाई अपडेट, विस्तार र स्तरोन्नति गर्नु अब अनिवार्य भइसकेको छ ।

हाल क्याथ ल्याबमा २ जना मुटुरोग विशेषज्ञ, १ जना फिजिसियन, १ जना मेडिकल अफिसर, रेडियोग्राफर र ४ जना दक्ष नर्सिङ टोली मार्फत सेवा प्रदान भइरहेको छ । अत्याधुनिक उपकरणहरुसँगै अझै विशेषज्ञ जनशक्ति थपिने हो भने पश्चिम नेपालमै मुटुरोग उपचारलाई नयाँ उचाइमा पुर्‍याउन सकिने डा.नेपाल बताउँछन् ।

अस्पतालको क्याथ ल्याबमा सेवाका लागि खटिएका नर्स

रोग लागेपछि होइन, रोकथाममै ध्यान दिन विशेषज्ञको सुझाव

मुटुरोगको उपचार अझै पनि महँगो र धेरैका लागि कठिन भएकाले “रोग लागेपछि होइन, रोकथाममै ध्यान दिनुपर्ने” आवश्यकता डा.नेपाल औँल्याउँछन् । उनका अनुसार जीवनशैलीमा सुधार, नियमित व्यायाम, धूम्रपान त्याग, र नियमित स्वास्थ्य परीक्षणमार्फत धेरैजसो मुटुरोग सुरुवातमै रोक्न सकिन्छ । जनचेतनाको अभावले धेरै बिरामी अस्पताल पुग्दा ढिलो हुने गरेको उनले बताउँछन् ।

  • ६ मंसिर २०८२, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech