गजेन्द्रनाराण सिंह अस्पतालको सेवा ठप्प

    • स्वास्थ्य पेज

  • २४ कार्तिक २०८२, सोमबार

राजविराजः एनआइसियु कक्षमा अचानक विद्युतीय सर्ट भई झरेको बल्बबाट भर्ना रहेका एक नवजात शिशु घाइते भएपछि चिकित्सक माथि हातपात हुँदा गजेन्द्रनाराण सिंह अस्पताल राजविराजको सेवा ठप्प भएको छ । निमित्त मेसु डा.दिलिप साह माथि आइतबार राति हातपात भएपछि अस्पतालका आकस्मिक बाहेकका सबै सेवा ठप्प भएको हो । घटनाको विरोधमा चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पतालका कर्मचारीले आइतबार रातिदेखि नै अस्पतालको आकस्मिक कक्ष बाहेक सम्पूर्ण सेवा ठप्प पारेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पताल प्रशासनले सोमबार सूचना प्रकाशित गरेर चिकित्सकमाथि हातपात तथा अस्पतालको विभिन्न फाँटमा तोडफोड गर्नेहरूलाई पक्राउ तथा सुरक्षाको पूर्ण प्रत्याभुती नगराए सम्म आकस्मिक कक्ष बाहेक अन्य सेवा सुचारु गर्न असर्मथ हुने जनाएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी डम्बरबहादुर पुरीले घट्नामा संलग्न मध्येका चार जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको बताए। पक्राउ पर्नेको नाम ठेगाना भने खुलाइएको छैन ।

उनले अस्पतालमा थप कुनै अप्रिय घटना हुन नदिन आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । आइतबार सप्तरीको रूपनी गाउँपालिका ३, हर्दिया टोलकी रेखा यादवले जन्म दिएकी नवजात शिशुलाई स्वास्थ्य समस्या देखिएपछि अस्पतालको एनआइसियू कक्षमा राखिएको थियो । साँझ पख अचानक सर्ट सर्किट भई झरेको बल्बले नवजात शिशुको टाउको र गालमा जलन भएपछि आक्रोशित आफन्तले तोडफोड, चिकित्सकलाई गाली गलौज गर्दै निमित्त मेसु साहमाथि हातपात गर्दा अस्पतालको अवस्था तनावग्रत बन्न पुगेको थियो ।

घाइते नवजात शिशुलाई तत्कालै एम्बुलेन्सको व्यवस्था गरी थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको र स्वास्थ्य अवस्था निकै सुधारोन्मुख रहेको निमित्त मेसु साहले जानकारी दिए । अस्पतालमा तनाव र उपचार सेवा प्रभावित भएपछि स्थानीय प्रशासनले सर्वपक्षिय बैठक डाकी समस्या समाधान र सेवा सुचारुको प्रयास समेत थालिएको छ ।

  • २४ कार्तिक २०८२, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech