स्ट्रोकबारे ज्ञान र चेतना हासिल गर्दै कर्णालीका स्वास्थ्यकर्मी

    • स्वास्थ्य पेज

  • ३० कार्तिक २०८२, आईतवार

नेपालगन्जः विश्वभर भएका अध्ययनहरुले देखाएका छन् कि पक्षघात (स्ट्रोक) तेस्रो प्रमुख मृत्युको कारण हो । नेपालमा विस्तृत अध्ययन नभए पनि मृत्युका कारणमध्ये स्ट्रोक पनि उल्लेखनीय रूपमा बढ़्दै गएको छ । स्ट्रोकको समयमै पहिचान र उपचारमा ढिलाइ हुँदा मानिसको ज्यान मात्र जाने गरेको छैन, जीवनभरका लागि अपांगता पनि निम्तिने गरेका छ । स्ट्रोकको पहिचान, उपचार र व्यवस्थापनबारे आम सर्वसाधारण मात्रै होइन, धेरैजसो स्वास्थ्यकर्मीमा समेत आवश्यक ज्ञान र चेतना अभाव रहेको छ ।

यही कारण कर्णाली प्रदेशका ११ वटा निजी तथा सार्वजनिक अस्पतालका ६८ जना स्वास्थ्यकर्मीलाई प्रदेश राजधानी वीरेन्द्रनगरमा बोलाएर स्ट्रोक उपचारसम्बन्धी विशेष तालिम प्रदान गरिएको हो । तालिमको संयोजन प्रदेश अस्पताल सुर्खेतका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. के.एन. पौडेलले गरेका थिए । डा. पौडेलका अनुसार, स्ट्रोकका प्रारम्भिक लक्षणहरू देखिनासाथ तुरुन्त अस्पताल जानु पर्ने बुझाइ अझै पनि आमसर्वसाधारणमा प्रस्ट छैन ।

‘यस्तो अवस्थामा स्वास्थ्यकर्मीको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । उनीहरूलाई समयमै सचेत पार्न सके स्ट्रोकबाट हुने मृत्यु दर मात्र होइन, बिरामीलाई पुरानै अवस्थामा फर्काउन पनि सहयोग पुग्ने डा.पौडेलले स्वास्थ्यपेजलाई बताए । नेपाल स्ट्रोक एसोसिएशन र नेपाल स्ट्रोक परियोजनाले आयोजित तालिममा न्युरोलोजिस्ट तथा विज्ञ चिकित्सकहरू डा. लेखजंग थापा, डा. राजु पौडेल, डा. अभिनाश चन्द्र र डा. अभिषेकमान श्रेष्ठले स्ट्रोकको अवस्था, पहिचान, उपचारको विधि तथा बिरामीको व्यवस्थापन, फिजियोथेरापीको आवश्यकता लगायतका विषयमा सहभागीहरुलाई विस्तृत प्रशिक्षण दिइएको थियो ।

कर्णालीमा हालसम्म प्रभावकारी न्युरोसेवा उपलब्ध छैन। न्युरोलोजिस्ट र न्युरोसर्जन अभावमा त्यहाँका फिजिसियनहरुले नै स्तरोन्नत केसहरु सम्हाल्न बाध्य छन् । डा. पौडेल भन्छन्–‘रक्तनली बन्द भएर स्ट्रोक भएका बिरामीलाई कम्तीमा साढे चार घण्टाभित्र थ्रोम्बोलाइसिस दिन सकियो भने उनलाई पुरानै अवस्थामा फर्काउने सम्भावना धेरै हुन्छ । यस्तो सुविधा भएका अस्पतालमा तुरुन्त रिफर गर्नुपर्ने भएकाले स्वास्थ्यकर्मीलाई यसबारे प्रशिक्षित गर्नु अत्यावश्यक थियो ।’

भौगोलिक विकटता, जनचेतनाको कमी, उपचारको सीमित पहुँच जस्ता कारणहरुले कर्णाली प्रदेशमा स्ट्रोकका बिरामीहरु अकालमा ज्यान गुमाइरहेका छन्, भने धेरैले दीर्घकालीन असक्त जीवन बाँच्न बाध्य छन् । तालिममा कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. गणेश थापा, अग्रज चिकित्सक डा. डम्बर खड्का, वरिष्ठ रेडियोलोजिस्ट डा. प्रशन्न घिमिरेलगायतको उपस्थिति थियो । सहभागी चिकित्सकहरुका अनुसार, यो तालिमले कर्णालीमा स्ट्रोक उपचार तथा बिरामी व्यवस्थापनमा सक्षम, नेतृत्वदायी स्वास्थ्यकर्मी तयार गर्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।

  • ३० कार्तिक २०८२, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech