नेपालगञ्जदेखि दाङसम्म सञ्जीवनीको सेवा विस्तार, सुपर–स्पेसालिटी सेवा केन्द्र बनाउने लक्ष्य

आमा सुरक्षा कार्यक्रम, बीमा कार्यक्रम लगायतलाई निजी अस्पतालमा अनिवार्य रूपमा लागू गर्नुपर्छ । यस्ता कार्यक्रम निजी अस्पतालमा लागू गर्दा राज्यलाई कुनै अतिरिक्त भार पर्दैन । बरु, सरकारले आफैंले सञ्चालन गर्न खोजेमा भौतिक पूर्वाधार, जनशक्ति र उपकरणमा ठूलो आर्थिक भार पर्न सक्छ । निजी अस्पतालमा चाहिँ यी पूर्वाधार, जनशक्ति र उपकरण पहिले नै उपलब्ध हुन्छन् । मिर्गौला डायलाइसिस वा प्रत्यारोपण सेवा पनि निजी अस्पतालमा किन अनिवार्य नगर्ने ? बरु, त्यसका लागि राज्यले निश्चित कोटा छुट्याउन सक्छ । पूर्वाधार, जनशक्ति र उपकरणको हिसाबले कोटा तोक्न सकिन्छ । त्यसैले निजी अस्पताललाई फरक व्यवहार गर्ने भन्दा पनि हातेमालो गर्ने वातावरण राज्यले बनाउनुपर्छ भन्ने लाग्छ ।


    • स्वास्थ्य पेज

  • २५ कार्तिक २०८२, मंगलवार

सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिले विगत ३० वर्षदेखि स्वास्थ्य सेवा र शिक्षामा निरन्तर योगदान गर्दै आएको छ । सुरुमा नेपालगञ्ज हस्पिटल रिसर्च एण्ड ट्रेनिङ सेन्टरसँग मर्ज भएपछि १०० शैयाको अस्पताललाई शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्दै आएको यस संस्थाले हाल अत्याधुनिक उपकरण, ICU-PICU, MRI, CT Scan, न्युरोसर्जरी लगायतको सुपर–स्पेसालिटी सेवा उपलब्ध गराउँदै आएको छ । दैनिक ४००–६०० बिरामीलाई सेवा दिँदै आएको अस्पतालमा करिब ५५० दक्ष कर्मचारी कार्यरत छन् । भविष्यमा शैया संख्या ३०० देखि ५०० सम्म वृद्धि गर्दै, युरोलोजी, मुटुरोग, पेट तथा कलेजो रोग, क्यान्सर उपचार र अन्य सुपर–स्पेसालिटी सेवा विस्तार गर्ने योजना रहेको छ । सञ्जीवनी कलेजको पुष्ठिभूमिदेखि अस्पतालले प्रवाह गरिरहेका सेवा, सम्भावना र चुनौतीबारे अस्पतालका प्रवन्ध सञ्चालक सन्तोष कुमार खनालसँग प्रियास्मृति ढकालले गरेको कुराकानीको सम्पादित अंश:

लामो समय नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल भन्दै आएका थियौं । अहिले सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस भएको छ । यसको पृष्ठभूमिबारे स्पष्ट पारिदिनुस् न ।

तपाईंले एकदमै महत्वपूर्ण विषयबाट कुराकानीको उठान गर्नुभएको छ । यसलाई बुँदागतरुपमा म प्रष्ट पार्न चाहन्छु ।

(क) स्थापना र मर्ज प्रक्रिया
सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिले सुरुवाती चरणमा बुटवल, रुपन्देहीमा BNS, BSc Nursing र BPH कार्यक्रम सञ्चालन गर्दै आएको थियो । तर, आफ्नै अस्पताल नहुँदा ती कार्यक्रमहरू स्थगित गर्नुपरेको थियो । त्यसपछि कम्पनी ऐन, २०६३ को दफा १७७ बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयको मिति २०८१/०४/१० को निर्णय अनुसार, सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि (दर्ता नं. ९९८२९) र नेपालगञ्ज हस्पिटल रिसर्च एण्ड ट्रेनिङ सेन्टर प्रालिबीच गाभ्ने (मर्ज) स्वीकृति प्राप्त भयो । हाल यसैको परिणामस्वरूप यस संस्थाको नाम सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि रहेको छ ।

(ख) अस्पतालको प्रारम्भिक मान्यता
साबिक नेपालगञ्ज हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले गुणस्तर नियन्त्रण महाशाखा, स्वास्थ्य सेवा विभाग, नेपाल सरकारबाट मिति २०५३/०४/१८ मा च.नं. ११२ मार्फत १०० शैयाको अस्पताल सञ्चालन गर्ने स्वीकृति प्राप्त गरेको थियो । सोही संस्थाले २०५४/११/११ मा च.नं. १४१० अनुसार स्तरयुक्त अस्पताल सरह सिफारिस समेत पाएको थियो ।

(ग) लिजमा शिक्षण अस्पतालको सञ्चालन
वि.सं. २०५५ सालदेखि लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडले नेपालगञ्ज हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको १०० शैयाको अस्पताल सम्पूर्ण पूर्वाधारसहित भाडा/लिजमा लिएर शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्दै आएको थियो । यस अवधिमा नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरमा रहेको आफ्नै अस्पतालसँगै नेपालगञ्ज–१२ मा अवस्थित १०० शैयाको अस्पताल संयुक्त रुपमा नवीकरण गर्दै आएको थियो ।

(घ) नवीकरण र नियामक प्रक्रिया
यस संस्थाले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नियमित रुपमा अस्पताल नवीकरण गर्दै आएको थियो र मिति २०८१/०२/२४ सम्म संघीय स्वास्थ्य मन्त्रालयबाट नवीकरण भइसकेको थियो ।

(ड) प्रदेश मातहत नवीकरण प्रक्रिया
प्रदेश सरकार मातहत नवीकरण गर्न २०८१/०२/०१ मा स्वास्थ्य कार्यालय बाँकेमा निवेदन दिइएको थियो । सो कार्यालयले स्थलगत अनुगमन गरी मिति २०८१/०६/१८ मा च.नं. ११६ मार्फत स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश (देउखुरी, दाङ) लाई सिफारिससहित पत्राचार गरेको थियो ।

(च) शैया संख्या वृद्धि
स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धि निर्देशिका, २०७० अनुसार शैया संख्या १०० बाट ३०० पुर्‍याउन आवश्यक उपकरणसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौँमा मिति २०८१/१२/१५ मा निवेदन दर्ता गरिएको थियो । यो प्रक्रिया हाल कार्यान्वयनको चरणमा रहेको छ ।

(छ) शैया सञ्चालन र पुनःनवीकरण प्रक्रिया
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय, देउखुरी, दाङले २०८२/०३/२९ मा च.नं. १७०३ मार्फत अस्पतालले ३१८ शैया सञ्चालन गरिरहेको पुष्टि गर्दै संघीय मन्त्रालयमार्फत नवीकरण उपयुक्त हुने उल्लेख गर्दै पत्र पठाएको थियो । त्यस अनुसार मिति २०८२/०३/३० मा पुनः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौँमा निवेदन दिइएको र हाल अस्पताल नवीकरण प्रक्रियामा रहेको छ ।

हाल सञ्जीवनी कलेजले कस्ता सेवाहरु उपलब्ध गराइरहेको छ ?
यस अस्पतालमा एक सामान्य (जनरल) अस्पतालमा हुनुपर्ने सम्पूर्ण सेवाहरू उपलब्ध छन् । जस्तै आपतकालीन सेवा, शल्यक्रिया (सर्जरी), प्रसूति सेवा, नर्सिङ सेवा अन्य आधारभूत तथा विशेषज्ञ सेवा उपलब्ध छन् ।

अत्याधुनिक उपकरण तथा प्राविधिक सुविधा कस्तो छ ?
यो अस्पताललाई पश्चिम नेपालकै विशिष्टिकृत सेवा प्रवाह गर्ने अस्पतालका रुपमा विकास गरिँदै आइएको छ । क्याथ ल्याब (Cath Lab_, MRI, CT स्क्यान, पर्याप्त संख्यामा ICU/ PICU, अत्याधुनिक भेन्टिलेटर, न्युरो सर्जरीसम्बन्धि सम्पूर्ण उपकरण पनि हामीसँग छन् । त्यस्तै प्राविधिक सुविधाहरु न्युरोसर्जरी, युरो–सर्जरी (Uro–surgery), प्लास्टिक सर्जरी, बाल शल्यक्रिया (Pediatric surgery), इन्टरभेन्सनल रेडियोलोजी (Interventional Radiology) भ्रूण विज्ञान Fetal Medicine), कार्डियाक सेन्टर, स्ट्रोक युनिट लगायतको सुविधा उलब्ध छ ।

हाल कति जना डाक्टर, नर्स र स्वास्थ्यकर्मी कार्यरत छन् ? र, तिनीहरूको दक्षता बढाउन के–कस्तो तालिम हुन्छ ?
अहिले करिब ५५० जना कर्मचारी कार्यरत छन् । सेवाको माग बढ्दै गइरहेकाले आउँदो दिनमा यो संख्या अझ बढ्नेछ । कर्मचारीहरुको दक्षता बढाउन समय–समयमा अस्पताल स्वयंले तालिम र गोष्ठीहरु आयोजना गर्छ । साथै, अन्य विभिन्न निकायले सञ्चालन गर्ने तालिम तथा प्रशिक्षणमा पनि उनीहरूलाई पठाउने गरेका छौँ

अत्यावश्यक र गम्भीर केशका लागि तपाईंको अस्पताल कति सक्षम छ ?
हाम्रो अस्पताल त करिब ३० वर्षदेखि निरन्तर सेवा दिइरहेको संस्था हो । देशमा ठूला–ठूला आपत–विपद्, जस्तै कोभिड महामारीको समयमा समेत निरन्तर सेवा दिइरहेका छौँ । त्यस्तै सवारी दुर्घटना, हृदयघात जस्ता आकस्मिक अवस्थामा आवश्यक सम्पूर्ण उपकरण र दक्ष जनशक्ति २४ घण्टा उपलब्ध हुन्छन् । यदि एकै पटक धेरै बिरामी आए भने पनि सम्हाल्न पर्याप्त संख्यामा भेन्टिलेटर सहितको आइसीयू कक्ष हाम्रोमा छ । त्यसैले हामी सधैं गम्भीर र अत्यावश्यक केशका लागि सक्षम छौँ भन्नेमा ढुक्क छौं ।

दैनिक औसतमा कति बिरामी उपचारका लागि आउँछन् ?
औसतमा दैनिक ४०० देखि ६०० बिरामी आउँछन् । साताको सुरुमा र बिदा सकिएको भोलिपल्ट संख्या अलि बढी हुन्छ भने साताको अन्त्यतिर र बिदाको दिन अलि कम हुन्छ ।

भविष्यमा शैया संख्या बढाउने, आधुनिक उपकरण थप्ने र आवश्यकता अनुसार सेवा विस्तार गर्ने हाम्रो योजना छ । विशेषज्ञ तथा सुपर–स्पेसालिटी सेवामा युरोलोजी, मुटुरोग, पेट तथा कलेजो रोग, स्नायु सम्बन्धि उपचार र शल्यक्रिया सुरु गर्ने तयारी छ । साथै, क्यान्सर रोग उपचार पनि थप्ने योजना छ ।

शुल्क व्यवस्थापन कसरी गर्नुभएको छ ? गरीब वा विपन्नका लागि छुट सुविधा छ ?

हाम्रो अस्पताल वि.सं. २०५३ मा स्थापना भएको हो । २०५५ देखि २०८१ सम्म नेपालगञ्ज मेडिकल कलेजले यसलाई शिक्षण अस्पतालको रुपमा सञ्चालन गर्‍यो । त्यही कारणले गर्दा यहाँको शुल्क अन्य निजी अस्पतालको भन्दा सस्तो नै छ । त्यसबेला हामीले सरकारका विभिन्न कार्यक्रम—जस्तै हेड इन्जुरी, स्पाइन इन्जुरी, डायलाइसिस, आमा सुरक्षा कार्यक्रममार्फत सहज र सुलभ सेवा दिइरहेका थियौं । तर, पछिल्ला वर्षमा ती कार्यक्रमको नवीकरण हाम्रो नाममा नभएकाले हाल ती सुविधा दिन नसकिएको हो । तथापि, अस्पतालले ती कार्यक्रम पुनः सञ्चालन गर्ने तयारी गरिरहेको छ । गरिब र विपन्न सेवाग्राहीका हकमा चाहिँ आवश्यक सिफारिस तथा अवस्था अनुसार अस्पतालले आफैं छुट दिँदै आएको छ ।

स्थानीय बासिन्दालाई लक्षित निःशुल्क स्वास्थ्य शिविर वा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने परम्परा छ ?
छ, हामीले विगतमा पनि यस किसिमका शिविर र कार्यक्रम सञ्चालन गर्दै आएका छौँ । अझै प्रभावकारी र नियमित ढंगले अगाडि बढाउने योजनासमेत बनाएका छौँ ।

स्वास्थ्य सेवामा गुणस्तर कायम राख्न तपाईंहरुले के–कस्ता मापदण्ड पालना गर्नुहुन्छ ?
हामी सम्बन्धित निकायले जारी गरेका निर्देशनहरुको पालना गर्छौं । त्यस्तै, वार्डहरुको निरन्तर फ्युमिगेशन, औषधि सामग्रीको म्यादबारे नियमित निगरानी, ल्याब परीक्षणका लागि अत्याधुनिक उपकरण प्रयोग, अस्पताल परिसरको सरसफाईमा विशेष ध्यान दिइन्छ । यी सबै उपायहरु गुणस्तर कायम राख्नका लागि अनिवार्य मान्छौं ।

भविष्यमा सेवा विस्तार, विशेष गरी विशेषज्ञ वा सुपर–स्पेसालिटी उपचारतर्फ के योजना छ ?
हाम्रो अस्पतालले वि.सं. २०५३ सालमा १०० शैयाको स्वीकृति लिएर सेवा सुरु गरेको हो । सुरुमा नर्सिङ होमको नामबाट परिचित भयो, पछि लामो समय नेपालगञ्ज मेडिकल कलेजले लिजमा लिएर शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्‍यो । अहिले भने सञ्जीवनी अस्पतालकै नाममा सञ्चालन भइरहेको छ । भविष्यमा शैया संख्या बढाउने, आधुनिक उपकरण थप्ने र आवश्यकता अनुसार सेवा विस्तार गर्ने हाम्रो योजना छ । विशेषज्ञ तथा सुपर–स्पेसालिटी सेवामा युरोलोजी, मुटुरोग, पेट तथा कलेजो रोग, स्नायु सम्बन्धि उपचार र शल्यक्रिया सुरु गर्ने तयारी छ । साथै, क्यान्सर रोग उपचार पनि थप्ने योजना छ । नेपाल सरकार अन्तर्गतको डायलाइसिस र आमा सुरक्षा कार्यक्रम पुनः सञ्चालन गर्ने तयारी पनि भइरहेको छ ।

निजी क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण सकारात्मक बनाउनुपर्छ । जबसम्म निजी क्षेत्र र राज्यले साझेदारी गरेर अघि बढ्ने अवस्था बन्न सक्दैन, तबसम्म हरेक क्षेत्रमा विकास सम्भव छैन भन्ने लाग्छ । विशेषगरी स्वास्थ्य क्षेत्रमा राज्यले निजी क्षेत्रलाई प्रोत्साहित गर्दै लैजानु आवश्यक छ ।

निजी स्वास्थ्य संस्थामाथि महँगो शुल्क लिने भन्ने आलोचना हुने गर्छ, यसबारे तपाईंको धारणा के छ ?
हाम्रो अस्पतालको शुल्क अन्य निजी अस्पताल वा क्लिनिकको भन्दा सस्तो नै छ । शुल्क निर्धारणमा लगानी पनि प्रमुख आधार हुन्छ । जस्तै उपकरणको मर्मत, नयाँ आधुनिक उपकरण खरिद, समयमै सेवा दिन प्राविधिक प्रयोग, पर्याप्त जनशक्ति व्यवस्थापन—यी सबैले शुल्कमा सीधा प्रभाव पार्छन् । त्यसैले हामीले शुल्कलाई न्यूनतम बनाउन सकेसम्म प्रयास गरिरहेका छौँ ।

दाङमा पनि सञ्जीवनी कलेज खोल्ने तयारी भइरहेको छ, त्यहाँको अस्पतालको उद्देश्य के हो ?
दाङस्थित कलेजको भवन निर्माण सम्पन्न भइसकेको छ । आवश्यक फर्निचर र उपकरण पनि खरिद भइसकेका छन्, हाल जडान कार्य भइरहेको छ । छिट्टै सञ्चालनमा आउनेछ । सुरुमा ३०० शैयासहित सुरु गर्ने योजना छ भने भविष्यमा यसलाई ५०० शैयाको शिक्षण अस्पतालका रुपमा विस्तार गर्ने उद्देश्य छ ।

अन्तमा के भन्नुहुन्छ ?
निजी क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण सकारात्मक बनाउनुपर्छ । जबसम्म निजी क्षेत्र र राज्यले साझेदारी गरेर अघि बढ्ने अवस्था बन्न सक्दैन, तबसम्म हरेक क्षेत्रमा विकास सम्भव छैन भन्ने लाग्छ । विशेषगरी स्वास्थ्य क्षेत्रमा राज्यले निजी क्षेत्रलाई प्रोत्साहित गर्दै लैजानु आवश्यक छ । आमनागरिकले पाउनुपर्ने गुणस्तरीय सेवाका लागि निजी क्षेत्र पनि गम्भीर छ । जस्तै, आमा सुरक्षा कार्यक्रम, बीमा कार्यक्रम लगायतलाई निजी अस्पतालमा अनिवार्य रूपमा लागू गर्नुपर्छ । यस्ता कार्यक्रम निजी अस्पतालमा लागू गर्दा राज्यलाई कुनै अतिरिक्त भार पर्दैन । बरु, सरकारले आफैंले सञ्चालन गर्न खोजेमा भौतिक पूर्वाधार, जनशक्ति र उपकरणमा ठूलो आर्थिक भार पर्न सक्छ । निजी अस्पतालमा चाहिँ यी पूर्वाधार, जनशक्ति र उपकरण पहिले नै उपलब्ध हुन्छन् । मिर्गौला डायलाइसिस वा प्रत्यारोपण सेवा पनि निजी अस्पतालमा किन अनिवार्य नगर्ने ? बरु, त्यसका लागि राज्यले निश्चित कोटा छुट्याउन सक्छ । पूर्वाधार, जनशक्ति र उपकरणको हिसाबले कोटा तोक्न सकिन्छ । त्यसैले निजी अस्पताललाई फरक व्यवहार गर्ने भन्दा पनि हातेमालो गर्ने वातावरण राज्यले बनाउनुपर्छ भन्ने लाग्छ ।

(स्वास्थ्यपेज विशेषांकबाट)

  • २५ कार्तिक २०८२, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech